बालेनका समर्थकले आलोचना पनि सुन्न सक्नुपर्छ
हुन त बालेन्द्र साह मात्र काठमाडौं महानगरपालिकाको मेयरको एउटा उम्मेदवार हुन् । तर, अहिले देशै ‘बालेन’मय भएको छ । काठमाडौं महानगरको मतपत्र गन्न थाले लगत्तै उनका युवा प्रशंसकहरु (फ्यान) राष्ट्रिय सभा गृहमा खुशीमा उफ्रिन थालिसकेका थिए, जुनबेला सय मत पनि गनिसकिएको थिएन ।
देशैभर मतगणना भइरहेको थियो । कसै न कसैले अग्रता लिइरहेको थियो । कतै पनि अन्तिम परिणाम नआई खुसियाली मनाएको देखिँदैन । त्यसैले मलाई त्यो नौलो परिदृश्य अचम्म लागेको थियो । यसै कुरालाई इँगित गर्दै मैले फेसबुकमा यस्तो उग्रता अनावश्यक रहेको पोष्ट गरेको थिएँ । तर, बालेन्द्र साहका समर्थकहरुबाट प्रश्न र आलोचनाहरु ओइरिए ।
दुइ–तीन दिनपछि थाहा पाएँ, मतगणना स्थलबाहिरको त्यो हौसिएको भीड यूट्यूब च्यानलहरुको लागि रहेछ । अहिले कुनै पनि उत्तेजक कुरा यूट्यूबमा हाल्ने, दर्शक बढाउने र कमाउने चलन निकै बढेको रहेछ । तिनको सत्य–तथ्यसँग कुनै सरोकार हुँदैन । आवश्यक वा अनावश्यकको प्रश्न पनि रहँदैन । बरु, मानिसको भावनात्मक कमजोरीलाई पक्रिँदै भ्यूअर्स बढाउनु र त्यसबाट गाँठ कमाउनु नै तिनको लागि सबथोक हो । जसरी बालेन्द्रले केशव स्थापितविरुद्ध नारा लगाउन आफ्ना प्रशंसकलाई रोके, त्यसरी नै एक–एक मत बढ्दा पनि सिटी फुकिरहेका प्रशंसकलाई पनि रोकेको भए उनको छवि अझ उच्च हुन्थ्यो ।
निश्चय पनि कलाकारितामा प्रशंसक वा फ्यानको धेरै महत्त्व हुन्छ । तिनले आफ्नो प्रिय सेलेब्रिटीको लागि जे पनि गर्छन् । त्यस्ता प्रशंसकको व्यवहार युक्तिसंगत हुँदैन र त्यसमा युक्ति खोज्नु पनि हुुँदैन । बालेन्द्र अहिलेसम्म कलाकार नै हुन् । भरखर राजनीतिमा छिर्दै छन् । राजनीतिमा पनि कलाकारिताकै ‘फ्यान–फलोवर’लाई निरन्तरता दिनु उनको आफ्नै राजनीतिक छविको लागि घातक हुन जान्छ । थिएटर र राजनीतिमा धेरै फरक हुन्छ । थिएटर भनेको क्षणिक दर्शन नचाउनको लागि हो । दर्शकलाई उन्मत्त बनाउनु नै त्यसको ध्येय हो । तर, राजनीतिले यथार्थको धरातलीय यात्रामा दीर्घकालीन निरन्तरता खोज्छ, वास्तविक परिणाम खोज्छ । त्यसको लागि प्रशंसकको यस्तो मानसिकता बालेनको आफ्नै लागि प्रत्युत्पादक हुन जान्छ ।
जनसाधारणमा बालेन्द्रको लोकप्रियता उम्लिरहँदा केही बुद्धिजीविहरुलाई उनी नपच्नुको कारण हो, उनको ‘लार्जर ड्यान लाइफ’ प्रस्तुति । उनका फोटो वा भिडियोहरु हेर्यौं भने तिनमा उनका साउथका एक्शन हिरो देखिने खालका प्रस्तुतिहरु छन् । हुन त ती गीतका भिजुअलहरुको लागि खिँचिएका होलान्, जसमा धेरै इफेक्टहरु प्रयोग गरिएका हुन्छन् ।
भिजुअल प्रस्तुति मात्र होइन, उनीप्रति युवाको धारणा पनि ‘लार्जर ड्यान लाइफ’ छन् । अर्थात् वास्तविक जीवनभन्दा बढाइचढाइ गरिएको चित्रण । एउटा उदाहरण राख्छु, काठमाडौंको मतगणना सुस्त चलिरहेको थियो । सामाजिक सञ्जालमा एकजना लेख्छन्, निर्वाचन आयोग बालेनको अन्तर्गत भए स्मार्ट मतगणना हुन्थ्यो । यस्तोलाई लिडरशिपमा ‘ग्रेट म्यान थ्योरी’ भनिन्छ । यो सबैभन्दा पुरातन सिद्धान्त हो, जसले संसारको उद्धारको लागि कुनै महान व्यक्तित्व हामीमाझ आउँछ र उसले हाम्रा सबै समस्या समाधान गर्छ ।
हामीभित्र अचेतनमा त्यही सिद्धान्त रहिरहेको छ । हामी केटाकेटीमा केही असम्भव काम देखियो भने भन्थ्यौं, ‘यो त राजाले मात्रै गर्न सक्छ ।’ एक किसिमले अहिले समर्थक युवाका लागि बालेन त्यस्तै अवतार बनेका छन् वा भनौं ‘ग्रेट म्यान’ । हामी उनको देवत्वकरण गर्दै छौं ।
हामी नेपालीले जानेको भनेकै कसैको देवत्वकरण वा दानवीकरण गर्ने हो । मान्छेको रुपमा आँकलन र मूल्याङ्कन गर्ने होइन । हिजो पनि हामी त्यस्तै गर्दै आएका हौं । तर, विगतका कुरा हामी छिट्टै बिर्सिन्छौं । मेरो पचास वर्षे जीवनमा कैयौंपल्ट यस्ता उत्साहजनक राजनीतिक व्यक्तित्व उदाए र चाँडै अस्ताए पनि । हामी महाभारतका दुर्योधन जस्तै अति हौसिनु र अति निराशिनुको दुइ अतिमा मच्चिरहेका हुन्छौं ।
धेरै अघि पनि नजाऔं, सात वर्षअघि मात्र नाकाबन्दीको समयमा हामीले केपी ओलीको देवत्वकरण गरेका थियौं । भारतसित लिएको अडानको कारण उनी हाम्रो लागि राष्ट्रवादी नेता ठहरिएका थिए । अनि, उनको नेतृत्वको सरकारले मधेसका आधा सय मानिस मार्दा पनि हामीलाई उनको काम राष्ट्रवादी नै लागिरहेको थियो । अहिले बालेनको समर्थनमा ताली बजाउनेले त्यसबेला ओलीले ‘केही आँप झरेको’ तर्क गरिरहँदा पनि ताली बजाइरहेका थिए ।
त्यति मात्रै होइन, देश विकासको आशामा हामीले तिब्बतदेखि काठमाडौंसम्म रेल आउँछ भनेर पनि पत्यायौं, कलकत्ताबाट सामानले लबालब भरिएका पानी जहाज नारायणघाट आइपुग्छ भनेर पत्यायौं । पूर्व–पश्चिम रेल चलिरहेको सपना देख्यौं । उनको नेतृत्वमा देश आत्मनिर्भर बन्छ भनेर बुझ्यौं । अनि, उनलाई र उनको पार्टीलाई अत्यधिक बहुमतले जितायौं । उनले इतिहासमै नभएको दुइ तिहाइ बहुमतको सरकार चलाए । तर, त्यहीँबाट समस्या सुरु भयो र फेरि उनको दानवीकरणमा हामी लाग्यौं । मेरो विश्लेषणमा यो नेताको समस्याभन्दा पनि भावावेशमा बग्ने हामी जनताको समस्या हो । कसैलाई देवत्वकरण नगरेको भए दानवीकरण आवश्यक नै हुने थिएन ।
त्यस्तै, पाँचै वर्षअघि मात्रै काठमाडौंमा नयाँ सोच भनेर उदाएको विवेकशील पार्टीको तीव्र लहर चलेको थियो । यो त अहिलेको युवालाई पनि याद होला । कथंकदाचित रञ्जु दर्शना कलाकार पनि भइदिएको भए, जित्ने पनि थिइन् होला । तर, अहिले रविन्द्र मिश्रले आफूलाई सबैभन्दा पुरातन राजावादी पार्टीमा विलय गराइसके । सन्तुलित र संयमित तरिकाले पार्टी र नेताको मूल्याङ्कन गर्ने र बुद्धिसंगत तरिकाले भविष्यको आँकलन गर्न हामीले जानेका छैनौं ।
संयमित तरिकाले आँकलन गर्ने हो भने हामीले बालेनलाई एउटा विकल्प र सम्भावनाको रुपमा मात्र हेर्नु पर्दछ । निश्चय पनि काठमाडौं महानगरका मतदाताको लागि पारम्परिक पार्टीका उम्मेदवारको अघि बालेन एउटा विकल्प हुन् । उनलाई प्राप्त जनमतले ‘मैं हूँ’ भन्ने पार्टीहरुलाई राम्रै शिक्षा दिएको पनि हो । बालेन अहिलेको लागि एउटा सम्भावना मात्र हुन् । यथार्थको धरातलमा उनले कसरी आफूलाई प्रमाणित गर्लान् त्यो भविष्य हेर्नै बाँकी छ । केही काम नहुँदै अहिले नै ‘बाहुबली’को छवि बनाउनु घातक हुन सक्छ ।
धेरै युवाका दिमागमा एकजना बालेन्द्र काठमाडौंको मेयर हुनासाथ सबै समस्या चुट्कीको भरमा समाधान हुन्छ भन्ने छ । यस्तो आशा राख्ने जमात महानगरपालिकाको कार्यक्षेत्र र अधिकारबारे पनि कमै जानकारी राख्छन् । बालेन्द्रले धरहरालाई सेतो टावर भनिरहँदा र सुन्धाराबाट पानी झार्ने कुरा गरिरहँदा कतिजनाले सोचे होलान् कि धरहरा बनाउने वा नबनाउने निकाय महानगरपालिका होइन । मेलम्चीको पानी सुन्धारामा झार्ने त पहिलेकै योजना हो, गरिँदै पनि छ । तर, महानगरपालिकाले होइन, खानेपानी विभागले हो । त्यस्तै मेट्रो ट्राफिक प्रहरी नै पनि प्रहरी प्रधान कार्यालय अन्तर्गत पर्छ, न कि महानगरपालिकाको मातहत ।
काठमाडौंको फोहर व्यवस्थापन नै पनि काठमाडौंबाहिर लगेर गरिने हो । त्यसमा समय समय समस्या आइरहन्छ, जुन मन्त्रालय र विभागले पहलमा बल्लबल्ल समाधान हुन्छ । मेयरले गर्ने भनेको ती निकायलाई आग्रह मात्र हो । संघीयता आइसकेपछि स्थानीय निकायले पहिलेभन्दा केही बढी अधिकार प्राप्त गरेको चाहीँ हो । तर, अझै पनि काठमाडौंमा ठूला कुराहरु संघीय सरकारबाटै हुन्छन्, प्रदेशबाट पनि होइन । यस्तो स्थितिमा एउटा मेयरले भारतको अरविन्द केजरीवालले जसरी परिवर्तन गर्लान् भनेर सोच्नु हाम्रो अज्ञानता मात्र हो ।
भारतको संघात्मक व्यवस्थामा राज्य सरकारसित आफ्नो राज्यभित्रका मामिलामा सम्पूर्ण अधिकार र प्रशस्त स्रोत हुन्छन् । संघात्मकतामा गए पनि नेपालको अवस्था त्यो होइन । त्यसमा पनि केजरीवाल एउटा ठूलो बौद्धिक समूहसहित पार्टी निर्माण गरेर आएका हुन् । उनी अत्यन्त साधारण व्यक्तित्व (लो–प्रोफाइल) लिएर आएका हुन्, कुनै भड्किलो प्रस्तुतिमा होइनन् ।
निश्चय पनि बालेन्द्र आशलाग्दा छन् । तर उनले आफूलाई प्रमाणित गर्नै बाँकी छ । प्रमाणित नहुँदै लोकप्रियताको उन्माद हुनुले खतरा पनि उत्तिकै नित्याउँछ । जसरी एउटा अनलाइन मिडियाले उनले झण्डा ओढेकोमा एउटा आलोचनात्मक समाचार प्रेषण गर्दा गर्दै लाखौंले अनसब्सक्राइब गर्ने प्रवृत्ति आयो, त्यसले डरलाग्दो भविष्यको संकेत गर्छ । दलतन्त्रमा खराबीहरु छन्, तर ती खराबीलाई सुधार गर्ने साधन पनि दलतन्त्रभित्रै छ । भीडतन्त्रमा त्यो सम्भव छैन । विश्वमा उन्मादपूर्ण लोकप्रियतापछि नै तानाशाहको उदय भएका धेरै उदाहरण छन् । युवाको मात्र कुरा गर्ने हो भने एडोल्फ हिटलर पनि बत्तीसै वर्षमा पार्टीको अध्यक्ष भइसकेका थिए र बयालिस वर्षमा त निर्वाचनबाटै जर्मनीको चान्सलर बनिसकेका थिए ।
उत्साहितसँगै चनाखो रहन नसक्दा राम्रा नेता पनि बिग्रेका छन् । नभए त, आज हामीले गाली गरिरहेका धेरै नेताहरु सरल जीवन बिताउने र परिवर्तनको लागि ज्यान हथेलीमा राखेर हिँड्ने युवा थिए । तिनलाई बिगार्नमा तिनको वाहवाहीमा उत्रेका प्रशंसकको कम भूमिका छैन । त्यसैले हामी र्यापर बालेन साहको उत्तेजित प्रशंसक होइन, राजनीतिक बालेन्द्र साहको वास्तविक कामको सन्तुलित समीक्षक हुनुमा वास्तविक कल्याण छ ।