सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँका मतदाताले किन पत्याएन विवेकशील साझालाई ?

विवेकशील साझा वैकल्पिक राजनीतिक दल बन्ने प्रक्रियाबाट विसर्जन भयो : आचार्य
सोमबार, ०९ जेठ २०७९, १२ : ०३
सोमबार, ०९ जेठ २०७९

नयाँ संविधान जारीपछि भएको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा काठमाडौँ महानगरमा २ नयाँ दलले सशक्त छाप छोडेका थिए । परम्परागत दललाई टक्कर दिँदै काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार तत्कालीन विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत पाएर तेश्रो स्थान ओगटेकी थिइन् ।

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाल सरकारका पूर्व सचिव किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए । उनले चौथो स्थानको मत पाएका थिए ।

पछि यी दुवै दलबीच एकीकरण भएर विवेकशील साझा दल बनेको थियो । तर निर्वाचनको सम्मुखमै पार्टीभित्र अन्तरद्वन्द्व चर्किएपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो दलप्रति जनताले अविश्वास जनाएका छन् ।  

देशभर विवेकशील साझाले एउटामात्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ । बाराको फेटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्रै यो दलका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा रुस्तम अन्सारी ४ हजार ४८५ मत पाएर विजयी भएका छन् भने उपाध्यक्षमा बसरा खातुन ३ हजार ५७० मत पाएर विजयी भइन् । यसबाहेक विवेकशील साझाले अन्य कुनै स्थानमा जित हासिल गर्न सकेको छैन ।

काठमाडौँ र ललितपुर महानगरपालिकामा मतगणना जारी रहँदा पनि यो दलका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले अत्यन्तै थोरै मत पाएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४१ हजार २७९ मत पाउँदा विवेकशील साझाकी समीक्षा बास्कोटाले जम्मा २१४ मत पाएकी छन् । उपमेयरमा सुनिता डङ्गोलले ३८ हजार ३५१ मत पाउँदा विवेकशील साझाकी कृति तुलाधरले १ हजार ६७५ मत पाएकी छन् । अघिल्लो चुनावको परिणाम हेर्ने हो काठमाडौँमा विवेकशील साझाको लज्जास्पद परिणाम आएको छ ।

किन पत्याएनन् मतदाताले विवेकशील साझालाई ?

आफूलाई नयाँ वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्दै आएको विवेकशील साझा पार्टी काठमाडौँसहित देशभर नै सांगठनिक रूपमा कमजोर छ । खासगरी सामाजिक सञ्जालमार्फत अघिल्लो चुनावमा अत्यधिक चर्चामा आएका दुई दल रवीन्द्र मिश्रको साझा पार्टी र उज्जवल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दलबीच एकता भएर विवेकशील साझा पार्टी बने पनि यो दलले आफूलाई फरक दलको रूपमा चिनाउन सकेन ।

राजनीतिक दर्शन, बिचारमा अस्पष्टता तथा पार्टीले कस्तो बिचार अँगाल्ने भन्नेबारेमा विवादका कारण पार्टी फुटेको थियो । जसको असर हालै सम्पन्न चुनावमा समेत परेको छ । विवेकशील दलका पूर्व नेता रहेका डा.सूर्यराज आचार्यले काठमाडौँ महानगरसहितका स्थानीय तहमा सो दलले सशक्त उम्मेदवार उठाए पनि पार्टीको संगठन तथा नेतृत्वमा भएको कमजोरीको असर उम्मेदवारहरूले पनि भोग्नु परेको बताउँछन् ।

पार्टीका प्रवक्ता शरदराज पाठक पनि पार्टीको आन्तरिक विवादको असर चुनावमा परेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले पार्टीले छिट्टै बैठक बसेर चुनावमा आएको नतिजा, उम्मेदवार तथा पार्टी नेतृत्वबारे समीक्षा गरेर त्यसको निष्कर्ष सार्वजनिक गर्ने बताए ।

पाठकले पार्टीभित्रको सामान्य मतभेद पनि मिडियामा जाने, पार्टीभित्रका आन्तरिक विवाद पनि मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल पारिदिने जस्ता कामले यो पार्टीमा विवादै विवाद रहेको भन्ने जनतामा नकारात्मक सन्देश पुगेकाले पार्टी चुनावमा कमजोर हुन पुगेको उल्लेख गरे ।

उनले ठुला राजनीतिक दलहरू गठबन्धन बनाएर गएको अवस्थामा आफ्नो दलले एक्लै चुनाव गर्नु र पर्याप्त मात्रामा चुनाव प्रचारका काम गर्न पनि नसक्नु समस्या रहेको बताए ।

विवेकशील साझा किन कमजोर बन्यो भन्नेबारेमा सो दलका पूर्व नेता डा. सूर्यराज आचार्य र पार्टीका हालका प्रवक्ता शरदराज पाठकको विश्लेषण उनीहरूकै शब्दमा :

विवेकशील साझा अहिले विसर्जनको अवस्थामा पुग्यो : डा.सूर्यराज आचार्य 

ठुला दलले अभ्यास गरेको राजनीतिको विकल्प जनताले खोज्दै गएका छन् भन्ने कुरा अहिलेको चुनावमा स्वतन्त्र उम्मेदवारहरूको लहरले देखाएको छ । अहिलेसम्म नेपालमा वैकल्पिक राजनीतिक पार्टी बन्न सकेकै छैन । विवेकशील साझा पार्टी एउटा वैकल्पिक पार्टी बन्ने अभियानमा थियो तर त्यसले एउटा राजनीतिक पार्टीको स्वरूप नै ग्रहण गर्न सकेन । त्योभन्दा अगाडि नयाँ शक्तिको अभियान, विवेकशील नेपाली दल, साझा पार्टी, विवेकशील साझा, नेपालका लागि नेपाली अभियान भन्ने साना साना थुप्रै अभियान सञ्चालन भए । यी कसैले पनि एउटा राजनीतिक आकार ग्रहण गर्न सकेनन् ।

यी सबै एउटा सामाजिक अभियानजस्ता देखिए । कतिपय मुद्दा उठाउने, जागरण जगाउने कामसम्म त गर्‍यो । अहिले केही हदसम्म स्वतन्त्र उम्मेदवारमा आएको लहरका लागि पनि उनीहरूको योगदान नभएको हैन । एक हिसाबले भन्ने हो भने विवेकशील साझा पनि वैकल्पिक राजनीतिक दल बन्ने प्रक्रियाबाट विसर्जन भएको हो ।

वैकल्पिक दल बन्न लागेको पार्टी विसर्जन भयो भन्दैमा आम जनताको वैकल्पिक पार्टीको जुन चाहना छ, त्यो मरिसकेको भन्न मिल्दैन । अहिलेको समयमा जनताको चाहना अनुसारको वैकल्पिक पार्टी बनाउने कामको विसर्जन भएको अवस्था छ ।

यसले के शिक्षा दिएको छ भने जुन तहले एउटा सामाजिक अभियान मात्रै वा सामाजिक सञ्जालमा मात्रै केन्द्रित गरेर वा ठुला पार्टीहरूको विसङ्गतिमाथि प्रतिक्रिया मात्रै गरेर ठुला पार्टीलाई चुनौती दिन पर्याप्त थिएन भन्ने कुरा पुष्टि भयो ।

विवेकशील साझा पार्टीको कुरा गर्ने हो भने सो पार्टी अहिले विसर्जन भएको अवस्था हो । पार्टीभित्रकै आन्तरिक समस्या सबैलाई थाहा भएकै कुरा हो । अहिलेको चुनावमा तपाईले काठमाडौँमा हेर्नुभयो भने एउटा रोचक कुरा के छ भने विवेकशील साझाको उम्मेदवार समीक्षा बास्कोटा सबैभन्दा सक्षम उम्मेदवार देखिनुभएको छ । उहाँको प्रस्तुति, उहाँको अभिव्यक्ति, पृष्ठभूमि आदिमा सशक्त देखिनुभयो तर विवेकशील साझा पार्टीको संगठनमा अहिले जुन किसिमको हरिबिजोगको अवस्था भयो, त्यसको मूल्य उम्मेदवारले पनि चुकाउनुपर्‍यो । त्यसकारण अहिले देखिएका वैकल्पिक पार्टीहरूको जग नै बस्न सकेन ।

निर्वाचन आयोगमा दर्ता भएको पार्टी प्राविधिक रूपमा त रहन्छ तर राजनीतिक रूपमा विसर्जनको अवस्थामा पुगेको छ । नयाँ शक्तिदेखि विवेकशील साझासम्मको त्यो शैलीले नयाँ वैकल्पिक पार्टी बन्न सक्दो रहेनछ भन्ने पुष्टि भएको अवस्था छ । सँगसँगै आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आकांक्षा र आशाचाहिँ अझ बढ्दै गएको अवस्था छ ।

पार्टीभित्रको विवादलाई पार्टीभित्रै मिलाउन सकेको भए यस्तो हुने थिएन : शरदराज पाठक, विवेकशील साझा

स्थानीय तह निर्वाचनमा आएको हाम्रो मत परिणामको बारेमा हामीले केही दिन अघि विज्ञप्तिमार्फत पनि धारणा सार्वजनिक गरिसकेका छौँ । त्यो विज्ञप्तिमा प्रवक्ताका रूपमा प्रारम्भिक अभिव्यक्तिहरू उल्लेख गरेका छौँ ।

काठमाडौँ उपत्यकासहित देशभरका उम्मेदवारको र पार्टीका नेतृत्वहरूको समीक्षा गर्छौँ र त्यो समीक्षाको निष्कर्ष हामी छिटै सार्वजनिक गर्छौँ ।

चुनावअघि विभिन्न कारणले गर्दा मिडियाहरूमा पार्टी चर्चामा रह्यो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा कतिपय साथी अत्यन्तै अमर्यादित ढंगले प्रस्तुत हुनुभयो । आन्तरिक रूपमा मतभेदहरुलाई टुङ्गो लगाउने कुरालाई पटक्कै टेर्नुभएन । आन्तरिक लोकतन्त्रको अभ्यासमा कतिपय साथीहरू पटक पटक चुक्नुभयो । मिडियाबाजी मात्रै गर्ने काम गर्नुभयो । पार्टीभित्रको सामान्य मतभेदका लागि पनि मिडियाको सहयोग लिने, सार्वजनिक मिडिया वा सामाजिक सञ्जालमा पार्टीभित्रका आन्तरिक कुराहरू छताछुल्ल पारिदिने, त्यसले गर्दा पनि यो पार्टी विवादै विवादमा रहेछ भन्ने सन्देश गयो तर पार्टीभित्र त्यस्तो विवाद थिएन ।

पार्टीभित्रको विवादलाई पार्टीभित्रै मिलाउन ती साथीहरू सहमत भएको भए एक खालको ‘इम्प्रेसन’ जान्थ्यो । यो एउटामात्रै पाटो हो । अर्को कुरा अरू ठुला पार्टीहरूले गठबन्धन बनाउने काम गरे, हामी कहीँ कतै कसैसँग गठबन्धन नगरी चुनाव लड्यौँ । यति ठुला गठबन्धन दलको अगाडि सीमित जनशक्ति र आर्थिक स्रोतले चुनाव लड्ने भन्ने सानो कुरा थिएन ।

उम्मेदवारहरूको कुरा गर्ने हो भने हाम्रो जहाँसुकैको उम्मेदवार हेर्नुस्, सक्षम, इमानदार, परिपक्व, सबैले विवेकशील साझाका उम्मेदवारहरू एकदमै योग्य छन् भन्ने थियो, कहीँ पनि हाम्रा उम्मेदवारको बारेमा केही गुनासो थिएन ।

अहिले जस्तो खालको चुनावी नतिजा आयो, त्यसमा हाम्रो दलमा भएको वैचारिक ध्रुवीकरणले पनि अलिकति प्रभाव पार्‍यो होला । २०७४ सालको चुनावमा हाम्रो पार्टीले देशभरबाट २ लाख १२ हजार भोट ल्याएको थियो । अहिले हामीले त्योभन्दा माथि उठाउन नसकेको नै देखियो । भोटरहरूले हाम्रो पार्टीको उतार चढावलाई त्यति नरुचाएको देखियो । विकल्पको खोजी छ तर तपाईहरु अझै सच्चिनुपर्छ भनेर हामीलाई सन्देश दिएको रूपमा बुझेका छौँ ।

हामी जुन खालको राजनीतिक रूपान्तरणको योजनासहित राजनीतिमा आएका थियौँ, चुनावलाई पारदर्शी बनाउने, अत्यन्तै कम खर्चमा चुनाव लड्ने र यसले नै लोकतन्त्रलाई बलियो बनाउने हाम्रो उद्देश्य हो । तर ठुला दलहरूले चुनाव जित्न करोड करोड खर्च गरेको भन्ने कुरा पनि आइरहेको छ । अहिलेको चुनावमा भएको खर्चको बारेमा पनि रिपोर्टहरू आउला ।

अन्य राजनीतिक दलहरूले पैसाको खोलो नै बगाइरहेको स्थिति पनि छ । यस्तो बेलामा हामीले हाम्रो उम्मेदवारलाई राम्रोसँग प्रचार सामग्रीसमेत दिन सकेनौँ, उहाँहरूले आफ्नै गोजीबाट समेत हाल्नुपरेको स्थिति थियो । त्यो पनि एउटा सानोतिनो कारण हो । हाम्रो प्रचार पनि धेरै ठाउँमा पुग्न पाएन । हाम्रो पार्टी कमजोर हुनुमा यी र यस्ता धेरै कारण छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप