शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसद्वारा युक्रेनको मारियोपोललाई पूर्ण रुपमा कब्जा

शनिबार, ०७ जेठ २०७९, १३ : १९
शनिबार, ०७ जेठ २०७९

रुसले युक्रेनको तटीय सहर मारियोपोललाई महिनौंको युद्धपछि पूर्ण रुपमा आफ्नो कब्जामा लिएको घोषणा गरेको छ ।

रुसका अधिकारीका अनुसार शहरको अजोवस्टल स्टिल प्लान्टमा मारियोपोलमाथि कब्जाका लागि अन्तिम लडाईं चलिरहेको थियो जसमा युक्रेनी सैनिकले आत्मसमर्पण गरेका छन् ।

महिनौंदेखि युक्रेनी सेनाले यस प्लान्टमा रुसको कब्जालाई रोक्न लडिरहेको थियो । शुक्रबार आत्मसमर्पण गरेपछि मारियुपोलको नियन्त्रण रसियामा गएको छ ।

रुसको रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकले प्लान्ट छोडेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसको घोषणाको पुष्टि गरेका छन् । प्लान्टका अन्तिम सुरक्षाबललाई त्यहाँबाट निस्कन अनुमति दिइएको उनले बताए ।

उनले शुक्रबार युक्रेनी टिभी च्यानललाई भने, ‘लडाकूहरूले सैन्य कमाण्डबाट स्पष्ट संकेत पाएका छन् कि उनीहरु त्यहाँबाट जान सक्छन् र आफ्नो जीवन सुरक्षित गर्न सक्छन् ।’

अजोवस्टल स्टिल प्लान्टलाई हप्तौँदेखि पूर्ण रुपमा घेरेको थियो । रुसी सेनाले त्यहाँ मानवीय मद्दत पुर्याउन रोकेका थिए । यो ठाउँमा हवाई आक्रमण पनि भइरहेको छ । रुसी सेनाले युक्रेनी सुरक्षा बललाई हतियार बिसाउन आग्रह गरेको थियो ।

यस प्लान्टमा सर्वसाधारण पनि फसेका छन् । यो महिनाको सुरुवातमा संयुक्त राष्ट्र र रेडक्रसमार्फत् कुराकानीपछि उनीहरुलाई निकालिएको थियो ।

रुस र युक्रेनबीच यस वर्षको फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप