आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

माओवादी मधेसमा पाँचौँ दल, गम्भीर समीक्षा गर्ने तयारी

सोमबार, ०९ जेठ २०७९, ०७ : २३
सोमबार, ०९ जेठ २०७९

नेकपा माओवादी केन्द्रले स्थानीय तहमा मधेस प्रदेशको पराजयको गम्भीर समीक्षा गर्ने भएको छ । मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको नेकपा माओवादी केन्द्र यस पटक स्थानीय तहको निर्वाचनमा मधेसमै कमजोर देखिएको छ । गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख/अध्यक्ष र ९ वटामा उपप्रमुख/उपाध्यक्ष मात्रै जितेको छ ।

माओवादी केन्द्रले पार्टी बैठकमा पराजयको विषयमा गम्भीर छलफल गर्ने भएको हो । पराजयका विभिन्न ‘फ्याक्टर’बारे पार्टीको बैठकमा समीक्षा हुने माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा माओवादीले मधेसबाट २१ स्थानीय तह जितेको थियो । पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशमा एमालेले २३ स्थानीय तह, नेपाली काँग्रेसले ४४ स्थानीय तह, जनता समाजवादी पार्टीले २४ स्थानीय तह, लोकतान्त्रिक समाजवादी पार्टीले १२ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा जितेको छ ।

यो प्रदेशका अझै १६ स्थानीय तहको मतगणना जारी छ । पछिल्लो मत गणना अनुसार माओवादी मधेस प्रदेशमा पाँचौँ दलमा सीमित देखिन्छ । पार्टी पराजयकाबारे प्रदेश समिति र केन्द्रीय समितिमा समीक्षा गरिने माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले बताए ।

‘अब हामीले मधेस प्रदेशमा पार्टीले हारेका विषयमा प्रदेश र केन्द्रीय समितिमा छलफल गर्छौँ । समीक्षा गर्छौँ,’ रातोपाटीसँग कुरा गर्दै साहले भने, ‘पार्टीले किन हार्‍यो ? पार्टी हार्नुमा के के कारण छन् ? त्यसको खोजी गर्ने छौँ । त्यसपछि निराकरणका उपाय खोजिने छ ।’

साहले माओवादीको पालिका कमिटीदेखि प्रदेश कमिटी अधिवेशनबाट नेतृत्व चयन नहुँदा पराजय भएको हुन सक्ने आकलन गरे । ‘मधेस प्रदेशको अधिवेशन भयो । नेतृत्व चयन गर्ने भन्दाभन्दै चुनाव भयो । प्रदेशका १३६ पालिकामध्ये ५५ पालिकाको अधिवेशन भए पनि नेतृत्व चयन हुन सकेन,’ रातोपाटीसँग साहले भने, ‘प्रदेशदेखि पालिकामा नेतृत्वविहीन भयो । चुनावी माहोल नै बन्न सकेन । सोचेजस्तो नतिजा ल्याउन सकेनौँ ।’

प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी लालबन्दी नगरपालिकाको मेयरमा उठेपछि मधेस प्रदेश अध्यक्षविहीन हुन पुगेको थियो । चुनाव अवधिभर इन्चार्ज गणेश साहले मात्रै प्रदेशमा माओवादीको नेतृत्व सम्हाले । अरू प्रदेश पदाधिकारी अस्थायी खालको संरचना बनाएकाले प्रदेशमा माओवादी कमजोर भएको हुन सक्ने बताएको छ ।

मधेसमा कमजोर हुनुमा गुटगत टकराव पनि मुख्य कारण 

मधेसमा माओवादी कमजोर हुनुमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गुट र नेता मातृका यादव गुटबीचको टकराव पनि मुख्य कारण बनेको जानकारहरु बताउँछन् । नारायणकाजी र मातृका गुट एकले अर्कोलाई सिध्याउन लागेकाले पनि माओवादी कमजोर भइरहेको एक नेताले बताए ।

प्रदेश पदाधिकारीदेखि जिल्ला र पालिकामा कुन पक्षको नेतृत्वमा ल्याउने भन्नेमा विवाद हुँदा पार्टी फैलिन नसकेको ती नेताले बताए । ती दुई गुटलाई पनि अध्यक्ष प्रचण्डले समयमै सल्टाउन नसक्दा स्थानीय चुनावमा माओवादी केन्द्र मधेसमा पाँचौँ स्थानमा झर्न पुगेको छ । तर, साहले त्यसलाई गुटबन्दीभन्दा पनि पार्टीभित्रको सङ्घर्ष मुख्य कारक भएको बताएका छन् ।

फरक स्कुलिङबाट आएका नेता एक नहुँदा यस्तो हुन पुगेको उनको भनाइ छ । साह आफैले पनि खुलेर दुवै पक्षको विरोध वा समर्थन केही गर्न सक्ने अवस्था छैन । उनको आफ्नै भने कुनै गुट छैन, त्यसैले समाधानको उपायसमेत खोजी गर्न उनी सक्दैनन् । खाली दुई गुटको साक्षी बनेर साह रमिते बन्ने गरेका छन् ।

यस्तै मधेस प्रदेशमा प्रभु साह फ्याक्टरलाई समेत माओवादी नेताहरूले नकार्न सकेका छैनन् । प्रभु साह माओवादीमा हुँदा मधेसमा उनको जबरजस्त प्रभाव थियो । उनी एमाले प्रवेश गरेपछि त्यो लेबलको नेताको अभाव देखिएको छ । उनको स्थान अरू कुनै माओवादी नेताले लिन सकेका छैनन् । एक ढंगले माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा जस्तै देखिएको छ ।

‘मधेसमा चुनाव लड्न सबै पार्टीले दुई वर्षदेखि तयारी गरे, माओवादीमा ठिक उल्टो फुट तथा विभाजन भयो । प्रभु साहजस्ता नेता एमालेमा गए । माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा पुग्यो । पार्टी आन्तरिक कलहमा फस्यो,’ साहले भने, ‘मधेसमा निर्वाचनका बेला पैसाको निकै ठूलो चलखेल भयो । पार्टीका तीनै तहले स्रोतको व्यवस्थापन गर्न सकेन । प्रायजसो स्थानीय तहमा पहिले जितकालाई दोहोर्‍यायौं तर जनताले रुचाएनन् ।’

तर, पूर्व स्थायी समिति सदस्य मातृका यादवले पार्टीमा अनुशासनविहीन र संगठनमा अराजकता हुन थालेपछि पार्टी कमजोर भएको दाबी गरे । ‘मधेसका जनतामा माओवादीको प्रभाव कम भएको होइन । नेतृत्व अभाव भएको हो,’ उनले भने, ‘हाम्रो पार्टीमा अन्तर्घात गर्नेलाई कहिल्यै कारबाही भएन । सबैले एकले अर्कोलाई अन्तर्घाती भन्छन् ।’

मधेसमा नेकपा माओवादी केन्द्र अझै पार्टीजस्तो हुन नसकेको उनको भनाइ छ । ‘यो चुनावमा त पार्टी छ भन्ने नै अनुभूति भएन,’ उनले भने । संगठनमा अराजकता मच्चाउने जोसुकैलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए । ‘अराजकता मच्चाउने मातृका यादव नै भए पनि कारबाही हुनुपर्छ,’ उनले भने, ‘नत्र पार्टी पार्टीजस्तो नै हुन सक्दैन ।’

यो चुनावमा मधेसमा पार्टी अध्यक्ष प्रचण्डको भूमिका देखिए पनि अरू नेताको नदेखिएको उनको भनाइ छ ।

माओवादीले प्रमुख/अध्यक्ष जितेका मधेसका स्थानीय तह 
जितपुर उपमहानगरपालिका, बारा
खड्ग नगरपालिका, सप्तरी
मिर्चैया नगरपालिका, सिरहा 
सवैला नगरपालिका, धनुषा
बागमती नगरपालिका, सर्लाही
हरिवन नगरपालिका, सर्लाही
बलरा नगरपालिका, सर्लाही
रामनगर गाउँपालिका, सर्लाही
दुर्गाभगवती गाउँपालिका, रौतहट
 
माओवादीले उपप्रमुख/उपाध्यक्ष जितेका मधेसका पालिका
मिर्चैया नगरपालिका उपप्रमुख, सप्तरी
मिथिला बिहारी नगरपालिका उपप्रमुख, धनुषा
सबैला नगर उपप्रमुख, धनुषा
बाग्मती नगर उपप्रमुख, सर्लाही
बलरा नगर उपप्रमुख, सर्लाही
छिन्नमस्त गाउँपालिका उपाध्यक्ष, सप्तरी
चन्द्रनगर गाउँपालिका उपाध्यक्ष, सर्लाही
रामनगर गाउँपालिका उपाध्यक्ष, सर्लाही
दुर्गा भगवती गाउँपालिका उपाध्यक्ष, रौतहट
 
माओवादीले २०७४ सालमा जितेका स्थानीय तह
१. कर्जन्हा नगरपालिका, सिरहा
२.अर्नामा गाउँपालिका, सिरहा
३. औरही गाउँपालिका, सिरहा
४. मिर्चैया नगरपालिका, सिरहा
५. धनगढीमाई नगरपालिका, सिरहा
६. गोलबजार नगरपालिका, सिरहा
७. कटहरावा नगरपालिका, रौतहट
८. मौलापुर नगरपालिका, रौतहट
९. यमुनामाई गाउँपालिका, रौतहट
१०. ठोरी गाउँपालिका, पर्सा
११. छिपहरमाई गाउँपालिका, पर्सा
१२. जगरनाथपुर गाउँपालिका, पर्सा
१३. गौशाला नगरपालिका, महोत्तरी
१४. बर्दिवास नगरपालिका, महोत्तरी
१५. रामगोपालपुर नगरपालिका, महोत्तरी
१६. सम्सी गाउँपालिका, महोत्तरी
१७. विदेह नगरपालिका, धनुषा
१८. शहीद नगरपालिका, धनुषा
१९. बागमती नगरपालिका, सर्लाही
२०. चक्रघट्टा गाउँपालिका, सर्लाही
२१. बरहथवा नगरपालिका, सर्लाही

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप