बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षपछि एमालेको लाल किल्ला भत्काउन यसरी सफल भए खेलराज

शनिबार, ०७ जेठ २०७९, १८ : २६
शनिबार, ०७ जेठ २०७९

 नेकपा एमालेको इतिहासमा बुटवलले धेरै प्रभावशाली नेता उत्पादन गरेको छ । एमाले पार्टीको लुम्बिनी प्रदेश कार्यालय पनि बुटवलमै छ । एमालेका कार्यकर्ताहरुको भनाइमा बुटवलमा २०५४ यता नेकपा एमालेको एकछत्र ‘राज’ चलेको ठाउँ हो । उनीहरु बुटवललाई गर्वका साथ आफ्नो ‘लाल किल्ला’ भन्ने गर्दछन् ।

२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि एमालेले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसलाई ‘क्लिन स्वीप’ गरेर बुटवललाई एमालेको गढ साबित गरेको थियो । तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको त्यो इतिहास उल्टिएको छ ।

अहिले नेपाली काँग्रेसका खेलराज पाण्डेय बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । यतिमात्र होइन, बुटवलका अधिकांश वडा पनि नेपाली काँग्रेसले जितेको छ । आगामी पाँच वर्षका लागि बुटवल उपमहानगरले काँग्रेसको नेतृत्व पाएको छ । यसअघि २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा साविकको बुटवल नगरपालिकामा नेपाली काँग्रेसका सूर्य प्रसाद प्रधान मेयरमा निर्वाचित भएका थिए । त्यस यता यो स्थानीय तहमा काँग्रेसले नेतृत्व पाउन सकेको थिएन ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ सचिव विमलराज भट्टराईका अनुसार पार्टीमा वर्षौंदेखिको लगाव र बुटवलका हरेक घरका व्यक्तिसँग सम्पर्क भएको कारणले खेलराज पाण्डेयले यहाँ नेपाली काँग्रेसको पुनरागमन गराएको बताउँछन् ।

विगतको लडाई 

बुटवल २०४९ सालसम्म नेपाली काँग्रेसको गढको रुपमा चिनिएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा यहाँ काँग्रेसले जितेको थियो तर, २०५४ सालमा एमालेका भोजप्रसाद श्रेष्ठले नेपाली काँग्रेसका सूर्य प्रसाद प्रधानलाई हराएर मेयरमा निर्वाचित भए । २०५६ को संसदीय निर्वाचनमा यो क्षेत्रबाट काँग्रेसले जिते पनि २०६४ मा भएको संविधानसभा निर्वाचनमा एमालेका विष्णुु पौडेल निर्वाचित भएका थिए । २०७० सालमा दोस्रो संविधानसभा चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत एमालेका पौडेलले पराजित गरेपछि बुटवल एमालेकै ‘किल्ला’ का रुपमा प्रमाणित भयो ।

अझै २०७४ सालमा काँग्रेस–माओवादीको गठबन्धनलाई जितेर एमालेले प्रमुख र उपप्रमुखसहित १६ वटा वडा जितेको थियो ।

एमाले हार्नुका यस्ता छन् कारण

लामो समयपछि बुटवललाई नेकपा एमालेले गुमाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले भने एमालेलाई फेरि ३० वर्ष पछाडिको अवस्थामा धकेलेको छ । उपमहानगरपालिकाका १९ मध्ये जम्मा ४ वटा वडामा मात्र एमाले खुम्चिएको छ । एमालेको जनाधार यसरी खुम्चिनुका कारणबारे एमालेकै कार्यकर्ताहरु विभिन्न कारणलाई औंल्याइरहेका छन् ।

बुटवलबाट राजधानी सार्ने निर्णय, बुटवलको सडक निर्माणमा भएको ढिलाईले जनतालाई सास्ती दिने, चुनाव जितेपछि एमालेका नेताहरु अहंकारी बन्दै जनताका कामलाई ध्यान नदिनुजस्ता कारण यस पटक बुटवलमा एमाले पराजित भएको एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टीका क्षेत्र नम्बर २ का संयोजक बाबुराम पन्थीले रातोपाटीलाई बताए ।

उनका अनुसार एमाले नेतृत्वमा बनेको दुई तिहाई बहुमतको सरकारलाई पूर्ण कार्यकाल चलाउन नसक्नु, बुटवलका विभिन्न परियोजना सम्पन्न हुन नसक्नु, मुख्य राजमार्गको बेहाल, सुकुुमवासी बस्तीको समस्या समाधानमा उदासीन जस्ता कारणले एमालेको लोकप्रियता घटेको हो ।

यस अतिरिक्त खानेपानी समस्या, फोहोर व्यवस्थापन तथा तिनाउ दानव करिडोरका नाममा नागरिक विस्थापित गराउन खोजेको आरोप पनि एमालेमाथि लागेको छ । नेकपा एमाले विभाजनको प्रभाव बुटवलमा अधिक परेको छ । एमाले छाडेर एकीकृत समाजवादीमा राजु गुरुङ्ग, डा बालकृष्ण चापाँगाई, सरिता श्रीस लगायत नेताहरु लागेपछि यहाँ एमाले कमजोर बन्न पुगेको हो ।

बुटवलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोको बलमा काँग्रेसले ३० वर्षअघिको साख फर्काएको हो । यद्यपि सत्तारुढ गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार भने पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप