बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा ५ एआईजी पदमा बढुवा गर्ने तयारी

८ जना प्रतिस्पर्धामा
आइतबार, ०८ जेठ २०७९, १६ : ४४
आइतबार, ०८ जेठ २०७९

नेपाल प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली भएको छ । गृह मन्त्रालयले रिक्त दरबन्दीमा बढुवा गर्न तयारी थालेको छ । जेठ ६ मा मन्त्रिपरिषद्ले वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको थियो । ५६ वर्षको उमेर हदका कारण लामाले शनिवार राति १२ बजेबाट अवकाश पाइसकेका छन् ।

लामाको अवकाशसँगै ५ वटा एआईजीको दरबन्दी खाली छन् । सोमबार एआईजी पदमा बढुवा सिफारिस गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ती अधिकारीले भने– ‘सोमबार बढुवा समितिबाट सिफारिस गर्नेगरी छलफल चलेको छ ।’

अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा हुने प्रतिस्पर्धामा ८ जना डीआईजीहरू छन् । उत्तमराज सुवेदी, अरुणकुमार बिसी, मुकुन्दराज आचार्य, पुजा सिंह र दिवेश लोहनीलाई बढुवा गर्नेगरी गृह मन्त्रालयले तयारी गरेको छ । डीआईजी सुवेदी बरियताको एक नम्बरमा छन् । मेरिट लिस्टको दोस्रो नम्बरमा प्रदेश–१ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसी छन् । सुवेदी र बिसी २०७७ वैशाख ७ मा डीआईजीमा बढुवा भएका थिए ।

बढुवा प्रतिस्पर्धामा रहेका अधिकृतहरु २०४९ चैत ११ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका हुन् । २०७९ वैशाख ९ मा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि बढुवाको प्रतिस्पर्धी हुन् ।

मन्त्रिपरिषद्ले वैशाख १८ मा धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । उनी २९ औं आईजीपी हुन् । आईजीपी नियुक्ति लगत्तै स्थानीय निर्वाचनका कारण प्रहरीमा बढुवा प्रक्रिया अघि बढेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप