बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगर : नवनिर्वाचित प्रमुख र उपप्रमुख यस्ता छन्

शनिबार, ०७ जेठ २०७९, २२ : २०
शनिबार, ०७ जेठ २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रा अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित पाण्डेय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने उपप्रमुखमा निर्वाचित अर्याल नेकपा एमालेकी हुन् ।

को हुन् खेलराज पाण्डेय ?

बुटवलमा २५ वर्षपछि एमालेको लाल किल्ला भत्काउने खेलराज पाण्डेय स्याङ्जामा जन्मेका हुन् । संयोग नै भन्नुपर्छ, एमालेबाट प्रमुखमा उम्मेदवार बनेका बाबुराम भट्टराई र पाण्डेयको जन्म स्याड्जा जिल्लाको एउटै गाउँपालिका भएको हो ।

स्याङ्जाको आदर्श माविमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु  गरेका पाण्डेयले २०४४ देखि २०४६ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पसमा नेविसंघ इकाई सचिवका रुपमा काम गरे । त्यसपछि बुटवल झरेका पाण्डेयले २०४७ सालदेखि बुटवललाई नै राजनीतिक कर्म थलो बनाएका छन् ।

२०५२ सालमा नेविसंघ रूपन्देही सचिव र २०५९ मा तरुण दलको रूपन्देही अध्यक्ष बनेका उनी २०६० मा तरुण दलको केन्द्रीय सदस्य हुँदै काँग्रेसको बुटवल नगर सभापति समेत बने ।

गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पाण्डेयले २५ वर्षपछि बुटवलमा काँग्रेसको विरासत फर्काउन सफल भएका हुन् । बुटवललाई यसअघि एमालेले आफ्नो ‘लाल किल्ला’ दाबी गर्दै आएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा समेत बुटवल उपमहानगरको मेयरका उम्मेदवार बनेका पाण्डेय नेकपा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका थिए ।

साधारण जीवनशैली र मिजासिलो व्यवहारका लागि विपक्षी दलका नेता–कार्यकर्ताबाट समेत प्रशंसित उनी बुटवल उपमहानगरको प्रमुखमा यसपटक फराकिलो मतसहित मेयर बन्न सफल भएका हुन् । उनी २०७४ सालमा चुनाव हारे पनि दैनिक जनताको घरदैलोमा जाने गरेका थिए । सरल, इमानदारको छवि बनाएका उनी बुटवलमा घर र गाडी नभएका नेता भनेर पनि चिनिन्छन् ।

उपप्रमुखमा निर्वाचित सावित्रा अर्याल को हुन् ?

बुटवल वडा नम्बर ३, लक्ष्मी नगर बस्ने सावित्रा अर्याल विभिन्न संघ संस्थामा आवद्ध रहँदै आएकी छन् । एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएर जितेकी अर्याल २५ वर्षपछि वडा सदस्य चुनिएकी थिइन् । उनी २५ वर्षमा वडा सदस्यबाट उपप्रमुखको कुर्सीमा पुगेकी हुन् ।

उनी २०५४ सालमा भएको निर्वाचनमा तत्कालीन बुटवल–६, लक्ष्मीनगरबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

अर्याल एमालेको केन्द्रीय सदस्य हुन् । सामाजिक क्षेत्रमा लागेकी उनकै पहलमा बुटवलमा साधना महिला विद्यालय स्थापना भएको थियो । महिलाहरूले चलाएको सामुदायिक रेडियो मुक्तिकी उनी पूर्वअध्यक्ष पनि हुन् । अघिल्लो स्थानीय निर्वाचनमा पनि उपप्रमुखको उम्मेदवारका रुपमा उनको नाम चर्चामा थियो तर अन्तिम समयमा पार्टीले  गोमा आचार्यलाई टिकट दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप