मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति

शनिबार, ०७ जेठ २०७९, २२ : ०७
शनिबार, ०७ जेठ २०७९

भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए । 

ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले नयाँ विकल्पको रूपमा नयाँ कलेज चलाउने योजना रहेको बताए । हाल सात वटा कलेज सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ । विश्वविद्यालयको अनुमति दिए चिकित्सा शास्त्र (एमबिबिएस) अध्यापन गराउने कलेज सञ्चालन गर्ने योजना रहेको प्रजापतिले बताए ।

सोही अवसरमा उनले सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको जनाए । आफूसहित उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रूपमा कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमा स्थलगत निरीक्षण गरेको उनले स्मरण गरे । सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गरेर खानेपानीको दीर्घकालीन समस्या समाधान गरिदिने बताए । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप