आनन्द र शान्तिको लागि मौलिक मुहारको पहिचान
ओशोका अनुयायी स्वामी चैतन्य कीर्तिजी केही समयअगाडि काठमाडौं आउँदा उहाँले तनावबारे दिनु भएको प्रवचनमा सहभागी हुने अवसर पाइएको थियो । उहाँले भन्नु भएको थियो, शान्तिका लागि मौलिक चेहरा (मुहार)को पहिचान गर्नु आवश्यक छ । मौलिक मुहार के हो ? कसरी यसलाई पहिचान गर्न सकिन्छ ? तनावबाट कसरी मुक्त भएर आनन्द र शान्ति जीवन बाँच्न सकिन्छ ? भन्ने विषयमा उहाँले प्रस्ट्याउनु भएको थियो । सोही सन्दर्भमा यो लेख केन्द्रीत छ ।
के हो मौलिक मुहार ?
साधारण अर्थमा मौलिक भन्नाले असली वा वास्तविक भन्ने जनाउँछ । जुन रुप हामीलाई प्रकृतिले दिएको छ, त्यो वास्तविक रुप नै मौलिक हो । तर आज संसारमा हाम्रो मौलिकता हराउँदै गएको छ । हामीमा मैत्रीभाव हराउँदै गएको छ । मैत्रीको नाममा हामीमा देखावटीपन विकास हुँदै गएको छ । हामी एकअर्कासँग मुस्कान त साट्छौं तर त्यो मुस्कान वास्तविक हुँदैन । हामीभित्र रिस, राग, द्वेष, अहंकारले कब्जा जमाएको छ । हामी यिनीहरूको दास बन्दै गएका छौं । प्रेम, सद्भाव, दया, माया, स्नेह, करुणा आज संसारबाट हराउँदै गएको छ ।
पद, पावर र पैसाको लागि हामी आज जे गर्न पनि तत्पर हुन्छौं । यसको घमण्डमा आफूलाई जीवनमा कहिले पनि मर्नु पर्दैन भनेर सोच्छौँ । हामी जहिले पनि तुलनामा बाँचेका हुन्छौं । अरुसँग तुलना गर्नु हाम्रो मौलिकता भइसकेको छ । उ भन्दा आफू ठुलो हुँदा हामीलाई सन्तोष लाग्छ । तुलना नै जीवनको सार भनेर तुलनाबाट नै आफूलाई सर्वोत्कृष्ट ठान्दछौं । आफ्नो जीवनलाई अरूको जीवनसँग तुलना गर्दा हामीलाई दुःख हुन्छ, पीडा हुन्छ तर पनि हामी तुलना गर्न छोड्दैनौं । एक पल्ट सोचौं त, कसको लागि, किन हामी अरुसँग आफूलाई तुलना गरिरहेका छौं ? कहाँ पुग्न हामी घमण्ड गरिरहेका छौं ? आफ्नो मौलिकताको पहिचान बिर्सेर हामी बाहिर बाहिर संसारमा दौडिरहेका छौं ।
हामी दौडधूपमा आफूलाई होमिरहेका छौं । बाहिर भाग्दा भाग्दै हामीले आफूले आफैलाई चिन्न पनि छाडिसक्यौं । हामी को हौं ? कहाँबाट आएका हौं, कहाँ जानुपर्छ ? हामीले कहिले पनि एकान्तमा एक्लै विचार गरेका छौ त ? एक पल्ट एकान्तमा बसौँ र आफूले आफैंलाई सोधौं, हामी को हौं ? हामी आमाबुबाले दिनुभएको नाम हौ त ? समाजले दिएको प्रतिष्ठा हौ त ? एक पल्ट गहिरिएर सोचौं त ? हामीभित्रको हामीले हामीलाई के भन्छ ? हामीले माया गरेर सम्हालेको शरीर के हाम्रो हो त ? यदि हो भने हामी किन मर्छौं ? किन हामीलाई मुर्दा र लाश भन्दै जलाउँछन् ? मर्ने हामी हौं भने जल्ने शरीर को हो ? एक पल्ट फेरी पनि सोचौं त ? यदि यो शरीर हाम्रो होइन भने हामी को हौं ? हामीले हामीलाई हाम्रो भनेको हामीभित्रको हाम्रो को हो त ? जबसम्म हामीले हाम्रो असली मुहारको पहिचान गर्न सक्दैनौ, चिन्न खोज्दैनौ, तबसम्म आफैले आफैलाई चिन्न सक्दैनौ ।
हाम्रो मुहार मान्छेपिच्छे बदलिरहन्छ । हामी जब आमाको काखमा हुन्छौं, हाम्रो मुहार बात्सल्यले भरिएको हुन्छ । जब संसारतिर दौडिन्छौं, हाम्रो मुहार रिस, राग, क्रोध अझ भनौं पलपलमा हाम्रो मुहार बदलिरहन्छ । मनभित्र हजारौं कुरा भएपनि बाहिर हामी मुस्कान छर्छौं । रोदन भित्रको मुस्कान, रिस भित्रको मुस्कान, घृणा भित्रको मुस्कान, मायाभित्रको मुस्कान हाम्रा मुस्कानहरु धेरै थरीका हुन्छन् । हाम्रो मुहारले त्यसलाई झल्काइ रहेको हुन्छ । यसैले हामी कहिल्यै पनि आफ्नो मौलिक मुहारमा बस्दैनौं, बस्न सक्दैनौं ।
परिवर्तन हाम्रो जीवनको एउटा नौलो आयाम बनेको छ । यो एउटा अवचेतन मनको बानी पनि हो । यो एक किसिमको राजनीति पनि हो । समाजको प्रतिष्ठाको लागि हामी आफ्नो मौलिक मुहार चाहेर पनि अगाडि ल्याउन सक्दैनौं । न हामी खुलेर हाँस्न सक्छौ । न हामी मनभरी रुन सक्छौ । कति विवश छौ हामी, कति दयनीय छौ हामी ? तर यो विवशता के का लागि ? यो दयनीयता के का लागि ? एकफेरा मनन गरौं त ?
मौलिक मुहार पहिचान कसरी गर्ने ?
मौलिकताको पहिचान गर्न गाह्रो छैन, केवल साक्षी भावमा बस्नु पर्छ । जति हामी आफूलाई आफूभित्रै अध्ययन गर्छौं, त्यति नै साक्षी भाव हामीमा आउन थाल्छ । अनि त्यो साक्षी भावले हाम्रो मौलिकताको पहिचान दिन्छ । यहाँ पहिचानको लागि म को हुँ ? भन्ने ‘म’ को भाव त्याग्नुपर्छ । म अर्थात् अहम्को भाव त्याग्न हामीले ध्यानको मार्ग पहिल्याउनु पर्छ । साक्षी भाव हामीले हेर्ने ऐना जस्तो हुन्छ । हाम्रो अनुहार जसरी ऐनाले जस्ताको तस्तै देखाउँछ, त्यस्तै साक्षीभावले हाम्रो मौलिकतालाई जस्ताको तस्तै देखाइदिन्छ । साक्षी भाव स्वीकार भाव पनि हो ।
साक्षी भावमा जाने विधि
साक्षी भावमा जान सजिलो छैन तर गाह्रो पनि छैन । दृढ संकल्पको माध्यमबाट हामी साक्षी भावमा जान सक्छौं । साक्षी भाव भन्नुको तात्पर्य आफूले आफैलाई हेर्नु हो । मनले के गरिरहेको छ, के सोचिरहेको छ ? त्यसलाई टाढै बसेर हेरिरहनु हो । मनमा विचार कसरी आइरहेको छ ? त्यसलाई आफूले हेरिरहनु हो । मनले के सोचिरहेको छ, त्यसलाई हेर्नु हो । आफू त्यसमा संलग्न हुनु होइन । यसरी हेर्दा हेर्दै हामी एक समय निर्विचार हुन पुग्छौं । साक्षी भावमा जान निम्न चार चरण पूरा गर्नुपर्दछः
थरि थरिका मुहार बनाउनुः
यसमा आफूलाई जस्तो जस्तो मन लाग्छ, त्यस्तै मुहार बनाउनु हो । रिसको मुहार, झगडालु मुहार, बच्चाको मुहार, बुढाको मुहार सबै बनाउँदै त्यस्तै त्यस्तै भाव मुहारमा ल्याउनु पर्दछ । मुहार बनाउँदा म के बनाइरहेको छु, त्यसलाई आँखा चिम्लिएर मनन गर्नुपर्दछ । आफूले बितेका जीवनमा भोगेका सुख दुःख, वर्तमानमा पाएका पीडा आफूभित्र समेटेर, जुन मुहार बनाउन मन लाग्छ, त्यो बनाउनु पर्दछ । यो कम्तीमा पनि १० मिनेट गर्नुपर्छ
सिंहको जस्तो गर्जन गर्नुः
चार पाँच पटकसम्म ठूलो स्वरले सिंहले गर्जेको जस्तो गर्जिने । यसले हामीभित्रको रिसलाई बाहिर निकाल्छ । शरीरलाई थकाएर उर्जावान बनाउछ ।
जिब्ब्रिक गर्नुः
सकेसम्म उभिएर ता तुउ ल हि नु आदि जे मनमा आउँछ, उच्चारण गर्नुपर्छ । यो कम्तिमा पनि १० मिनेट गर्नुपर्छ । जब हामी जिब्ब्रिक गर्न थाल्छौ, हामीभित्र लुकेर रहेका भावहरु यसमा आउँछन् । अनि आफ्से आफ हामीले नजानेका शब्द आउन थाल्छ । यसले हामी भित्रका कुण्ठा बाहिर निकाल्छ ।
बन्द आँखाले आफूलाई हेर्नुः
मौलिक मुहार पहिचान गर्ने यो अन्तिम चरण हो । यसमा बसेर आँखा बन्द गरी आफू भित्रको उर्जालाई हेर्ने । हेर्दा हेर्दै आफू त्यसैमा विलिन होइन्छ, शुन्यमा हराइन्छ । त्यही नै हाम्रो मौलिक मुहार हो । किनकि यसमा मैत्री भाव जाग्छ, जुन भाव हाम्रो लागि अबाञ्छनीय छ ।
स्वामी चैतन्य कीर्तिजीले गराउनु भएको यो सबै प्रक्रिया गर्न करीब चालीस मिनेट लाग्छ । एक दिनमा हामी आफूलाई चालीस मिनेटको समय खर्चियौ भने आफू भित्रको मौलिकता पहिचान गर्न सक्छौं । यसबाट हामीमा धेरै सकारात्मक परिवर्तन आउँछ । बाँच्न त जसरी पनि बाँचिन्छ तर आनन्द जीवन बाँच्नु पो बाँच्नु हो । यसैले दिनमा एक पल्ट आफूतिर फर्कौं । आफ्नो मौलिक मुहार आफैले पहिचान गरौँ । आनन्द, शान्ति र मैत्री भावले बाँचौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म