बलियो बन्दै डलर : नेपालजस्ता विकासशील राष्ट्रको अर्थतन्त्रमा कस्तो असर पर्छ ?
यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास थियो । यद्यपि, यतिबेला नेपाली मुद्रा मात्र नभई विश्वभरका मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बनिरहेका छन् ।
तर, यतिबेला अमेरिकी डलर बलियो मात्रै बनिरहेको छैन अमेरिकामा बैंकको ब्याजदर बढ्नु समेत नेपालजस्ता विश्वका धेरै विकासशील राष्ट्रको अर्थतन्त्रका लागि खतराको घण्टी हो । यद्यपि, अहिले विश्व अर्थतन्त्रमा निरन्तर परिरहेको समस्याको कारण अमेरिकी डलर बलियो बन्नु मात्रै हैन । तर, यसले समस्यामा परेको विश्व अर्थतन्त्रलाई झनै समस्यामा पार्न मलजल गरिरहेको छ ।
पहिलेदेखि नै कोरोना महामारीका कारणले थलिएको विश्व अर्थतन्त्र रुस–युक्रेन युद्धका कारणले झनै समस्यामा परेको छ । युद्धका कारणले विश्वभर महँगी, अभाव र बेरोजगारी सङ्ख्या बढिरहेको छ । जुन, विश्व अर्थतन्त्रको शुभसंकेत हैन ।
विश्व अर्थव्यवस्था
अमेरिकी डलरको बढ्दो मूल्यका कारणले दुनियाँका भिन्न–भिन्न देशमा आर्थिक गतिविधि सुस्ताउन थालेको बताइन्छ । र, अर्थतन्त्र सुस्ताउने गति झनै अघि बढ्दै छ । मेक्सिकोका इकोनोमिक्स र फाइनान्स प्रोफेसर एडवर्डो कार्बाजाल भन्छन्, ‘डलर मजबुत बन्दा आर्थिक वृद्धिमा असर परेको छ । किनकि, डलर मजबुत बन्दा महँगी बढ्छ ।’ र, यतिबेला महँगी चरम सीमामा पुगिसकेको छ र विश्वभरको मुद्रास्फीति कीर्तिमानी स्थानमा पुगिसकेको छ ।
डलर बलियो बनेपछि अमेरिकासँगै विश्वभर ऋण लिँदा महँगो परिरहेको छ । यसको अर्थ, कुनै पनि देश, बहुराष्ट्रिय वा राष्ट्रिय कम्पनी वा व्यक्तिले डलरमा ऋण लिनु महँगो परिरहेको छ । जसले आर्थिक गतिविधिलाई सुस्त बनाइरहेको छ । डलर महँगो बनेसँगै विश्वभर महँगी बढिरहेको छ ।
झनै महँगिन्छ आयात
वित्तीय कन्सल्टेन्सी फर्म एसएण्डपी ग्लोबल रेटिङका वरिष्ठ अर्थशास्त्री एलिजाह ओलिवेरोस–रोजेन डलर बलियो बन्दा आयात महँगिने बताउँछन् । उनका अनुसार डलर मजबुत बन्दा आयातित वस्तुको मूल्य बढ्छ र मुद्रास्फीति बढ्छ । यस्तै, डलरमा ऋण लिएका मुलुकहरूले गर्नुपर्ने भुक्तानी रकम समेत बढ्छ । यसको अर्थ, डलर बढेसँगै तिर्नुपर्ने ऋणको हिस्सा झनै बढ्दै जान्छ ।
यसैगरी, त्यस्ता मुलुक माथिको वित्तीय दबाब झनै बढ्छ, जुन देशसँग खर्च गर्ने रकम कम छ । यस्ता मुलुकको सूचीमा नेपाल जस्ता विकासशील राष्ट्रहरू समेत पर्छन् । डलर महगिँदा अमेरिका लगायत विश्वभरका मानिसहरूले खर्च कम गर्छन् । जसले अमेरिकीहरू विदेशी मुलुकमा गर्ने लगानी घट्न जान्छ । जसको प्रभाव फेरी विश्व अर्थतन्त्रमा नै पर्न आउँछ ।
अझै कति बढ्ला डलर ?
ब्लुमवर्ग डलर स्पट इण्डेक्सका अनुसार अघिल्लो वर्ष विश्वका १० मूल्यवान् मुद्राको तुलनामा डलरको भाउ १२ प्रतिशतले बढेको थियो । यस्तै, यो वर्षको मेसम्ममा डलरको भाउ अन्य मूल्यवान् मुद्राको तुलनामा ७ प्रतिशत बढेको छ । डलरको प्रयोग र यसको अवस्था नाप्न ब्लूमवर्ग डलर स्पट इण्डेक्सको आँकडालाई लिइन्छ ।
अमेरिकाको केन्द्रीय बैंक यूएस फेडेरल रिजर्वले देशको महँगी नियन्त्रण गर्ने लक्ष्यसहित ब्याजदर वृद्धि गर्ने घोषणा गरेको छ । बैंकले धेरै कमाइ गर्ने मानिसहरूसँग धेरै कर लिने गरी ब्याजदर वृद्धि गर्ने जानकारी दिएको छ । जानकारहरूका अनुसार अमेरिकामा ब्याजदर वृद्धिको सिलसिला कम्तीमा पनि यो वर्ष पुरै चल्छ ।
यतिबेला डलरको तुलनामा नेपाली मुद्रा मात्रै कमजोर भएको भने होइन । डलरको तुलनामा युरो, पाउण्ड स्टर्लिङ र स्विस फ्रैंक जस्ता विश्वका शक्तिशाली मुद्रा समेत कमजोर भएका छन् ।
पुँजी बाहिरने क्रम बढ्ने
नेपाल लगायत विश्वका धेरै देशले अन्तर्राष्ट्रिय व्यापार अमेरिकी डलरमा गर्छन् । नेपालले तेस्रो मुलुकबाट आयात गर्ने प्रत्येक वस्तुको भुक्तानी डलरमा हुने गर्छ । पेट्रोलियम पदार्थ, सुन, चाँदी, औद्योगिक कच्चा पदार्थ, खाने तेल, बिटुमिन लगायत अन्य आयात हुने सम्पूर्ण वस्तुको भुक्तानी डलरमा गर्नुपर्छ ।
त्यसैले, डलरको दर बढेको समयमा यी वस्तुको भुक्तानी गर्दा नेपालबाट यसअघिको तुलनामा धेरै मुद्रा बाहिरिन्छ । यसको अर्थ, नेपालमा रहेको कुल विदेशी मुद्राको सञ्चितिले यसअघि आउने वस्तुको परिमाण डलर बलियो बनेपछि आउँदैन । उदाहरणका लागि, रुस–युक्रेन युद्ध अघि प्रतिब्यारेल ९० अमेरिकी डलरमा आउने कच्चा तेलको मूल्य अहिले ११० डलर पुगेको छ । जसलाई यसअघि ११९ रुपैयाँ प्रतिडलरमा भुक्तानी गर्न मिल्नेमा अब १२४ रुपैयाँ प्रतिडलरभन्दा धेरै तिर्नुपर्छ ।
यद्यपि, अमेरिकी डलर नेपाली मुद्राको तुलनामा बलियो बन्दा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण)मा भने नेपालाई फाइदा हुन्छ । मजबुत बनेको डलरमा भित्रिने रेमिट्यान्ससँगै नेपालबाट हुने निर्यातमा समेत नेपाललाई फाइदा पुग्छ । तर, आयातको तुलनामा निर्यात न्यून हुँदा वैदेशिक व्यापारबाट डलर महँगो बन्दा नेपाललाई प्रत्यक्ष फाइदा पुग्ने देखिँदैन ।
बीबीसीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र