शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

देशैभर स्वतन्त्र उम्मेदवारको लहर : कहाँ कसले जिते ?

आइतबार, ०८ जेठ २०७९, १० : ४५
आइतबार, ०८ जेठ २०७९

२०७४ सालमा भएको स्थानीय तहको चुनावमा भन्दा यो पटकको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन् । ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा उनले एमाले र काँग्रेसका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।

काठमाडौं महानगरपालिकामा मात्र नभई उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरु कोही जितको नजिक पुगेका छन् भने केही स्थानमा जित निकालेका छन् । सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ राईले काँग्रेसका उम्मेदवारसँग अग्रता लिइरहेका छन् । यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि ३ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन् ।

यता, कैलालीको धनगढी उपमहानगर प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेश्रो स्थानको मत पाइरहेका छन् । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहलाई अस्वीकार गर्दैै उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए । 

पोखरा महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार ‘लौरो’ चुनाव चिह्न पाएका गनेश पौडेलले अपेक्षा गरेको परिणाम प्राप्त गर्न सकेका छैनन् । मोरङको विराटनगर महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले पनि सोचेजस्तो मत पाउन सकेनन् । उनी तेश्रो स्थानमा सीमित हुनुपरेको छ ।

हालसम्म कहाँ कहाँ जिते स्वतन्त्र उम्मेदवारले ?

महोत्तरी जिल्लाको बर्दिवासमा ठूला राजनीतिक दललाई पराजित गर्दै  प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  बर्दिवास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री १४ हजार २१० मत पाएर विजयी भएका छन् । उपप्रमुखमा स्वतन्त्र प्यानलबाट तारादेवी महतो ९ हजार ७३६ मत पाएर विजयी भएकी छन् ।

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ ५३५ मत पाएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार तेम्बा गुरुङले ३ सय २ मत पाएका छन् ।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी १ हजार ८२२ मतले विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३२५ मत पाए ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनील वली ६२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५९७ मत पाएका छन् । उनी काँग्रेसका बागी उम्मेदवार हन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । उनले ६६१ मत पाएका छन् ।

कर्णाली प्रदेश अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन् । यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । उनले २८८ मत पाएर  वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाहीले २ सय मत पाएका छन् ।

पाँचथरको फालेलुङ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार अनिश गुरागाईं विजयी भएका छन् । उनी काँग्रेसका बागी उम्मेदवार हुन् । उनले ३५९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्रीप्रसाद जवेगुले ३१९ मत पाएका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ विजयी भएका छन् । एमाले र काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै उनले १ हजार ८१४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेश राईले १ हजार ७८६ मत पाएका छन् । उनी एमालेका बागी उम्मेदवार हुन् । भोजपुरकै मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्लदाली ५ हजार २१ मतका साथ विजयी भएका छन् ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार नारायण मल्ल विजयी भएका छन् । उनले ७२६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७०७ मत पाएका छन् । उनी काँग्रेसका बागी उम्मेदवार हुन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वली ५७७ मत पाएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण ओलीले ४१७ मत पाएका छन् ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन् । जसपाका बागी उम्मेदवार रहेका उनले ७१६ मत ल्याउदा निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार दिनेशकुमार यादवले ६३८ मत पाएका छन् ।

हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीले  १ हजार ६९५ मत पाएर विजयी भएका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला १ हजार ७० मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाएका छन् ।

सिरहाको सिरहा नगरपालिका वडा नंबर २१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल ४७१ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एसका बालेश्वर यादवले ४३७ मत पाएका छन् ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित निर्वाचित भएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । यस्तै, डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् ।

कति थिए स्वतन्त्र उम्मेदवार

यो पटकको स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता थिए ।

देशभर नगरप्रमुखका लागि कुल ३ हजार ४९९ जनाले उम्मेदवारी दिँदा त्यस अन्तर्गत १ हजार ३ सय ९३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । गाउँपालिका अध्यक्षका लागि देशभरबाट परेका २ हजार ३८७ उम्मेदवारीमध्ये १ हजार ३२ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

उपमेयरमा देशभरबाट २ हजार १५८ जनाको उम्मेदवारी पर्दा ३९६ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । देशभरबाट उपाध्यक्ष पदका लागि २ हजार ४०२ जनाको उम्मेदवारी पर्दा ३६४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै वडाध्यक्षका लागि देशभरबाट ३५ हजार २६५ जनाको उम्मेदवारी पर्दा ५ हजार ८९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप