शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै रात दर्जनौँ घर चोरी, सिसिटिभीको मनिटरसमेत लगे

शनिबार, ०७ जेठ २०७९, २२ : ४५
शनिबार, ०७ जेठ २०७९

चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो ।

 चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर  तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिए । उत्तरगया गाउँपालिका–५ वडा कार्यालय र  माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।
 
प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ । विभिन्न कोषबाट अनुसन्धानको  काम तीव्र रूपमा अगाडि बढिरहेकाले  शङ्कास्पद व्यक्तिको गोप्यरूपमा  हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप