शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अल्मुताइरीको इगो कि इमोसन ?

विवादै विवादबीच कस्तो होला नेपाली फुटबल टोलीको भविष्य ?
शनिबार, ०७ जेठ २०७९, १९ : ५७
शनिबार, ०७ जेठ २०७९

नेपाली फुटबलले कतारबाट पारिश्रमिक दिने गरेर प्रशिक्षक भित्र्यायो । उनी थिए अब्दुल्लाह अल्मुताइरी । पहिलो पटक कुनै राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिकामा आएका अल्मुताइरीले दक्षिण एसियाली राष्ट्रको नेपाली टोलीको सबै जिम्मेवारी पाए । 

अल्मुताइरी पहिलेदेखि नै टिमको म्यानेजर र मुख्य प्रशिक्षक दुवै भूमिकामा देखिन चाहन्थे । तर, नेपाली फुटबलमा मुख्य प्रशिक्षक र टिम म्यानेजर बेग्लै पाटो हो । अल्मुताइरीलाई नेपालले मौखिक रूपमा दुवै जिम्मेवारी दिएको थियो । 

भर्खरै मात्र खेलाडीहरूले एन्फामा टिम म्यानेजर मधुसूदन उपाध्यायलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको म्यानेजरको संज्ञा दिएका थिए । अल्मुताइरीको बेला–बेला आइरहने विवादले पनि यही रूप देखाउँछ । 

अल्मुताइरी फेसबुकमा धेरै चिप्ला कुरा घस्छन् । त्यसैमा नेपाली समर्थकहरू लोभिन्छन् । समर्थकहरूको अपार माया पाएका अल्मुताइरीले नेपाली फुटबल हाँक्ने सपना बोक्छन् । त्यसै अनुसार सुरु हुन्छ अल्मुताइरीको इगो । 

अल्मुताइरीको पहिलो विवाद 

अल्मुताइरीको विषयमा कुरा गर्न एक अनलाईन पोर्टल एन्फा कम्प्लेक्स पुग्छ । अल्मुताइरीले धूम्रपान सेवन गरेको देख्दा पत्रकारले क्यामेरा तेर्साउँछन् । उक्त पत्रकारलाई अपशब्द प्रयोग गर्दछन् । 

त्यसपछि उक्त अनलाइनले समाचार बनाउँछ । समाचारको विषयमा जानकारी पाएपछि उनको इगो बढ्दै जान्छ । त्यसपछि एक दिन उक्त पत्रकार एन्फाका वरिष्ठ उपाध्यक्षसँगै देखिन्छन् । 

उक्त समयमा अल्मुताइरीको इगोले ठाउँ नै छोड्छ । समर्थकहरूको अपार मायाको फाइदा उठाउन थाल्छन् अल्मुताइरी । उनी आफ्नो फेसबुकमा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्बाङले तीन सिता देखि काम गर्न वातावरण नदिएको भन्दै एन्फामा राजीनामा दिन जान्छु भन्छन् । 

त्यसपछि अल्मुताइरी एन्फा त पुग्छन् तर राजीनामा भने दिँदैनन् । विवाद चर्किँदै जान्छ । एन्फा कार्यसमितिले विवाद समाधान गर्न नसक्दा खेलकुद मन्त्रालयमा पुग्छ विवाद ।

खेलकुद मन्त्रालयले उनलाई दोषी देखाउँदै फेसबुकमा राखेको स्ट्याटस डिलिट गर्न निर्देशन दिन्छ । त्यसपछि अल्मुताइरीको इगो त्यही नष्ट हुन्छ । 

दोस्रो विवाद 

अल्मुताइरीले नेपाली टोली एएफसी एसियन कप छनोटअन्तर्गत तयारी गरिरहेको समयमा पत्रकार सम्मेलनको आयोजना गरे । त्यसै समयमा नेपाली टोलीको तयारीका विषयमा पनि बताए । 

हरेक पटक नेपाली खेलाडीहरूमा कन्फिडेन्स बढाउने आफू नै हो भन्ने अल्मुताइरीले यो पटक भने त्यस्तै देखाएनन् । पत्रकार सम्मेलनमा नै नेपाली टोली एसियन कप छनोट नहुने बताए । कुरा वास्तविक हो । तर, छनोट खेल खेल्नुअघि नै खेलाडीहरूको मानसिकता कस्तो होला भन्ने कुरामा फरक पर्छ । 

जस्तो एउटा शिक्षकले आफूले विद्यार्थीहरुलाई राम्रो पढाउँछु भन्नु सँगसँगै आफूले पढाएको विद्यार्थीहरु परीक्षामा पास हुँदैनन् भन्नु जस्तै हातै हो । त्यो समय अल्मुताइरीको आलोचना भयो । कतिपय उनका समर्थकहरूले वास्तविकता नै देखाएको भन्दै समर्थन पनि गरे । 

त्यसैको आलोचनाको पछिल्लो दिन अल्मुताइरीले आफ्नो इगो खेल पत्रकारहरूसँग भेटे । पत्रकार सम्मेलनमा दुई चरण गरेर खेलाडी बोलाए । त्यसपछि १० मिनेटको समय दिए । 

आफैले खेलाडीहरुसँग बसेर परिचय गाउँदै बोल्न लगाए । पहिलो चरणको १० मिनेट सकिँदा नै खेलाडीहरूले खाना खान जानुपर्छ भन्दै खेलाडीलाई बाहिर बोलाए । 

तेस्रो विवाद 

यो विवादको समयमा भने अल्मुताइरी आफैले खनेको खाल्डोमा पुरिएजस्तै भयो । खेलाडीहरूले आफ्नो  आधारभूत आवश्यक्ताको विषयमा कुरा उठाउँदा पनि उनी जङ्गिए । कुरा खेलाडीहरू होटेल या होस्टेल बस्ने भन्ने विषयको थियो । जुन अल्मुताइरीको कार्यक्षेत्र बाहिरको कुरा हो । 

एन्फा र राष्ट्रिय टोलीका टिम म्यानेजरले सोध्ने विषयमा अल्मुताइरी आफैअघि सरे । सबै खेलाडीलाई एक ठाउँदा बोलाउँदा होटल बस्न चाहाने कोही छ भनेर सोधे । त्यसपछि उपकप्तान रोहित चन्दले हात उठाए । 

सोही समयमा उनी रोहितसँग जङ्गिए । यति मात्र होइन उनले रोहितलाई टिमबाट नै निकाल्न भ्याए । रोहितले आफ्नो आधारभूत आवश्यक्ताको विषयमा कुरा उठाएको मनन गर्दै अन्य ९ जना खेलाडीले पनि विरोध गरे । 

त्यसपछि अल्मुताइरीको इगो बढ्दै जान्छ । उनले बारम्बार खेलाडीहरूलाई क्याम्प छोड्न बाध्य बनाउँछन् । खेलाडीहरूलाई क्याम्प छोड्न लगाउँदा नत फुटबल म्यानेजरलाई जानकारी दिन्छन् । नत कुनै एन्फा पदाधिकारीलाई । 

खेलाडीहरू क्याम्प छोडेको भोलिपल्ट नै उनले एन्फालाई नयाँ १७ जना खेलाडीको नाम सिफारिस गर्छन् । त्यसपछि खेलाडीहरू बोलाएर प्रशिक्षण थाल्दछन् । खेलाडीहरूले क्याम्प छोडेको विषय सबैलाई थाहा भइसकेपछि खेलाडीहरूलाई दोष देखाइन्छ । तर, अल्मुताइरीको इमोसन पछिको इगो कसैले देख्दैनन् । 

चौथो विवाद 

शुक्रबार अल्मुताइरीले एसियन कप छनोटका लागि अन्तिम टोली सार्वजनिक गरे । त्यसमा नत उनले क्याम्प छोड्न बाध्य बनाएका खेलाडीहरू परे नत राष्ट्रिय टोलीका कप्तान नै । कप्तान र उपकप्तानलाई हटाउँदै उनले राष्ट्रिय टोली तयार पारे । 

टिममा उत्कृष्ट प्रदर्शन गर्ने र सिनियर खेलाडी छैनन् । अल्मुताइरीविरुद्धमा लेखेको इगोको कारण नै उनले कप्तान किरण चेम्जोङलाई टिममा राखेनन् । यता आफूसँग विवादमा रहेका खेलाडीहरूलाई पनि वास्ता गरेनन् । 

यो, पटक भने अल्मुताइरीले सबैको समर्थन पाउन सकेनन् । उनको आलोचना चौतर्फी छ । उसो त अल्मुताइरीले यसअघि नै नेपाल एसियन कप छनोट हुन सक्दैन भनिसकेका छन् । त्यसैले पनि उनले यस्तो टोली तयार पारेका होलान् । 

तर, उनको इगोले नै नेपाली टोली कमजोर बन्नु र फुटबलमा नेपाल एक कदम पछि हट्नु पनि हो । 

हालसम्म नेपालको मात्र राष्ट्रिय टोली सम्हालेका अल्मुताइरीको ‘वन टिम, जय नेपाल’को नाराले समर्थकको माया बेस्सरी बर्सेर्ला तर, नेपाली फुटबल जहाँको त्यहीँ रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप