बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

०७४ मा सर्लाहीका चार पालिकामा प्रमुख र उपप्रमुख जितेको एमाले अहिले एउटा पालिकामा सीमित

सोमबार, ०९ जेठ २०७९, ११ : ००
सोमबार, ०९ जेठ २०७९

२०७४ सालको स्थानीय तह निर्वाचनमा सर्लाहीका २० स्थानीय तहमध्ये चार पालिकाको प्रमुख र उपप्रमुख जितेको नेकपा एमाले अहिले एउटा पालिकामा खुम्चिएको छ । नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सर्लाहीका २० पालिकामध्ये बहरथवा नगरपालिकामा मात्र जित हासिल गरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिवन नगरपालिका र हरिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख गरी दुवै पद जितेको थियो । ती सबै पालिका यसपटक एमालेले गुमाएको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले जितेको बरहथवा नगरपालिकामा भने यस पटक एमालेले जित हासिल गरेको छ । एमालेले सर्लाही जिल्लामा जितेको यो एकमात्र पालिका हो ।

बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी कल्पना कुमारी कटुवाल १२ हजार २७३ मतसहित निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ६ हजार ६६६ मतमात्र पाए । उपप्रमुखमा पनि एमालेकै रामबाबु प्रसाद साह ९ हजार ९०१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गंगा दाहालको मत भने ७ हजार ११९ मै सीमित रह्यो ।

सर्लाहीमा नेपाली काँग्रेसले सर्वाधिक पालिकाको नेतृत्व पाएको छ । काँग्रेसले ६ वटा नगरपालिकाको प्रमुख र ६ वटा गाउँपालिकाको अध्यक्ष पद जितेको छ । यस्तै, माओवादी केन्द्रले तीन नगरपालिकाको प्रमुख र एउटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

जनता समाजवादी पार्टी नेपालले दुई गाउँपालिका अध्यक्ष र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एउटा नगरपालिकाको प्रमुख पद जितेको छ ।

काँग्रेसले ईश्वरपुर नगरपालिका, मलंगवा नगरपालिका, लालबन्दी नगरपालिका, कविलासी नगरपालिका, हरिपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको प्रमुख जितेको छ । यस्तै, चन्द्रनगर गाउँपालिका, कौडेना गाउँपालिका, धनकौल गाउँपालिका, पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र विष्णु गाउँपालिकाको अध्यक्ष पनि काँग्रेसले जितेको छ ।

नेकपा माओवादी केन्द्रले बागमती नगरपालिका, हरिवन नगरपालिका र बलरा नगरपालिकाको प्रमुख जितेको छ । माओवादी केन्द्रले रामनगर गाउँपालिकाको अध्यक्षमा पनि जित हासिल गरेको छ ।

जसपा नेपालले चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिकाको अध्यक्ष जित्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गोडैटा नगरपालिकाको प्रमुख जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप