शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘वाम एकता सम्भव छैन,  प्रतिनिधि सभा र प्रदेशसभा पनि एक्लै लड्छौँ’

हामीले होइन, काँग्रेसलाई नेता मानेर हिँड्नेहरूले गल्ती महसुस गर्नुपर्छ : उपाध्यक्ष पौडेल
आइतबार, ०८ जेठ २०७९, ११ : ५१
आइतबार, ०८ जेठ २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिले वामपन्थी एकताको कुरा गर्ने बेला नभएको बताएका छन् । स्थानीय तह निर्वाचनमा एमालेले हार बेहोरेपछि पुनः वामपन्थी एकताको चर्चा चलिरहेका बेला नेता पौडेलले अहिले वामपन्थी एकताको पक्षमा आफूहरू नरहेको भन्दै मङ्सिरमा हुने निर्वाचनमा केन्द्रित हुने बताएका हुन् ।

निर्वाचन नतिजापछि पुनः बाम एकताबारे चलेको चर्चाका बारेमा प्रस्ट पार्दै नेता पौडेलले दक्षिणपन्थमा लागेकाहरूलाई वामपन्थी मानेर उनीहरूसँग एमालेले एकता गर्न नसक्ने प्रस्ट पारे । ‘दक्षिणपन्थको पछि लागेर वामपन्थी भन्नेहरूलाई एमालेले वामपन्थी नै मान्दैन’, पौडेलले रातोपाटीसँग भने, ‘त्यस्ताहरूसँग एमालेले वामपन्थी एकताको पहल नै गर्दैन ।’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शुक्रबार राष्ट्रिय सभामा बोल्दै एमालेले गल्ती स्वीकारेर आए पुन सहकार्य गर्न सकिने अभिव्यक्ति दिएका थिए । श्रेष्ठको अभिव्यक्तिप्रति सङ्केत गर्दै पौडेलले भने, ‘हामीले होइन, काँग्रेसलाई नेता मानेर हिँड्नेहरूले गल्ती महसुस गर्नुपर्छ । एमालेले के गरेको छ र ? गल्ती महसुस गर्नुपर्ने ?’ उनले अहिले वामपन्थी एकता गर्ने भन्ने समय पनि नरहेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीको बेला भएको बताए । ‘अहिले गल्ती महसुस गर्ने र वामपन्थी एकता गर्ने भन्ने समय नै होइन, अब खुरुखुरु चुनावको तयारीमा जाने हो र मङ्सिरको चुनावमा हामीले सानदार ढङ्गले जित्ने हो, हामी त्यो तयारीमा छौँ,’ नेता पौडेलको भनाइ छ ।

उनले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता पाउन नसकेकोमा पार्टीमा गम्भीर समीक्षा गरिने पनि बताए । २०७४ को स्थानीय तह निर्वाचनको नतिजामा पहिलो पार्टी बनेको एमाले यो पटक दोस्रो स्थानमा खुम्चिएको छ । ५ वर्षमा झण्डै एक सय पालिका गुमाउने अवस्थामा पुगेको एमाले ६ महानगरबाट बाहिरिने निश्चित भैसकेको छ । ‘समग्र निर्वाचन नतिजाबारे हामी समीक्षा गर्दै छौ, त्यसपछि कहाँ के कमजोरी भयो भनेर पहिचान गर्छौ’, उपाध्यक्ष विष्णु पौडेलले भने, ‘आगामी दिनमा समीक्षाका साथ अघि बढ्छौ ।’

उनले नेकपा एमालेको एक्लै चुनाव लड्ने नीतिमा कुनै कमजोरी नभएको भन्दै भोलिका दिनमा पनि एमाले एक्लै चुनाव लड्ने ल्याकत राख्ने पार्टी भएको दाबी गरे । ‘एक्लै चुनाव लड्ने नीति हाम्रो हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन एक्लै लड्छौ’, उपाध्यक्ष पौडेलले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप