मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५ महानगरपालिकासहित ४१ स्थानीय तहको नतिजा आउन बाँकी (सूचीसहित)

आइतबार, ०८ जेठ २०७९, १६ : १३
आइतबार, ०८ जेठ २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।

निर्वाचन आयोगका अनुसार अझै ४१ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । जसमा पाँच महानगरपालिका पनि समावेश छ । हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ । विराटनगरमा भने नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् ।

यस्तै, काठमाडौं स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा हुँदा, ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन, पोखरामा एकीकृत समाजवादी पार्टीका धनराज आचार्य, चितवनको भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तथा वीरगन्जमा जसपाका राजेशमान सिंहले अग्रता बनाएका छन् ।

निर्वाचन आयोगका अनुसार अब झापाको अर्जुनधारा नगरपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिकाको मतगणना सकिन बाँकी छ । यस्तै मेचीनगर, शिवसताक्षी नगरपालिकाको पनि मत परिणाम आउन बाँकी छ । यस्तै मोङको रंगेली नगरपालिका, सुन्दरहरैँचाका साथै उदयपुरको कटारी र त्रियुगा नगरपालिकाको पनि मतपरिणाम आउन बाँकी छ ।

मधेस प्रदेशका गोलबजार नगरपालिका, भगवानपुर गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, रुपनी गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, बरहथवा नगरपालिका, गढीमाई नगरपालिका, गरुडा नगरपालिका, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधिमाई नगरपालिका, यमुनामाई नगरपालिका, वृन्दावन नगरपालिका, वीरगन्ज महानगरपालिका, पचरौता नगरपालिकामा पनि मतपरिणाम आउन बाँकी छ ।

यसैगरी गण्डकी प्रदेशको व्यास नगरपालिका, पोखरा महानगरपालिकाका साथै लुम्बिनी प्रदेशको कोटहीमाई गाउँपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, महाराजगञ्ज नगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, कोहलपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

यस्तै, सुदूरपश्चिमको साँफेबगर नगरपालिका, बुढीगंगा नगरपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिकासमेतको मतपरिणाम आउन बाँकी छ । यीमध्ये केही स्थानमा उम्मेदवारको जित निश्चित भए पनि अन्तिम घोषणा भइसकेको छैन ।

वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । निर्वाचन आयोगले जेठ ५ गतेभित्रै मतगणना सक्ने लक्ष्य लिए पनि अन्तिम परिणाम आउन ढिलाइ भएको हो । कतिपय स्थानमा अशान्ति मच्चिँदा ३० गते मतदानसमेत प्रभावित हुँदा आयोगले पुनः मतदान गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप