मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा एमालेसँग तालमेल गरी काँग्रेसको ‘इन्ट्री’

चार पालिकामा माओवादीको वर्चश्व यथावत !
सोमबार, ०९ जेठ २०७९, १० : ०३
सोमबार, ०९ जेठ २०७९

सुर्खेत । नेकपा माओवादी केन्द्रको आधार इलामा मानिने कर्णालीको रुकुम पश्चिममा स्थानीय निर्वाचन २०७८ मा माओवादीलाई केही घाटा लागेको छ । वर्तमान अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिममा माओवादीको विरासतलाई कसैले हल्लाउन सकेको थिएन तर यो पटक दुई वटा स्थानीय तहमा नेपाली काँग्रेसले सत्ता आफ्नो हातमा पार्न सफल भएको छ ।

तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँ २०७४ सालको निर्वाचनमा माओवादीको एकाधिकार जमाएको थियो । यो जिल्लाका कुनै पनि पालिकामा अन्य दलले जित्न सकेका थिएनन् । यतिमात्र होइन, अन्य सबै दल एकातिर र माओवादी एक्लै हुँदा पनि यस जिल्लामा माओवादी केन्द्र नै भारी हुँदै आएको थियो । यो पटक गठबन्धनभित्रकै दल काँग्रेसबाट मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा माओवादी केन्द्र पराजित हुनु परेको हो ।

०७४ मा बाँफिकोट गाउँपालिका विप्लव, राप्रपा, काँग्रेस, एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् । बरु उल्टै वडामा समेत ती दल निल भएका थिए । माओवादी केन्द्रकी प्रदेश अध्यक्षसमेत रहेकी विमला केसीको गृह जिल्ला पनि रुकुम पश्चिम नै हो । केसीले काँग्रेसले गठबन्धनभित्र इमानदारिता नदेखाएको आरोप लगाएकी छन् ।

१० जिल्लामध्ये कर्णालीका रुकुम पश्चिम र सुर्खेतमा गठबन्धन गरेर चुनावमा जाने सहमति सुरुमा हुन सकेको थिएन । सुर्खेतमा अन्तिममा आएर काँग्रेसले माओवादीसँग तालमेल गरे पनि रुकुम पश्चिममा गठबन्धन घटकबीच तालमेल हुन सकेन । यद्यपि केन्द्रीय सर्कुलर अनुसार गठबन्धन नभएका ठाउँमा गठबन्धनभित्रकै दलहरुसँग स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने तर गठबन्धनभन्दा बाहिरको दलसँग तालमेल गर्न नपाइने भनिएको थियो ।

रुकुम पश्चिममा काँग्रेसले गठबन्धनको सो निर्णय विपरीत नेकपा एमालेसँग तालमेल गरेको थियो । मुसिकोट नगरपालिकामा काँग्रेस–एमालेबीचको तालमेलका कारण माओवादी पराजित भएको नेताहरु बताउँछन् ।

यस जिल्लामा माओवादीको प्रतिस्पर्धी भनेको काँग्रेसमात्रै हो । यहाँ एमाले तेस्रो राजनीतिक शक्ति छ । एमालेले यो जिल्लाका कुनै पनि स्थानीय तहमा जित्न सकेको छैन । तर आफू जित्न नसके पनि एमालेले काँग्रेससँग मिलेर माओवादीलाई पराजित गर्ने भूमिका निर्वाह गरेको छ ।

१. चौरजहारी नगरपालिका

यो नगरपालिकामा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादीका पुष्प वादीले विजयी प्राप्त गरेका छन् भने उपप्रमुखमा पनि माओवादीकै ईश्वरी शर्मा विजयी भएकी छन् ।  प्रमुखमा विजयी वादीले ६ हजार ८८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३११ मत पाए ।

०७४ मा माओवादी केन्द्रका विशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बलविर गोसाइँले ३ हजार २०४ र एमालेका शेरबहादुर केसीले २ हजार २८२ मत ल्याएका थिए । यो पटक उपप्रमुखमा शर्मा ७ हजार २ मत पाएर विजयी भएकी हुन् । एमालेका टंकप्रसाद ओलीले ५ हजार ७४४ मत पाए ।

०७४ मा उपप्रमुखमा माओवादीकी राधा रोकाया ५ हजार ३२५ मत ल्याएर निर्वाचित भएकी थिइन् भने काँग्रेसकी मनिसा रोकायाले ३ हजार ४८ र एमालेकी कल्याणी खड्काले २ हजार ४१३ मत ल्याएकी थिइन् ।

नगरपालिकाका १४ वटा वडामध्ये १२ वटा माओवादी र दुई वटा काँग्रेसले जितेको छ ।

२.आठबीसकोट नगरपालिका

एमाले, एकीकृत समाजवादी र काँग्रेसको तीन दलीय गठबन्धनलाई पराजित गरेर यहाँ माओवादीका रवी केसीले प्रमुखमा जितेका छन् । उनले नेपाली काँग्रेसका धीरेन्द्र कुमार वटालालाई ७८४ मतान्तरले पराजित गरेका हुन् । केसीले ७ हजार ३९९ मत ल्याएर प्रमुखमा निर्वाचित हुँदा वटालाले ६ हजार ६१५ मत प्राप्त गरे ।  

उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाए । १४ वटा वडा रहेको यो पालिकामा १० वटा वडामा माओवादीले जितेको छ भने तीन वटामा चार दलीय गठबन्धनले जितेको छ ।

०७४ मा यो पालिकामा माओवादी केन्द्रका गोर्खबहादुर केसीले ५ हजार ४८९ मत ल्याएर प्रमुखमा निर्वाचित बनेका थिए भने उपप्रमुखमा माओवादी केन्द्रकै गीता नेपालीले ५ हजार ६१८ मत ल्याएर निर्वाचित भएकी थिइन् ।  १४ वटा वडा रहेको यहाँ एमालेले १, काँग्रेसले २ र माओवादीले ११ वटा वडामा आफ्नो वर्चश्व जमाएको थियो । सोही वर्चश्व यो पटक पनि माओवादीले कायम राखेको छ ।

३.मुसिकोट नगरपालिका

यहाँ काँग्रेस–एमालेको गठबन्धनसँग माओवादी केन्द्र पराजित भएको छ । यो पालिकाको प्रमुखमा काँग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९०१ मत ल्याए । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत ल्याएका छन् ।

मुसिकोटामा एमाले–काँग्रेस भर्सेस माओवादी–समाजवादीको गठबन्धन थियो । एमाले–काँग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् । १४ वडा रहेको मुसिकोटका ८ वडा माओवादीले जित्दा ६ वडा काँग्रेसले जितेको छ ।

४.त्रिवेणी गाउँपालिका

यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमै माओवादी केन्द्रले विजय हासिल गरेको छ । माओवादी केन्द्रका गणेशकुमार केसी ५ हजार १२९ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अमरसिं खड्काले ४ हजार २९३ मत प्राप्त गरे ।  एमालेका चोपलाल खडकाले १५८, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्ली बहादुर खड्काले ५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै राजकुमारी रेउले विजयी भएकी छन् ।   उनले ५ हजार १४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसकी सृष्टि बाँठा मगरले ४ हजार ३१३ मत प्राप्त गरिन् । यहाँका ५ वडामा माओवादी, ४ मा काँग्रेस र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

५. बाँफिकोट गाउँपालिका

यहाँ काँग्रेसले जितेको छ । काँग्रेसका जनककुमार बाँठाले चार हजार ४५५ मत ल्याएर अध्यक्षमा जितेका हुन् । बाँठाका निकटतम प्रतिद्वन्द्वी माओवादीका चन्द्रबहादुर केसीले चार हजार ४२४ मत प्राप्त गरे । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रले जितेको छ । माओवादीकी तारा बुढा केसी चार हजार ५६० मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नन्दाकुमारी नाथले चार हजार १६० मत ल्याइन् ।

बाँफिकोटका १० वडामध्ये आठ वटामा माओवादी केन्द्र र दुई वटा वडामा काँग्रेस विजयी भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाको नेतृत्वका साथै सबै वडामा माओवादीले विजय प्राप्त गरेको थियो ।

६. सानीभेरी गाउँपालिका

जिल्लामा सबैभन्दा पहिला मतगणना सकिएको यो पालिकामा माओवादी केन्द्रका  विर्खबहादुर बिष्ट विजयी भएका छन् । उनले ६ हजार १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी काँग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३२० मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै कमला रोकाले ५ हजार ९५८ मत प्राप्त गरेर विजय प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका प्रकाश खड्काले ३ हजार ४४२ मत प्राप्त गरेका हुन् । यहाँ पनि काँग्रेस–एमालेबीच गठबन्धन थियो । ११ वडा रहेको सानीभेरी गाउँपालिकामा ९ वडा माओवादीले र २ वटा वडामा काँग्रेसले जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप