शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता :  गुमानसिंह अर्याल

शनिबार, ०७ जेठ २०७९, १४ : ४५
शनिबार, ०७ जेठ २०७९

 गुमानसिंह अर्यालले कहिल्यै हार ब्यहोर्नु परेको छैन । बेँसीशहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल भएका छन् । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बन्न सफल भएका हुन् । 
 
पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं २०४३ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए । त्यतिबेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च भएका थिए । विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो । 

सोपश्चात् विसं २०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) ले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली काँग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धी गरेका बराल पराजित भए तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए । 

विसं २०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनःबेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदवार बनायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, हारे । यता काँग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित भए । 

विसं २०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल विसं २०७४ को निर्वाचनमा होमिए । तर, अर्यालले २९७ मतान्तरले पौडेललाई हराए । अर्यालले त्यतिबेला सात हजार ६२४ मत प्राप्त गरेका थिए भने पौडेलले सात हजार ३२७  मत प्राप्त गरेका थिए ।  

सो बेला नेकपा (माओवादी केन्द्र) सँग मिलेर एमाले चुनावमा होमिएको थियो । तर यसपटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले काँग्रेस, गठबन्धको तर्फबाट काँग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै दुई हजार आठको फराकिलो मतान्तरले जित हासिल गरेका छन् । 

    अर्यालले नौ हजार ४७९ मत प्राप्त गरेका छन् भने काँग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गरे । विसं २०३७ देखि कानुन व्यवसायमा लागेका अर्याल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भइसकेका छन् । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहेका उनले  यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटकपटक कमिटीमा बसेर काम गरिसकेका छन् । 
 
अर्याल करिब चार दशकदेखि जनप्रतिनिधमा क्रियाशील रहँदै आएका छन् । उनी  विसं २०४३ देखि हालसम्म भएका पाँच वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढिरहेका छन् । उनले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उनको भनाइ छ । 

‘नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु’, अर्यालले भने । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उनी तर्क गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप