बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरका मतदाताले मानेनन् गठबन्धन, विगतभन्दा खुम्चिए साझेदार

शनिबार, ०७ जेठ २०७९, २० : १८
शनिबार, ०७ जेठ २०७९

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको अन्तिम परिणाम आइसकेको छ । मत परिणामको अवस्था हेर्दा सत्तारुढ ५ दलले आपसमा गठबन्धन गरे पनि जनताले त्यसलाई स्वीकारेको देखिएन ।

विराटनगर महानगरमा नेपाली काँग्रेसले एक्लै लड्ने भनेर घोषणा गरिरहँदा देशभरका महानगर र उपमहानगरमा गठबन्धन गर्ने भनेर केन्द्रबाटै नेताहरुले सहमति गरेका थिए । नेताहरुको सहमति अनुसारकै प्यानल निर्माण भए पनि जनताले मतपत्रमा भने आ–आफ्ना पार्टीका उम्मेदवारलाई नै मत दिएको देखिएको छ । जसले गर्दा विराटनगर महानगरको हकमा गठबन्धन सफल हुन नसकेको हो ।

प्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नागेश कोइरालाले प्रतिस्पर्धी एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतको फराकिलो अन्तरले पराजित गरे । गठबन्धन दलकै उपप्रमुख जसपाका अमरेन्द्र यादवलाई एमालेकी शिल्पा कार्कीले त्योभन्दा फराकिलो अर्थात् ११ हजार ४६१ मतले पराजित गरिन् ।

मतपरिणाम अनुसार महानगर प्रमुखमा कोइरालाले ३० हजार १७० मत ल्याउँदा थापाले २१ हजार ४५५ मतमात्रै ल्याए । यस्तै उपप्रमुखमा कार्कीले २५ हजार ६८० मत पाउँदा यादवले १४ हजार २१९ मतमात्रै पाए । गठबन्धन दलहरुले वडामा तालमेल गर्न नसक्दा प्रमुख र उपप्रमुखमा बागी उम्मेदवारको सामना गर्नुपर्‍यो । त्यतिमात्रै होइन, यसअघि वडामा उल्लेख्य सिट जितेको नेपाली काँग्रेस, जनता समाजवादी पार्टी अहिले आधाभन्दा कम सिटमा खुम्चिनुपर्‍यो भने र एक वडा जितेको माओवादी केन्द्रले एउटा सदस्य पनि जित्न सकेन ।

त्यसको फाइदा नेकपा एमालेले लियो । अघिल्लो निर्वाचनमा ३ वटा वडा जितेको एमालेले यस पटक एक्लै ९ वटा वडामा जित निकाल्न सफल भयो । एमालेले वडा नम्बर १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बरमा जितेको छ ।

यस्तै यसअघि ७ वडा जितेको काँग्रेस भने यसपटक ५, ६, ७, ९, १५ र १६ गरी ६ वटा वडामा खुम्चियो । यसअघि ६ वडा जितेको जसपा भने २ वटा वडा १२ र १७ नम्बरमा खुम्चियो । यसपटक राप्रपाले १३ नम्बर वडा जितेको छ भने १८ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जनताले म्यान्डेट दिएनन् : कोइराला

गठबन्धन दलले उल्लेख्य परिणाम ल्याउन नसक्नुको खास कारण के हो भन्ने विषयमा ती दलका नेताहरुको आ–आफ्नै तर्क छ । नेपाली काँग्रेसबाट विराटनगर महानगर प्रमुखमा जितेका कोइराला भने गठबन्धनलाई जनताले म्यान्डेट नै नदिएको बताउँछन् । ‘यो पार्टीको चुनाव होइन । गठबन्धन पार्टीको बीचमा भएको हो । जनताको बीचमा गठबन्धन भएको होइन । जनता जनार्दन हो । जनताले जे निर्णय गर्छन्, त्यही सही हो,’ उनले भने, ‘जनताले म्यान्डेट दिएनन् भन्ने बुझ्नु पर्‍यो ।’

यद्यपि, गठबन्धनमा आवद्ध भएका नाताले आफूहरुले गर्नुपर्ने सबै काम गरेको उनले बताए । ‘हामीले छलकपट गरेका होइनौं,’ उनले भने, ‘स्थानीयस्तरमा जनताले व्यक्ति रुचाएनन् होला, पार्टी रुचाएनन् होला ।’

जनता समाजवादी पार्टीका नेता जयराम यादवको तर्क भने अलिक फरक छ । उनले गठबन्धनमा आबद्ध दलहरु नै इमानदार नभएको तर्क गरे । ‘गठबन्धनको सवालमा महानगरपालिकाभित्र हाम्रो गठबन्धनमा आवद्ध दलहरु इमानदार देखिएनन् । माओवादी केन्द्रले नमिता न्यौपानेलाई आन्तरिक सहमति दिएर उठाएको देखियो, माओवादीको प्रदेश समितिले कारबाही गरेर निकालेको विज्ञप्तिमा उनलाई कारबाही गरेको देखिएन,’ यादवले भने, ‘अनि नेताहरु १÷२ जना बाहेक सबैले सामाजिक सञ्जालमा न्यौपानेलाई नै समर्थन गरेको देखियो ।’

काँग्रेसले पनि गठबन्धनबाट उपप्रमुखका उम्मेदवारलाई भोट नमागेको देखिएको उनले बताए । ‘काँग्रेसलाई दक्षिणी बेल्टबाट जति हामीले मेयरमा मद्दत गर्‍यौं, माथिल्लो बेल्टबाट उपमेयरमा धेरै मतदान गरेको देखिएन,’ यादवले भने, ‘अहिले पनि धेरै कट्टरपन्थी काँग्रेसीहरुले छाता चिन्हलाई साम्प्रदायिक हिसावले लिए । जो बुझ्दथे, उनीहरुले छातामा मत हाले तर जसलाई मन परेको थिएन, उनीहरुले मसालकै रुपमा छातालाई लिए ।’ नेताहरु बीचमा भएको सहमति जनताले अनुमोदन नगरेको उनले प्रस्ट पारे ।

माओवादी केन्द्र विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादव भने आफूहरुले आफ्ना समर्थकलाई गठबन्धनबारे जानकारी दिए पनि अन्तै बुद्धि लगाएको बताउँछन् । ‘हामीले गठबन्धन भएअनुसार मत हाल्नु भनेका थियौं । जनताले आफ्नो बुद्धि लगाए होला,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप