बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

शनिबार, ०७ जेठ २०७९, २० : २८
शनिबार, ०७ जेठ २०७९

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् । 

धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पूरै खेल्दा ८४ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु रिजालले ३१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । 

डीसीएलाई सस्तैमा समेट्न महेन्द्रनगरका राहुल भण्डारीले चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिए । हेमन्त धामीले दुई विकेट लिए । 

त्यसअघि धनगढी क्रिकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर ११३ रनमै समेटिएको थियो । उसका लागि आयुष्मान बमले २५ र हेमन्त धामीले २२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन । बलिङतर्फ हेमन्तले चार ओभर बलिङ गर्दै एक मेडन ओभरसहित १८ रन खर्चिएर महत्वपूर्ण छ विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ राहुल भण्डारी चुनिए । आजै भएको दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई १५ रनले पराजित ग¥यो । 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावर क्रिकेट क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । एक सय ८० रन पछ्याउँदै जवाफी ब्याटिङ थालेको कैलाली जिल्ला क्रिकेट क्लबले नौ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक टमाटाले ४१ र दिनेश ओडले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ लिटल फ्लावरका दीपक बोहराले चार ओभर बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक चार विकेट लिए । उसका कौशल रुपाखेतीले दुई विकेट लिए । त्यसअघि लिटल फ्लावरका लागि प्रकाश जैशीले चार छक्का र तीन चौकाको मद्दतले २८ बलमा ४८ र कृष्ण कार्कीले छ चौका तथा एक छक्काको मद्दतले २४ बलमा ४२ रनको अविजितपारी खेले । छ विकेट गुमीसेकेको अवस्थामा उनीहरूले अन्तिम ४१ बलमा ८६ रनको साझेदारी गर्दै टिमलाई सम्मान जनक योगफलतर्फ अघि बढाएका थिए । 

उसका मनिष थापाले २६ र दीपक बोहराले २२ रन बनाए । बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका वीरेन्द्र नाथले दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ प्रकाश जैसी चुनिए । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा प्रतियोगिता यही जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद रु दुई लाख उपविजेताले रु एक लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्स म्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप