शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : हृदयेश र रेशम चम्किँदा कमल शून्य !

आइतबार, ०८ जेठ २०७९, १३ : ०३
आइतबार, ०८ जेठ २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा केही दल पहिलो पटक निर्वाचनमा सहभागी भएका थिए । तीमध्ये पनि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल, रेशम चौधरी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालप्रति जनचासो बढी छ ।

यसअघि स्वतन्त्र समूह गठन गरेर राजनीतिमा सक्रिय पूर्वमन्त्री त्रिपाठीले २०७४ सालको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्नबाट केही स्थानमा आफ्नो समूहका उम्मेदवार खडा गरेका थिए । जसमा उनीसहित केही जनप्रतिनिधि निर्वाचित पनि भएका थिए । अहिले स्थानीय तहको निर्वाचनकै पूर्वसन्ध्यामा उनले आफ्नो नेतृत्वमा दल दर्ता गरे । नयाँ भए पनि उनको दलले लुम्बिनी प्रदेशको एउटा पालिकाको अध्यक्ष र उपाध्यक्षसहित केही वडामा जित हासिल गरेको छ ।

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले पनि कैलालीमा आफ्नो प्रभाव देखाएको छ । यो पार्टीका उम्मेदवारले कैलालीमा दुई नगरपालिकाको प्रमुख, एक नगरपालिकाको उपप्रमुख, दुई गाउँपालिकाको अध्यक्ष र दुई गाउँपालिकाकै उपाध्यक्ष र केही वडा अध्यक्षमा जित हासिल गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट उम्मेदवार भएकाहरू भने अहिलेसम्म कतै निर्वाचित हुन सकेका छैनन् ।

हृदयेश त्रिपाठीको पार्टी लुम्बिनीको एक पालिकामा विजयी

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी भएको हो । जनता प्रगतिशील पार्टीले रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको छ । अध्यक्षमा सो पार्टीका गयाप्रसाद बरई ४ हजार ३८५ मतसहित निर्वाचित भएका छन् भने उपाध्यक्षमा सोही पार्टीकी आशा सिंह २ हजार ९६५ मतसहित निर्वाचित भइन् ।

यो पार्टीका तर्फबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख र उपप्रमुख, कपिलवस्तुको महाराजगंज नगरपालिकाको प्रमुख र उपप्रमुख, बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख र कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उपप्रमुखमा पनि उम्मेदवारी दिइएको थियो । तर तीमध्ये कुनै पनि पदमा यो पार्टीका उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

यो पार्टीका उम्मेदवारले लुम्बिनी प्रदेशका विभिन्न पालिकामा गरी तीन वटा वडा अध्यक्षमा समेत जित हासिल गरेका छन् । जसअनुसार मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्षमा कृष्णकुमार सिंह, वडा नम्बर ७ को अध्यक्षमा गनेश चौधरी (कुर्मी) र प्रतापपुर गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा जन्त्रीप्रसाद वरई निर्वाचित भएका छन् ।

मधेस प्रदेश अन्तर्गत सप्तरीको राजविराज नगरपालिका, महोत्तरीको मनरा शिसवा नगरपालिका, रौतहटको गरुढा नगरपालिका र राजपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको थियो । यो पार्टीका तर्फबाट राजविराज नगरपालिकामा उपप्रमुखमा पनि उम्मेदवारी दिइएको थियो भने अन्य नगरपालिकामा उपप्रमुखको उम्मेदवारी थिएन ।

यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका, सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको यमुनामाई गाउँपालिका अध्यक्षमा पनि जनता प्रगतिशील पार्टी नेपालले उम्मेदवारी दिएको थियो । यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका, रौतहटको दुर्गा भगवती गाउँपालिका उपाध्यक्षमा पनि यो पार्टीले उम्मेदवारी दिएको थियो ।

यो पार्टीले मधेस प्रदेशका विभिन्न पालिकाका १९ वडामा वडाध्यक्ष पदमा समेत उम्मेदवारी दिएको थियो । मधेस प्रदेशमा कुनै पनि पदमा यो पार्टीका उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

जनता प्रगतिशील पार्टी नेपालबाटै प्रदेश १ को त्रियुगा नगरपालिकाको प्रमुखमा शेख इसराइल, सोही पालिकाको वडा नम्बर ३ को अध्यक्षमा गंगा नारायण झा र वडा नम्बर १२ को अध्यक्षमा प्रमोद मलाहा सहनीले उम्मेदवारी दिएका थिए । तर त्रियुगा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी कैलालीमा सफल

यता रेशम चौधरीकी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा आफ्नो प्रभाव देखाएको छ । केही महिना अघिमात्र दर्ता भएको यो पार्टीले कैलालीका दुई नगरपालिकाको प्रमुख, एक नगरपालिकाको उपप्रमुख, दुई गाउँपालिकाको अध्यक्ष र दुई गाउँपालिकाकै उपाध्यक्षमा जित हासिल गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले टिकापुर नगरपालिका र भजनी नगरपालिकाको प्रमुखमा जितेको हो । टिकापुरको प्रमुखमा रामलाल डगौरा थारु र भजनी नगरपालिकाको प्रमुखमा केवल चौधरी निर्वाचित भए । यस्तै, भजनी नगरपालिकाकै उपप्रमुखमा सो पार्टीकी राजु तिरुवा निर्वाचित भएकी छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी पनि निर्वाचित भएका छन् । जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमती देवी कठरिया र जोशीपुर गाउँपालिकाको उपाध्यक्षमा रेखादेवी कठरिया निर्वाचित भएका छन् ।

सो पार्टीबाट कैलालीका विभिन्न पालिकामा गरी जम्मा १४ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल शून्य

नयाँ पार्टीका रुपमा स्थानीय तह निर्वाचनमा सहभागी भएको राप्रपा नेपालको अवस्था भने निराशाजनक छ । राप्रपाबाट अलग भएर कमल थापाको नेतृत्वमा गठित सो पार्टीले प्रदेश १ बाट धरान उपमहानगरपालिका प्रमुखसहित विभिन्न पालिकाका विभिन्न पदमा ७ उम्मेदवार खडा गरेको थियो । तर कुनै पनि पालिकामा प्रतिस्पर्धामा समेत आउन सकेन ।

यस्तै, मधेस प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा गरी राप्रपा नेपालले ६३ उम्मेदवार खडा गरेको थियो । यसैगरी बागमती प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा ४३, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९५, कर्णालीमा २८ र सुदूरपश्चिममा ९ उम्मेदवार खडा गरेको थियो । यीमध्ये कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप