शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘केपी ओली धेरै बोले, देउवाले बोल्दै नबोली चुनाव जिते’

सोमबार, ०९ जेठ २०७९, ०८ : ४४
सोमबार, ०९ जेठ २०७९

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम अन्तिमअन्तिम चरणमा पुगेको छ । सार्वजनिक नतिजाअनुसार मुलुकका ७५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै जितेर नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो बनेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा २ महानगर, ७  उपमहानगरसहित सबैभन्दा धेरै स्थानीय तह जितेको एमालेले यो पटक महानगरमात्रै होइन उपमहानगर पनि गुमाउनु परेको छ ।

६ महानगरमध्ये काठमाडौँ र पोखरा यसपटक पनि दोहोर्‍याउन एमालेले आफ्नो पुरै शक्ति लगाए पनि परिणाम एमाले आँकलन विपरित आएको छ । वैशाख ३० को मतदान हुनुभन्दा केही दिन अघि मात्रै एमाले महासचिव शंकर पोखरेलले मूलधारे मिडियाका सम्पादकहरूलाई नयाँ बानेश्वरमा बोलाएर एमाले एक्लै चुनाव लडेर पनि नतिजामा चमत्कार गर्ने बताए थिए । उनले सम्पादकहरूको प्रश्नमा भनेका थिए, ‘ सङ्ख्या भन्न नलगाउनुस् तर यसपटक एमालेले महानगर र उपमहानगरमा चमत्कार गर्छ ।’

पोखरेलले विगतको भन्दा यसपटक बढी सङ्ख्यामा महानगर र उपमहानगर जितेर ‘चमत्कार’ गर्ने सङ्केत गरे पनि उनको विश्लेषण ठिक विपरिततिरको चमत्कारमा परिणत भएको छ ।

त्यस्तै उपमहनगरतर्फ पनि एमालेले नसोचेको परिणाम आएको छ । ५ वर्षअघि ११ उपमहानगर मध्ये एमालेले एक्लैले ७ वटा जितेको थियो । पछि भएको उपनिर्वाचनमा धरान गुमाएको थियो । धरानबाहेक पनि  इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुरको प्रमुख जितेको एमालेले यो पटक घोराहीबाहेक अरू उपमहानगर गुमाइसकेको छ । यद्यपि तुलसीपुरको मतगणनामा एमाले अगाडि नै छ । यो उपमहानगरमा काँग्रेसले एमालेलाई पछ्याइरहेको छ । यदि एमालेले तुलसीपुर जिते पनि अव २ उपमहानगरमा उसले चित्त बुझाउनुपर्ने छ । २०७४ मा एमालेले कब्जा गरेको इटहरीमा काँग्रेसका हेमकर्ण पौडेलले बाजी मारिसका छन् भने, धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले दलहरूका उम्मेदवारलाई हराएका छन् । धरानमा एमाले तेस्रो भएको छ भने इटहरीमा दोस्रो भएको छ ।  त्यस्तै जीतपुरसिमरामा माओवादीका राजन पौडेलले जित निकाल्दा एमाले दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै हेटौडा उपमहानगर एमालेबाटै छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीको पोल्टामा पुग्दा एमाले यहाँ पनि दोस्रो स्थानमा पुगेको छ ।

उता लुम्विनी प्रदेशमा रहेको रुपन्देहीको बुटवल उपमहानगर पनि एमालेले गुमाइसकेको छ । यो नगरपालिकामा नेपाली काँग्रेसका खेल राज पाण्डेयले बाजी मार्दा एमाले आफ्नो पुरानो विरासतबाट मुक्त भएको छ । स्थानीय तह निर्वाचनको यो नतिजा हेर्दा मुलुकका प्रमुख सहरबाट एमाले पराजित हुन पुगेको छ ।

सहरका मतदाताले एमाले मन नपराएका हुन् ?

कुनै समय माओवादी केन्द्रलाई सहरका मतादाताले पत्याएका थिएनन् । माओवादीलाई सहरका मतदाताको मन जित्न हम्मे परेका बेला एमालेले प्रमुख सहरहरूमा ‘दबदबा’ मच्चाएको थियो । ‘के सहरका मतदाताले एमालेलाई पत्याउन छोडेका हुन् त ?’ एमाले केन्द्रीय सदस्य नीरज आचार्य यो कुरा स्वीकार गर्न तयार छैनन् । आचार्य भन्छन्– ‘हाम्रो सिट घटे पनि मत घटेको छैन ।’ नेता आचार्य पहिले जितेका महानगर र उपमहानगरसहित स्थानीय तह जोगाउन नसक्नुमा मुख्य गरी दुई वटा कारण रहेको बताउँछन् । पहिलो कारण पाँच दलीय गठबन्धन रहेको उनको भनाइ छ

‘पहिलो कुरा पाँच दल एकातिर एमाले अर्कोतिर हुँदा स्वाभाविक रूपमा एमालेले सोचे अनुसार नतिजा आएन’, उनले भने, ‘दोस्रो कुरा उम्मेदवार छनोटमा ध्यान दिन नसक्नु नै हो ।’ कार्यकर्ताको अपेक्षा र मतदाताको मनोविज्ञान बुझेर उम्मेदवार छनोट हुन नसक्नुले पनि सोचेअनुसार एमालेको पक्षमा नतिजा नआएको आचार्यको भनाइ छ ।

‘देउवा बोल्दै बोलेनन्, ओली धेरै बोले’

राजनीतिक विश्लेषक समेत रहेका प्रा.डा लोकराज बराल राजनीतिमा समय र सन्दर्भ अत्यन्तै महत्त्वपूर्ण हुने बताउँछन् । बराल प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति रहेका शेरबहादुर देउवाले बोल्दै नबोली चुनाव जिताएर आफ्नो पार्टीलाई ठुलो बनाएको तर एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै बोलेर पनि अवस्था प्रतिकुल बन्न सहयोग पुगेको टिप्पणी गर्छन् ।

‘समय र सन्दर्भ धेरै ठुलो र बलवान् हुन्छ । तिनै ओलीले २०७४ बोल्दा एमालेले त्यति धेरै भोट पाएको थियो’। बरालले रातोपाटीसँग भने, ‘त्यसबेला एमाले राष्ट्रवादी पनि भयो अर्थात त्यसवेला समयले एमालेलाई साथ दिएको थियो ।’

उनले भारतीय नाकाबन्दीको विरोधदेखि चीनसँगको नाका खुलाउने र वाम पार्टी एकता गर्ने ओलीको कदमलाई जनताले रुचाएकाले २०७४ का चुनावमा एमालेलाई मत दिएको बताए । ‘त्यसवेला पनि शेरबहादुर खासै बोलेका होइनन् । अहिले पनि ओली जसरी देउवा बोलेको देखिएन । तर नेतृत्व प्रभावकारी नभएपनि देउवाले आफ्नो पार्टीलाई ठुलो बनाए र तिनै ओलीलाई साइजमा घटाए’, बरालको विश्लेषण छ । २०७४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकारसँग जोडिएका भ्रष्टाचारका विषयको बचाउ तथा रेल र पानी जहाजजस्ता सपनाले मतदातामा आकर्षण नबढाएको भन्दै बरालले अहिलेका मतदाताले हावादारी कुरामा विश्वास गर्न छोडेको बताए । ‘गएको तीन बर्षमा ओलीजीले बढ्ता हावादारी कुरा गर्नुभयो र आफूले गरेका सबै कुरा ठिक भन्नेतिर लाग्नुभयो’, बरालले भने, ‘त्यत्रा त्यत्रा भ्रष्टाचारका कुरा उठ्दा पनि सबभन्दा राम्रो र शुद्ध भनेर बचाउने प्रयास भएको देखियो, यसले पनि ओलीजीको पार्टीलाई धक्का लगायो ।’ उनले ठुलो पार्टी र प्रधानमन्त्री समेत भएको व्यक्तिले अन्य दल र नेताहरूलाई प्रयोग गर्ने भाष्य ‘लुतो, पिलो, बिर्को, ऐझेरु’ जस्ता शब्दहरूले पनि मतदातामा इरिटेड थपेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप