शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

शनिबार, ०७ जेठ २०७९, १६ : १८
शनिबार, ०७ जेठ २०७९

दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादीकेन्द्र  तेस्रो  हुन पुगेको छ । दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणमअनुसार काँग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५  वडाध्यक्षमा विजयी भएको छ । 

त्यसैगरी दुई पालिकका प्रमुख, पाँच उपप्रमुख र २३ वडाध्यक्षमा एमाले तथा तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडाध्यक्षमा माओवादी विजयी भएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष जितेको छ भने दुई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

जिरी र भिमेश्वर नगरपालिकामा मिश्रित परिणाम आएको छ । जिरी नगरपालिकाको प्रमुख–उपप्रमुख र दुई वडाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् भने अन्य वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । उक्त नगरको कार्यपालिकामा भने गठबन्धनको बहुमत छ । त्यस्तै भिमेश्वर नगरपालिकाको प्रमुखमा काँग्रेस र  उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।  

कांग्रेसले वैतेश्वर र  कालिञ्चोक गाउँपालिका तथा भिमेश्वर नगरपलिकामा प्रमुखका साथै  तामाकोशी  र गौरीशङ्कर गाउँपालिकामा उपप्रमुख जितेको छ । एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भिमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले शैलुङ, गौरीशङ्कर र बिगु गाउँपालिकामा प्रमुख जितेको छ भने कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा  प्रमुख जितेको छ । 

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा गठबन्धनको स्पष्ट बहुमत छ । अठार पालिका प्रमुख–उपप्रमुखमध्ये सात जनामात्र एमालेका छन् भने ११ गठबन्धनको पक्षमा छन् । चौहत्तर वडामध्ये एमालेले २४ वडामा मात्र जितेको छ । गठबन्धनले ४८ र स्वतन्त्रले दुई वडामा जितेको छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा बलियो देखिएको एमाले यसपटक कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा एमाले एक्लैले दोलखामा पाँच गाउँपालिका र दुई नगरपालिका गरी सात स्थानीय तह जितेकामा अहिले दुई स्थानीय तहमा मात्र जित्न सफल भएको छ । गत निर्वाचनमा जिल्लाको दुई पालिका उपप्रमुख जितेको नेकपा (माओवादी केन्द्र)ले यस निर्वाचनमा तीन गाउँपालिका प्रमुख र एक उपप्रमुखसहित २१ वडामा जित्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप