ad
x
अन्तरवार्ता

‘हतारमा लेखिएको सिर्जनाले साहित्यको जग बलियो बनाउँदैन’

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

थोरै तर अत्यन्त गम्भीर भावका कविता लेख्ने कवि हुन् विश्वविमोहन श्रेष्ठ । उनले विसं ०२६ मा तेह्रथुम जिल्ला विकास समितिले प्रकाशन गरेको तीनजुरे साहित्यिक पत्रिकामा पहिलो कविता प्रकाशन गरी नेपाली साहित्य लेखनमा सार्वजनिक भएका हुन् । 


२०१३ वैशाख १६ गते तेह्रथुमको म्याङलुङमा जन्मिएका उनी लेखनमा अझै सक्रिय छन् । ‘विश्वविमोहनका केही कविताहरू’ (०४४), ‘अँगारका धमिला धर्साहरू’ (०६२), म भात जोरुँ कि कविता लेखूँ (२०७०) ‘द हेजी लाइन अफ द कोल’ (अङ्ग्रेजी कविता सङ्ग्रह, सन् २००५), ‘एउटा गन्तव्यको खोजीमा’ (०६२) उनका उल्लेखनीय कृति हुन् । तीनजुरे, सोपान, स्पन्दन, नवरत्न, सिर्जना जस्ता थुप्रै साहित्यिक पत्रिकाको सम्पादनसमेत गरेका उनी साहित्यिक पत्रकार सङ्घको अध्यक्षसमेत भएका थिए । 



उनले ०४४ को राष्ट्रिय युवा वर्ष मोती पुरस्कार, ०४४ मा रत्नश्री स्वर्ण पदक, ०३२ मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा रजत पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् । लहड र कसैको आग्रहमा साहित्य सिर्जना गर्न नसकिने बताउने कवि विश्वविमोहन श्रेष्ठसँग रातोपाटीका लागि शिखर मोहनले साहित्यका विविध पाटाबारे गरेको कुराकानी :



–हिजोआज केमा व्यस्त हुनुहुन्छ ?



आम नागरिकले दैनिकी चलाउन जे गर्छ, त्यस्तै गरिरहेको छु । एउटा नयाँ कविता सङ्ग्रहको तयारी पनि गर्दैछु । मेरा केही पुराना गद्य लेखरचना, केही आख्यान, केही नियात्रा बटुलेर यसलाई पनि एउटा सङ्ग्रहको रूप दिऊँ भनेर लागिरहेको छु । तर पनि त्यो सन्तोषजनक रहेन, तिनलाई पुनर्लेखन गर्ने काम गरिरहेको छु । 



एपेक भन्ने एउटा साहित्यिक संस्थामा आबद्ध छु । यसका माध्यमबाट बाहिरबाट आउने साथीभाइसँग भेटघाट गर्ने, भलाकुसारी गर्ने, स्वदेश र विदेशबाट आएका साहित्यकारहरुसँग अन्तक्र्रियाहरू गराउने लगायत कार्यक्रममा छु । २०५५ फागुनमा स्थापना गरिएको यस संस्थामा भाषा–वाङ्मयसँग सम्बद्ध लेखक, प्रकाशकहरू संलग्न छन् । यिनीहरूको सामूहिक कार्य हुन्छ । यसैबाट काठमाडौँ–तेह्रथुम वसन्त काव्य महोत्सव भर्खरै सम्पन्न गरेका छौँ । 



–धेरै समय साहित्य सिर्जनामा बिताउनुभयो, यस क्षेत्रमा लाग्न तपाईंलाई केले आकर्षित गर्‍यो ?

ठ्याक्कै यसैले भन्ने त छैन । तर म अध्ययन गर्ने विद्यालयमा साहित्यिक, सांस्कृतिक कार्यक्रम हुन्थे, गुरुहरूले साहित्य अध्ययनका लागि दिइएका प्रोत्साहन र प्रेरणाले अन्तरमनमा एउटा छाप बनायो । 

तेह्रथुमबाट २०२७ सालमा जिल्ला विकास समितिबाट तीनजुरे भन्ने पत्रिका प्रकाशनको सुरुवात भयो । त्यसको पहिलो अङ्कमा मेरो पहिलो कविता प्रकाशित भएको थियो । 

तेह्रथुम म्याङ्लुङ बजारमा जयेश्वरमान श्रेष्ठको स्टुडेन्ट सप भन्ने पुस्तक पसल थियो । पूर्वका ठूला र धेरै पुस्तक पाइने पसलमध्येको एउटा थियो त्यो । त्यहाँ धेरै साहित्यिक र अन्य किसिमका पुस्तक, पत्रपत्रिका पाइन्थे । त्यहाँ हामी नियमित रूपमा पढ्ने काम गथ्र्यौं । त्यसले पढ्ने संस्कृतिको विकास गर्यो । त्योबेला तेह्रथुममा नै श्रीकृष्ण पुस्तकालय भन्ने एउटा पुस्तकालय पनि थियो । माथि छक्कलीटारमा पनि त्यो पुस्तकालयको एउटा भवन थियो । तर पाठक, अध्येताहरूका निम्ति सुगम भएन भनेर तल बजारमा तल्लो टोलमा हाम्रै घरअगाडि सारिएको थियो । 

त्यसमा हरेक दिन हामी ३, ४ जनाले स्कुल छुटेपछि आलोपालो गरेर खोल्थ्यौँ । मैले ८ देखि १० कक्षासम्म अध्ययन गर्दा त्यहाँ काम गरेँ । त्यसले गर्दा पनि अध्ययन गर्ने प्रवृत्तिको विकास भयो । त्यो कृष्ण पुस्तकालयले वर्षमा विभिन्न साहित्यकारहरूको जन्मजयन्तीमा कवि गोष्ठीको आयोजना गथ्र्यो । त्यसमा पनि म भाग लिन्थेँ । यसले पनि मलाई अलिकति प्रोत्साहन गर्यो । 

त्यतिखेर तेह्रथुमा गङ्गाप्रसाद ढुङ्गाना भन्ने पुराना कवि हुनुहुन्थ्यो । जगदीशकुमार श्रेष्ठ (जेके सर), तोयनाथ भट्टराई सर हुनुहुन्थ्यो । उहाँको ‘सङ्क्रन्ति’ कविता सङ्ग्रह नै प्रकाशित छ । अहिलेका चर्चित कवि वसन्त श्रेष्ठ, अभि सुवेदी हुनुहुन्थ्यो । उहाँहरू मभन्दा अग्रज पुस्ताका साहित्यकार भए पनि हामी एउटै मञ्चमा बसेर कविता वाचन गथ्र्यौं । 

पहिलेदेखि नै हरेक वर्ष असार ९ गते प्रज्ञाले कविता महोत्सव आयोजना गथ्र्यो । नेपाल प्रज्ञा प्रतिष्ठानले २०३२ सालमा आयोजना गरेको कविता महोत्सवमा मैले पनि भाग लिएको थिएँ । त्यसमा दोस्रो भई पुरस्कृत भएँ । कविता सुनाउन काठमाडौं आउँदा धेरै वरिष्ठ र चर्चित  साहित्यकारहरुसँग प्रत्यक्ष भेटघाट गर्ने, सम्पर्क गर्ने र आशीर्वाद लिने जस्ता क्रियाकलापले पनि थप प्रोत्साहन दियो । 

–धेरै युवाले प्रारम्भमा प्रेम र प्रणय भावका कविता लेख्छन्, तपाईंले कस्ता कविता लेख्नुभयो ?

मैले पनि लेखेँ होला । तर प्रेम र प्रणयमै केन्द्रित भइनँ । म चाहिँ जीवन जगत्को शास्वतता र दृष्टिकोणलाई नै बढी मुखरित गर्नुपर्छ भनेर कविता लेख्छु । 

–त्यतिबेला तेह्रथुम जिल्लाको साहित्यिक परिवेश चाहिँ कस्तो थियो ? 

त्यतिखेर तेह्रथुमको साहित्यिक परिवेश र माहोल एकदमै राम्रो थियो । कुनै पनि लेखक, साहित्यकारको जन्मजयन्ती खाली जाँदैन थियो । अभि सुवेदीहरू हामीभन्दा धेरै अग्रजहरू हुन् । जगतबहादुर केसी सरले सिंहबाहिनीमा पढाउनुहुन्थ्यो । महेश्वरमान श्रेष्ठ, विश्वेश्वरमान श्रेष्ठहरू हुनुहुन्थ्यो । 

मैले २०२८ सालमा सिंहबाहिनीबाटै एसएलसी उत्तीर्ण गरेँ । त्यसपछि उच्च शिक्षा लिन काठमाडौं आएँ । यहाँ आफ्नै काकाका छोराहरू हुनुहुन्थ्यो । मेरो मामा घर पनि यतै पुतलीसडकमा थियो । लक्ष्मणराज जोशी, हरिहरराज जोशी हुनुहुन्थ्यो । उहाँहरूको पनि एउटा पृष्ठभूमि थियो । 

लक्ष्मणराज जोशी धनकुटा जिल्लाबाट पहिलो पटक स्नातक गर्ने व्यक्ति हो । उहाँ थोरबहुत लेख्नु हुन्थ्यो । उहाँले ‘मिस्टर ब्याट्रीप्रसाद’ भन्ने नाटक पनि लेख्नुभएको थियो । लक्ष्मीप्रसाद अमेरिकाबाट फर्केपछि मिस्टर ब्याट्रीप्रसाद भयो । यो एउटा राम्रो व्यङ्ग्य नाटक हो । यसको मञ्चन पनि भएको छ । मेरो कान्छो मामा हरिराज जोशीले बम्बई विश्वविद्यालयबाट अध्ययन गरेर आउनुभयो र धेरै वर्ष धनकुटामा अङ्ग्रेजी अध्यापन गराउनुभयो । उहाँ साहित्य, पत्रकारिता र अनुसन्धानमा राम्रो दक्खल भएको आफ्नो जमानामा नाम चलेको अध्येतामा पर्नुहुन्छ । 

संयोग के भयो भने त्यतिबेला काठमाडौँमा इन्डियन कोअपरेसन मिसन (आईसीएम) भन्ने एउटा संस्था थियो । त्यसले छात्रवृत्ति दिन्थ्यो । एसएलसी दिएर आएका विद्यार्थीलाई लिखित परीक्षा र अन्तरवार्ता लिएर त्यसले छात्रवृत्ति दिन्थ्यो । त्यसमा छनोट भएकाहरूलाई डाक्टर वा इन्जिनियर अध्ययनका लागि भारतका विभिन्न विश्वविद्यालयहरूमा पठाउँथ्यो । म पनि त्यसमा छानिएको थिएँ । भारतको फैजावादमा इन्जिनियरिङ अध्ययन गर्न गएँ । तर त्यहाँ गएको एक महिनापछि म बिरामी परेँ । अनि नेपाल फर्किएँ, फेरि गइनँ । 

अर्को वर्ष धनकुटामै आईए अध्ययन गर्न थालेँ । त्यहाँ दयाराम श्रेष्ठले पढाउनुहुन्थ्यो । अहिलेका साहित्यकार अशेष मल्ल सहपाठी थिए । उहाँहरूसँग पनि सरसङ्गत भयो । त्यहाँको साहित्यिक वातावरण एकदमै राम्रो थियो । त्यसपछि धरान आएर स्नातक तह अध्ययन गरेँ अनि काठमाडौँ आएँ । 

अध्ययन सकेपछि २०३५ सालमा केही समय नेपालगञ्ज बसेँ । त्यहाँ स्थानीय युवा साहित्यकारहरू मिलेर केही गरौँ लाग्यौँ । उर्दु साहित्यमा लेखिने गजल, कविता लेख्ने स्थानीय साहित्यकारहरू त्यहाँ बढी थिए । त्यसमा नेपाली साहित्यलाई पनि प्रवद्र्धन गरौँ भनेर युवा साहित्यिक जमात (युसाज) संस्था गठन गर्यौँ । 

त्यसमा संस्थापक अध्यक्षमा म थिएँ । पूर्णलाल चुके, भगीरथ सिंह, अमर शाह जस्ता राम्रा कथाकारहरू हुनुहुन्थ्यो । उहाँहरूका कथासङ्ग्रह  पनि प्रकाशित छन् । प्रेमप्रकाश मल्ल भन्ने त्यहाँ अग्रज साहित्यकार हुनुहुन्थ्यो । ‘पोखरा त साँच्चै पोखरा नै पो रहेछ’ को प्रसिद्ध गीतकार पनि हो उहाँ । उहाँहरूसँगको अन्तरसम्बन्ध, राजधानीबाट काम विशेषले त्यहाँ पुग्ने साहित्यकार र स्थानीय साहित्यकारसँग भेटघाट, अन्तक्र्रियाहरू गथ्र्यौं ।    त्यहाँबाट नवरत्न साहित्यिक पत्रिका पनि निकाल्यौँ, नौ अङ्कसम्म निस्कियो । त्यसका विभिन्न अङ्कहरू मदन पुरस्कार पुस्तकालय, प्रेस काउन्सिलका पुस्तकालयमा सुरक्षित छन् । 

यसै गरी पत्रकार महासङ्घमा बस्दा अभिनन्दनका क्रमलाई निकै  बढाएका थियौँ । पञ्चायत व्यवस्थाको त्यो समयमा मेलमिलापको नारा लिएर नेपाल फर्किएका विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको विशिष्टताको कदर गर्दै साहित्यिक पत्रकार सङ्घले अभिनन्दनको आयोजना गरेको थियो । त्यसको संयोजक अच्युतरमण अधिकारी अनि सदस्य सचिव म थिएँ । जनस्तरबाट पहिलो पटक नेपाली साहित्यका विशिष्ट साहित्यकारहरूको रथयात्रा र अभिनन्दन पनि गर्यौँ । पहिलोपटक पारसमणि प्रधानलाई कालिङ्पोङबाट ल्याएर, काशीबहादुर श्रेष्ठलाई काशीबाट ल्याएर, काठमाडौँकै सिद्धिचरण श्रेष्ठलाई, सूर्यविक्रम ज्ञवालीलाईलगायत पाँच जनालाई अभिनन्दन गरेका थियौँ । 

त्यतिबेला कविगोष्ठीहरू हुन्थे तर कथाले स्थान पाएको थिएन । कथालाई पनि मञ्च दिनुपर्छ भनेर २०३७ सालमा हामीले पहिलो पटक कथा दिवसको मनाउन सुरु गर्यौँ । ७ दिनसम्म कथा सङ्ग्रहहरूको प्रदर्शन, अनुसन्धान, लेखन र प्रवृत्तिबारे त्रिचन्द्र र पद्मकन्या कलेजमा कथा सप्ताह चलायौँ । त्यसको अन्तिम दिन चैत १९ गते परेको सम्झनामा हरेक वर्ष कथा दिवसका रूपमा मनाउने भनेर एउटा परम्परा बसाल्यौँ । त्यो अहिले पनि साहित्य पत्रकार सङ्घमा चलिरहेको छ ।  

यही क्रममा गुरुप्रसाद मैनालीका छोराहरूले स्थायी धनराशि राखिदिनु भएर कथा पुरस्कारको स्थापना भयो । २०४०, ४२ सालदेखि यसबाट बर्सेनि एकजना चर्चित कथाकारलाई मैनाली कथा पुरस्कार दिन गरिएको छ ।

–करिब ४ वटाभन्दा बढी कविता सङ्ग्रह नै प्रकाशन गरिसक्नुभएको छ, कस्ता खालका विषयवस्तुले तपाईंलाई भावुक बनाउँछ ? 

कसैले विषवस्तु दिएर र समय सन्दर्भलाई हेरेर कविता लेखिदिनुस् भन्छन् । म त्यसरी कविता लेख्न सक्दिनँ । असाध्यै कम कविता लेख्ने मध्येमा म पर्छु तर त्यसमा मलाई दुःख लागेको छैन । कवितालाई हल्का रूपमा लिएर फेसबुकमा पोस्ट गरेर यति लाइक, यति कमेन्ट आयो भनेर त्यसको मूल्याङ्कन हुँदैन । कविता शास्वत हुनुपर्छ । कविता जति पुरानो भए पनि त्यसले सामयिक भावनालाई समेट्न सक्नुपर्छ । 

अहिले धेरै कमले कविता पनि पढ्छु भन्छन् । धेरैले कविता लेख्न छाडेर उपन्यासतिर लागेका छन् । कवितामा नाम चलेकाले पनि संस्मरण नियात्रा लेख्नतिर ढल्केका छन्, तर म त्यही कविताकै डुङ्गामा शयर गरिरहेको छु । मलाई अहिले पनि खोजी खोजी कविता नै पढ्न मन लाग्छ । कविता राम्रो लाग्यो भने दोहोर्याएर पनि पढ्छु । मेरो पहिलो रोजीमा कविता नै पर्छ । 

मेरा कविता प्रेम अथवा प्रणयसँग सम्बन्धित पनि छन् तर त्योभन्दा पनि जीवन र जगतलाई कविताले प्रष्ट्याउनुपर्छ र त्यसको अन्तरनिहित भावनालाई समेट्नुपर्छ भन्ने लाग्छ । 

–भर्खरै वसन्त काव्य यात्रा सम्पन्न गर्नुभयो, कार्यक्रम कस्तो रह्यो ? 

हामीसँग जेजति सुविधा उपलब्ध छन्, जेजति स्रोत छन् ती पनि समानुपातिक रूपमा वितरण भएका छैनन् । मोफसल र प्रदेश, मोफसल र राजधानीको विभेद अझै पनि विद्यमान छन् । राजधानीमा थोरै लेखे पनि वा केही लेखेको जस्तो नाटक गरे पनि त्यो स्थापित, अग्रज वा राष्ट्रिय स्तरको लेखक साहित्यकार हुन्छ । मोफसलमा बसेर त्योभन्दा सुन्दर, त्योभन्दा गुणस्तरीय लेखरचनाहरू लेखिराखेको छ र त्योभन्दा बढी सिर्जनशील छ भने पनि त्यो क्षेत्रीय या आञ्चलिक रूपमा सीमित रहन्छ । त्यस्तो समयमा राजधानीमा रहेका वरिष्ठ लेखक कविहरूसँग मोफसलमा भएका कवि लेखकलाई मिलाउने, तिनीहरूको बीचमा अन्तरसम्बन्ध बनाउने, लेखनको प्रवृत्ति कस्तो छ, लेखन कसरी चलिराखेको छ, साहित्यिक पत्रकारहरू अथवा वरिष्ठ साहित्यकारहरूलाई कसरी मञ्च दिने, कसरी प्रकाशन गर्ने, विस्तार र व्यापक पाठकहरूसामु पुर्याउने भन्ने ज्वलन्त प्रश्न छ । यो पहिले पनि थियो र अहिले पनि छ । 

पत्रकार सङ्घमा हुँदा यही खाल्टोलाई पुर्न हामीले २०३७ सालमा मोफसलका साहित्यकारहरूलाई राजधानीमा ल्याउने र राजधानीका साहित्यकारहरूलाई मोफसलको कुनै निश्चित ठाउँमा लगेर त्यहाँका साहित्यकारहरूसँग परिचित गराउने, आफ्ना रचनाहरू सुनाउने, तिनका रचनाहरू सुन्ने र यो अन्तरसंवादलाई विकसित गरेर नयाँ वातावरण बनाउने एउटा अभियान चलाएका थियौँ । त्यसैलाई कविता यात्रा भनेका थियौँ । अहिले कविता यात्रा धेरै सङ्घसंस्थाहरूले, धेरै साहित्यिक समूहले आयोजना गर्छन् । धेरैले त्यसलाई सञ्चालन गरेका छन् यो एउटा लोकप्रिय माध्यम पनि बनेको छ । त्यही क्रममा तेह्रथुममा पनि राजधानीका साहित्यकारहरूलाई लाने, तेह्रथुमका साहित्यकारहरूलाई राजधानीमा ल्याउने, उहाँहरूबीच सम्बन्ध बढाउने, परिचय गराउने, स्नेह बढाउने, उनीहरूलाई राष्ट्रिय रूपमा एउटा मञ्च दिने भन्ने थियो । 

त्यही सिलसिलामा यस पटक म्याङ्लुङ नगरपालिकाले पनि कार्यक्रम आयोजना गर्ने र साहित्यकारहरूलाई बस्ने, खाने व्यवस्था गरिदियो । एपेक नेपालले पनि साहित्यकारलाई संयोजन गरिदियो र १५, १६ जनालाई लान सक्यौ । तीन दिने कार्यक्रम अत्यन्त उत्साहका साथ सम्पन्न गर्यौँ । झण्डै तीन दर्जन कविले आफ्ना कविता प्रस्तुत गर्नुभयो । महिला साहित्यकारहरू पनि धेरै थिए । मानीनय विजय सुब्बादेखि साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल जस्ता व्यक्तित्वहरू पनि पुग्नुभएको थियो । 

यसले एक त तेह्रथुम नगएका साथीहरूलाई तेह्रथुमको सन्तपुर, काँडे, हिले, सिँधुवाका प्राकृतिक छटाले मोहित तुल्यायो । वसन्तपुरमा गुराँस नगरपालिकाले आतिथ्यता दिएको थियो । 

–कवि विश्वविमोहन यो अवस्थामा आइपुग्न के–कस्ता सङ्घर्ष गर्नुपर्यो ? साहित्यिक कार्यक्रम गर्दा दुःखका क्षणहरू पनि छन् ?

आम नेपालीले पाएको सामान्य दुःख मैले पनि भोगेँ । घर, गृहस्थी छोडेर राजधानी आउनुपरेको, राजधानीमा सङ्घर्ष गर्नुपरेको, बस्ने कोठादेखि लिएर, बिहान बेलुकाको बुहार्तन आफैँ स्याहारेको, त्यसमाथि साहित्यमा लाग्दा आम साहित्यकारले भोगेका साझा पीडा मैले पनि भोगेको छु । 

एउटा कुरा मलाई खड्केको के छ भने राजधानीका रैथाने नेवारले बाहिरबाट आएका नेवारहरूलाई अपनत्व देखाउँदैनन् । त्यसमा एक प्रकारको जुन दूरी छ, त्यो अझै कायम छ । पहिलो, त्यो मेरो आफ्नो अनुभव । दोस्रो अन्य जनजातिका मानिसहरूले, जति पनि जनजातिको अध्ययनमा पर्छन्, तिनले नेवारलाई जनजाति मानिहाल्न तयार छैनन् । तेस्रो अनुभव, यहाँ जति निमुखा, सोझा, निहत्था छन्, तिनीहरू सदैव उत्पीडनमा परेका भेटिन्छन्् । यहाँ हुनेभन्दा बढी देखाउनेहरू छन् । तर ईश्वरमान रञ्जितकार, नवीन चित्रकार जस्ता केही साथीहरू पनि छन्, जसले यो दूरी मेट्नुपर्छ भनेर लागेका छन् । 

लेखनको पीडा कतिसम्म छ भने नेवार भएर नेपाल भाषामा लेख्दैन, यो कसरी हाम्रो साहित्यकार हुन्छ भन्ने जस्तो क्षुद्रवचन पनि सुनेको छु । यस्तो छुद्रता प्रदर्शन गर्नेमा विशेष गरी अभियन्ता हुँ भन्नेहरू नै अगाडि छन् । उहाँहरू आफ्नो साँघुरो चौघेरा तोड्न चाहनुहुन्न । 

तर पनि हामीले खुला हृदयले यो देश हाम्रो हो, कसैले दियोस् नदियोस्, स्वीकारोस् नस्वीकारोस्, यो देशको निम्ति केही गर्न सकिएन तर केही अक्षरको खेती गरिएको छ । भाषालाई समृद्ध बनाउने, संस्कृतिलाई समृद्ध बनाउने, लेखेर भए पनि देशलाई चिनाउने भनेर लागेको छु । 

–साहित्यमा लाग्दा सन्तुष्टि महसुस हुन्छ ?

जति नै सफल भए पनि हरेक मानिसको जीवनमा केही असन्तुष्टि हुन्छ । तर तपाईंहरूले बेलाबेला सम्झिएर खोजिदिनुहुन्छ, केही साथीहरूले सम्झेर आउँछन्, देशविदेशमा रहेका साथीहरू पनि सम्झेर आइदिन्छन् । हालै नवराज कार्की, कवि वसन्त श्रेष्ठ, गोविन्द गिरी आउनु भयो । केही साहित्यिक कार्यक्रम गरौँ भन्नु भयो । यी सबै कुराले गर्दा सन्तुष्टि लाग्दो रहेछ । 

हामी पनि अमेरिका, बेलायत या जर्मन जाँदा त्यहाँ बस्ने स्थानीय साहित्यकारहरूले भेटघाट गरौँ, साहित्यिक माहोल बनाऔँ भन्नुहुन्छ, त्यो पनि ठूलो सन्तोषको विषय रहेछ । 

–नवसर्जकलाई कस्तो रचना लेख्न सुझाव दिनुहुन्छ ? 

सामाजिक सञ्जालमा यस्ता सिर्जना लेख भनेर सुझाव दिने धेरै भेटिन्छन् । यस्तो सुझाव मलाई मन पर्दैन । हामीलाई त्यसरी कसैले पनि सिकाएन, सिकाउनु पनि गलत हो । लेख्दाखेरी आफूले कसरी लेखियो, त्यसका केही अनुभवहरू सेयर गर्नु जाती छ तर गाइड गर्नु आवश्यकता छैन । विश्वविद्यालयका केही साथीहरू हुनुहुन्छ, उहाँहरू काव्य यसरी लेख्नुपर्छ, रचना यसरी सिर्जना गर्ने भनेर प्रशिक्षणको काम गर्नुहुन्छ । त्यो एकदमै वाइयात काम हो । प्रशिक्षण लिएर लेखक होइँदैन । 

सिर्जना र लेखन भनेको स्वस्फूर्त हुने कुरा हो । जन्मजात गुण पनि हो । कतिपय वातावरणले पनि त्यसलाई विकसित गर्छ । आफ्नै मिहिनेतले त्यसलाई अगाडि बढाउने हो । तर जति लेखिन्छ, त्योभन्दा बढी अध्ययन गर्नुपर्छ । जति पढिन्छ, त्योभन्दा बढी सुन्नुपर्छ । नयाँ पुस्ताका लेखक मित्रहरूसँग चाहिँ यो मेरो अनुरोध हो । समसामयिक र केही अगाडिका साहित्यहरूको अध्ययन गर्नुपर्छ । देवकोटा, हरिभक्त, वैरागी काइँला, मोहन कोइराला, भूपि शेरचन, रत्न शमशेर थापा लगायतलाई नयाँ पुस्ताले पढ्नुपर्छ । 

कविता पढ्ने कसरी, लेख्ने कसरी, भन्ने कसरी भन्दा पनि त्यसलाई खारिएर लेख्नुपर्यो । लेख्दा पनि कुनै अवसरमा त्यही विषयवस्तु बनाएर लेख्ने होइन, एक हप्ता भयो नलेखेको भनेर लु आज चार लाइन लेखेर पोस्ट गरिहालौँ भनेर हतार गर्नु हुँदैन । नजिकका साथीहरू, प्रिय मित्रहरूले हौस्याएर लेख्न लगाउनु होला तर त्यसले नेपाली साहित्यलाई गुणवत्ता र पूर्णता चाहिँ दिँदैन । हतारमा लेखिएको सिर्जनाले साहित्यको जग बलियो बनाउँदैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।