मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा गठबन्धनले काँग्रेसलाई फलिफाप, एमालेलाई धक्का

ओलीले सम्बोधन गरेको ठाउँमा एमाले शून्य
शनिबार, ०७ जेठ २०७९, १५ : १५
शनिबार, ०७ जेठ २०७९

 नेकपा (एमालेले) गत फागुन १४ र १५ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भनेको थिए,‘ स्थानीय तहको निर्वाचन भनेको आन्दोलन हो। नेताहरू आरोप–प्रत्यारोप भन्दा पनि तथ्यमा रहेर चुनावको तयारी गर्नुहोस्..! अनि मात्र विजयी प्राप्त गर्न सकिन्छ ।’ तर कर्णालीका एमालेका नेताहरूले एमालेको प्रतिस्पर्धी काँग्रेस बाहेक अरू कुनै राजनीतिक दल नभएकोले एमाले नै पहिलो शक्ति बन्ने दाबी गरिरहे । 

एमालेका प्रदेश स्तरीय नेताहरूले कर्णालीमा एमाले विभाजनको कुनै असर नपरेको दाबी गरेका थिए । एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह र प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाहले एमाले विभाजनको असर ‘ग्राउण्ड लेभलमा’ पुग्दा शून्य प्रतिशत  नपरेको बताउने गरेका थिए । स्थानीय तह ०७९ को निर्वाचनमा भने एमालेका नेताहरूको दाबी भन्दा ठिक उल्टो नतिजा आएको छ ।

प्रदेश अध्यक्ष शाहले आफ्नै गृह नगर ठाटीकाँधमा आफ्नै श्रीमतीलाई अध्यक्षको उम्मेदवार बनाएका थिए । तर अध्यक्षमा मात्र होइन उनको वडामा समेत एमालेले जित्न सकेन । सह–इञ्चार्ज शाहको पनि आफ्नै गृह नगर र वडा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ मा एमाले पराजित भयो । 

बनगाड एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको पनि गृह नगर हो । शाह–ज्वालाबीच पार्टी विभाजनपछि तिक्तता कायमै छ ।  दुई नेताबीच आरोप–प्रत्यारोपको शृङ्खला प्रदेश सरकारमा देखिएको राजनीति परिवर्तन देखिनै हो । तर दुवै नेताले पार्टी फुटको असरका कारण आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन् । 

शाही र ज्वालाको जिल्ला सल्यानमा मात्र होइन कर्णालीका सुर्खेत बाहेकका अन्य जिल्लामा एमालेले आफ्नो वर्चश्वलाई कायम गर्न सकेन । 

०७४ सालको निर्वाचनमा एमालेले २७, माओवादी र काँग्रेसले २५/२५ र दुईवटा पालिकामा स्वतन्त्रले नेतृत्व पाएका थिए । यद्यपि यो पटकको निर्वाचनमा दलहरूको शक्ति सन्तुलनमा पूर्ण रूपमा फेरबदल आएको छ । 

पहिलो शक्ति बनेको एमाले यो पटकको निर्वाचनमा तेस्रो स्थानमा थन्किनु परेको छ । माओवादीले आफूलाई दोस्रो शक्तिको रूपमा सोही स्थानमा कायम राख्न सफल भएको छ । यसअघि तेस्रो बनेको काँग्रेस भने यो पटक पहिलो राजनीतिक शक्तिको रूपमा उदाएको छ । कर्णालीका सबै स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ । जसमा  काँग्रेसले ३२ पालिकाको नेतृत्व पाएको छ भने माओवादी केन्द्रले २३ पालिकाको नेतृत्व पाएको छ । एमालेले भने जम्मा १५ पालिकामा उपस्थिति जनाएको छ । यो पटक माओवादीले दुई वटा पालिका गुमाउनुपर्‍यो भने एमालेले १२ वटा पालिका गुमाउनुपरेको छ । यस्तै एमाले विभाजनपछि जन्मेको समाजवादीले चार वटामा विजयी प्राप्त गरेको छ भने पाँच वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।  

एमाले विभाजनको असर कति ? 

एमाले विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेका नेताहरूले विभाजनको असर नपर्ने दाबी गर्दै आएका थिए । तर निर्वाचनको नतिजाले विभाजनको असर परेको देखाएको छ । समाजवादीले विजयी प्राप्त गरेका चार पालिका मध्ये डोल्पाका दुई पालिकामा निर्विरोध भएका थिए । बाँकी दुई वटामा निर्वाचनमार्फत समाजवादीका उम्मेदवार विजयी भएका हुन् । 

निर्वाचनको माध्यमबाट विजयी भएका जनप्रतिनिधिहरू गठबन्धनको बलमा जितेका देखिन्छ भने कालिकोटको खाँडाचक्र नगरपालिकामा समाजवादीकै नेता कमल शाहीले स्वतन्त्रबाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका जसी प्रसाद पाण्डेलाई पराजित गरे । पाण्डे निवर्तमान  मेयर हुन् । 

निर्वाचित शाही भन्छन्,‘ गठबन्धनमा तालमेल गर्दा हाम्रो पार्टीबाट उम्मेदवारी पाउने सम्भावना न्युन भएपछि नेताहरुकै सर–सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ । म आफ्नै पार्टी (एस)को नीति, निर्देशन अनुसार नै अघि बढ्छु नै ।’ एमालेले ०७४ मा जितेको जाजरकोटको भेरी नगरपालिका बाहेक अन्य पालिकामा जित्न सकेन । एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह भन्छन्,‘ एमाले पराजित हुनुको मुख्य कारण नै पार्टी फुटको असर र पार्टीभित्रैको अन्तर्घात हो । हाम्रो पार्टीभित्रकै नेताहरूले उम्मेदवारलाई हराउन कूटनीतिक रणनीति चालेको देखियो । अर्को कुरा अन्य दलहरू एकजुट र एमाले एक्लो भएर पनि हामी पछि परेको हो ।’ 

शाहले ०७४ मा जितेका पालिकामा यो पटक पराजित हुनुको मुख्य कारण नै निर्वाचित जनप्रतिनिधिहरूले राम्रो काम गर्न नसकेको पुष्टि गरे । ‘जनतामा उनीहरूप्रति एक किसिमको ‘फ्रस्ट्रेसन’ रहेछ । जसका कारण तीँ पालिकाहरू गुमाउनुपर्ने स्थिति आयो,’ उनले भने । दैलेखमा एमालेले ०७४ मा जितेका आठबीस र नारायण नगरपालिका बाहेक सबै पालिका गुमाएको छ । ०७४ मा हुम्लामा १, मुगुमा १, जुम्लामा १, कालीकोटमा ३ पालिका जितेको थियो । यो पटक एमालेले सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका ३ र सल्यानका २ पालिकामा बाहेक कुनै पनि जिल्लाका पालिकामा आफ्नो स्थान ओगट्न सकेन  । 

ओलीले सम्बोधन गरेको कर्णालीका स्थानमा एमाले शून्य

गत चैत्र २७ गते एमाले अध्यक्ष केपी ओलीले एकै दिन दैलेखको दुल्लु, जुम्लाको सिंजा र कालिकोटमा एमालेको चुनावी सभालाई सम्बोधन गरेका थिए । ओली उपस्थित सभामा मान्छेको उपस्थिति बाक्लो थियो । ओलीले त्यही भीडलाई देखाउँदै जनताको एमालेप्रतिको आकर्षण भनेर सामाजिक सञ्जालमा निकै प्रचार गरिएको थियो । ओलीले एमालेप्रतिको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको भन्दै व्यङ्गे समेत गर्न भ्याएका थिए । यति मात्र भनेका थिएन, ओलीले सिंजाको विकार र दुल्लुलाई स्मार्ट सिटी बनाउने जिम्मा समेत लिएका थिए । तर नतिजामा भने ठिक उल्टो भयो । ओलीले जहाँ, जहाँ पुगेर भाषण गरेका थिए । त्यही नै एमाले शून्य भएको छ । ओलीले सम्बोधन गरेको दैलेखको दुल्लु नगरपालिकामा एमालेका रुद्र शाही पराजित भएका छन् । कालिकोट र जुम्लामा एमालेले कुनै पनि कालिकामा जित्न सकेन ।

गठबन्धनले माओवादीलाई घाटा

सत्तारुढ गठबन्धनले कर्णालीमा काँग्रेसलाई फलिफाप भए पनि माओवादीलाई भने घाटा भएको निष्कर्ष छ । रुकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरकोटको १, हुम्लाका ३, कालिकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व  यो पटक पाएको छ । यद्यपि आफ्नै आधार इलाका मानिने रुकुम पश्चिममा काँग्रेसका कारण दुई पालिका गुमाएको छ । ०७४मा रुकुमका ६ वटै पालिकामा वर्चश्व जमाएको माओवादीले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका गुमाएको छ । बाँफिकोटमा काँग्रेस जनककुमार बाँठाले चार हजार ४५५ मत ल्याएर विजयी भएका छन् ।  माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले चार हजार ४२४ मत मात्र प्राप्त गरे । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भए । केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् । यहाँ काँग्रेसले गठबन्धनको निर्णय विपरीत एमालेसँग तालमेल गरेको थियो । 

यस्तै गठबन्धनले गर्दा अन्य जिल्लाका केही पालिकाहरूमा पनि घाटा भएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् । उनले भनिन,‘गठबन्धनमा काँग्रेसीहरूले इमान्दारिता देखाएनन् । माओवादीकाले इमान्दारितापूर्वक भोट काँग्रेसका उम्मेदवारलाई दिने, तर काँग्रेसकाले माओवादीका उम्मेदवारलाई नदिएको देखिन्छ । यो काँग्रेसको अहम्ता हो ।’ 

केसीले माओवादी एक्लै लडेको खण्डमा ३९ वटा पालिकामा विजयी हुने आङ्कलन गरिएको बताइन् । यद्यपि गठबन्धनका कारण त्यो सम्भव नभएको उनको जिकिर छ । माओवादीले ०७४ मा कुनै पालिका नजितेको सुर्खेतमा १ र दैलेखमा दुई पालिकामा भने जितेको छ ।  दैलेखको नौमुले र भगवतीमा माओवादी र समाजवादीको मात्रै गठबन्धन थियो भने काँग्रेस त्यसको विरुद्धमा उम्मेदवारी दिएको थियो । दैलेखमा माओवादी सांगठनिक रूपमा कमजोर  छ ।

काँग्रेसलाई फलिफाप, कतै आफ्नैबाट अन्तर्घात 

काँग्रेसले रुकुम पश्चिममा २, सुर्खेतका ४, जाजरकोटका ३, हुम्लाका ३, कालिकोटका २, जुम्लाका ५, मुगुका २, डोल्पाको १, सल्यानका र दैलेखमा ५/५ पालिका गरी ३२ पालिकामा नेतृत्व पाएको छ । ०७४ को निर्वाचनमा तेस्रो पोजिशनमा रहेको काँग्रेसलाई कतै गठबन्धनका कारण फलिफाप भएको छ भने कतै आफ्नै पार्टीका नेताहरूका कारण अन्तर्घात भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आफ्नै कारण पराजित हुनुपर्‍यो,’ काँग्रेसका प्रदेश अध्यक्ष ललितजङ्ग शाही भन्छन्,‘ त्यो राम्रो भएन । हाम्रो लक्ष्य भनेको ५० प्रतिशत क्रस गर्ने थियो । तर विभिन्न ठाउँमा पार्टीभित्रबाटै पनि अन्तर्घातका घटनाहरू भए ।’ 

आफ्नै वडामा काँग्रेस पराजय भएको बताउँदै शाहीले लोकतन्त्रका यो स्वाभाविक भएको बताए । पहिलो दल बनेकोमा  हामी खुसी छौँ,’उनी भन्छन् । 

स्वतन्त्रको चुनौती

०७४ मा प्रदेशभर दुई पालिकामा मात्रै स्वतन्त्र उम्मेदवारले जितेका थिए । तर यो पटक पाँच वटा पालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरूले वर्चश्व जमाएका छन् । उनीहरूमध्ये केहीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका हुन भने केही पार्टीकै अगुवाइमा स्वतन्त्र लडेका हुन् । कालिकोटको सान्नित्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार मोहन बहादुर केसीले एक हजार ८१९ मत ल्याएर अध्यक्षमा निर्वाचित बने । माओवादी पार्टीले नपत्याएका उनले स्वतन्त्र लडेर माओवादीकै डम्बरबहादुर शाहीलाई पराजित गरे । माओवादीका शाहीले  एक हजार ३३४ मत पाएका छन् । निर्वाचित केसी भन्छन्,‘ मलाई मेरो पार्टीले पत्याएन । त्यही भएर स्वतन्त्र उम्मेदवारी दिएको हुँ । मैले पार्टीभित्र अन्याय भयो भनेर प्रदेश कमिटीमा मुद्दा हालेको छु । जबसम्म पार्टीले फैसला गर्दैन तबसम्म म स्वतन्त्र हो ।’ 

यता कालिकोटकै खाँडाचक्रमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका कमल शाही भने पार्टीकै नेताहरूको अगुवाइमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।  जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले टिकट नदिएपछि बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायतले काँग्रेसकै उम्मेदवारलाई पराजित  गरे । काँग्रेसकै गढमा उनले स्वतन्त्रबाट जितेका हुन् ।  हुम्लाको चङ्खेली गाउँपालिकामा प्यारीलाल शाही, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा कार्मा छोइवेल गुरुङ पनि स्वतन्त्र बाट अध्यक्षमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप