शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडामा कसरी ढल्न पुग्यो एमालेको लालकिल्ला ?

शनिबार, ०७ जेठ २०७९, १२ : १८
शनिबार, ०७ जेठ २०७९

गत शनिबारदेखि सुरु भएको हेटौंडा उपमहानगरपालिकाको मतगणना गएराति सम्पन्न भयो । स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न हुँदा हेटौंडा महानगरपालिकाले महिला मेयर पाएर आफैंमा एक इतिहास बन्यो । सँगसँगै एमालेको लालकिल्ला पनि सोही राति गर्ल्यामगुर्लुम ढल्न पुग्यो । 

विगत ३० वर्षदेखि हेटौँडाको नेतृत्व एमालेले गर्दै आएको थियो । यसअघि चुनावमा एमालेले हेटौँडामा जितको ‘ह्याट्रिक’ गरिसकेको थियो । यो पटक भने एमालेले लालकिल्लाको रुपमा दर्ज भएको हेटौंडामा आफ्नो प्रभाव जमाउन सकेन । सत्तारुढ गठबन्धनका दलहरु एमाले विरुद्ध एकतावद्ध हुँदा हेटौंडामा एमालेको ३० वर्षदेखिको सत्ता निरन्तरतामा ब्रेक लागेको हो । 

साविकका चुरियामाई, पदमपोखरी, हटिया, हर्नामाडी र बसामाडी गाउँ विकास समितिसमेतलाई हेटौँडा नगरपालिकामा गाभेर २०७१ मङ्सिर १८ गते उपमहानगरपालिका बनाइएको हो । उपमहानगरमा १९ वडा छन् । 

नगरपालिका रहँदादेखि नै यहाँ नेकपा एमालेको प्रभाव थियो । विगत ३० वर्षदेखि हेटौँडामा नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । २०४९ देखि २०७४ सालसम्मको स्थानीय तहको निर्वाचनमा यहाँ एमालेका उम्मेदवार विजयी हुँदै आएका थिए । 

​२०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा हेटौँडाको मेयर र उपमेयरमा एमालेका डोरमणि पौडेल र हरिबहादुर महतले विजय प्राप्त गरेका थिए । उनीहरूले २ कार्यकाल नै हेटौँडाको नेतृत्व लिएर विकासको काममा सक्रिय भूमिका खेलेको एमालेको दाबी छ । त्यसैले पनि हेटौँडामा एमालेको बलियो पकड रहेको एमालेको दाबी रहँदै आएको थियो । 

हेटौँडामा एमाले विरुद्ध सत्तारुढ दल एक ढिक्का बनेर निर्वाचनमा होमिँदा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका हुन् । एमाले विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकताबद्ध भएर चुनावी अभियानमा थिए । 

विभाजनको असर भोगेको एमाले हेटौँडामा कमजोर भएको र त्यसकै फाइदा उठाउने गठबन्धनका दलहरू सफल भए । हेटौंडालाई रणनीतिक महत्व दिएर नै एमालेले  ‘हेभिवेट’ नेतालाई मैदानमा उतारेको थियो । एमालेले हेटौँडाको मेयर पदमा मकवानपुरका पुराना नेता अनन्त पौडेललाई उम्मेदवार बनाएको थियो । पौडेल २०७० मा सम्पन्न संविधानसभा सदस्य पदको निर्वाचनमा विजयी भएका थिए भने २०६४ को संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका थिए । 

२०७४ सालको निर्वाचनमा हेटौँडाको मेयर र उपमेयरमा एमालेका हरिबहादुर महत र मीनाकुमारी लामा विजयी भए । यो पटक एमाले छाडेर एकीकृत समाजवादीतिर लागेकी मीना लामा आफ्नै पुरानो पार्टी पूर्वसहकर्मीलाई हराउँदै एउटौंडाको बागडोर सम्हाल्ने स्थानमा पुगेकी हुन् । 

एमाले हारको कारण
हेटौंडामा एमाले हार्नुको मुख्य कारण नै आफ्नो विभाजनलाई नजर अन्दाज गर्नु हो । एमाले संगठनको आडमा चुनाव जित्ने दाउमा थियो । तर २०७८ भदैमा एमालेको विभाजनबाट भएको क्षतिको आंकलन नै गर्न सकेन । 
एमालेमा केही माओवादी केन्द्रका नेताहरुको प्रवेशले आफ्नो विभाजनलाई पुर्ने काम गरेको र जनताले चुनाव चिन्ह सूर्य बाहेक अन्त नहाल्ने उसको विश्वास थियो । 

एमाले हार्नुको अर्को कारण हेटौंडाको मेयर र उपमेयरमा सही उम्मेदवार छनौट गर्न नसक्नु पनि हो । केन्द्र तहसम्म पहुँच भएका संविधानसभा सदस्य स्थानीय तहमा झर्दा निर्वाचनमा एमालेलाई घाटा भएको स्थानीयस्तरमा विश्लेषण भएको छ। उक्त विषयमा एमाले भित्र तिव्र विरोध पनि भएको थियो । हेटौंडाको मेयरमा पौडेलको उम्मेदवारीका कारण युवा नेतृत्वपछि परेको भन्दै एमालेमा चर्को विरोध पनि भएको थियो ।

यता एमालेको १० औं महाधिवेशन पछि भएको मकवानपुरको जिल्ला अधिवेशनको विवादले पनि एमालेलाई निर्वाचनमा असर गरेको देखिन्छ । जिल्ला अधिवेशनमा एमालेको १० भाइ समूहका नेताहरुलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट एकलाल श्रेष्ठलाई निर्वाचित घोषणा गर्दा त्यसको असर एमाले भित्र परेको बताइन्छ । 

सर्वसम्मतिको नाममा एमालेले मतदान नै नगराइ केन्द्रीय निर्देशन अनुसार १० भाइ टिमका बद्री लम्सालको उम्मेदवारी कायम रहँदै श्रेष्ठलाई अध्यक्ष घोषणा गरिएको थियो ।

निर्वाचनमा पराजित हुनुको अर्को कारण भनेको अधिवेशन पश्चात जिल्लाका विभिन्न कमिटी र सदस्यहरु मनोनित गर्दा एमाले मकवानपुरले विभेद गर्दै ‘वान टिम’लाई मात्र समेटेको आरोप थियो । एमाले मकवानपुरमा वान टिम भनेको अध्यक्ष एकलाल श्रेष्ठको (केपी शर्मा ओली) टीमलाई चिनिन्छ । जिल्ला सदस्य चयन र मनोनीत गर्दा अध्यक्ष श्रेष्ठले आफ्नो टिमलाई मात्र लिएको आरोप थियो ।

त्यसैगरी एमाले पराजित हुनुमा अन्तर्घात पनि हो । हेटौंडाको मेयर बन्न एमालेमा ८ जना उम्मेदवारहरूले आकांक्षा व्यक्त गरेका थिए । जसमध्ये निवर्तमान मेयर हरिबहादुर महत र जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल प्रमुख थिए ।

 केन्द्रीय निर्देशन अनुसार ८ जना उम्मेदवारबाट एमालेले सर्वसम्मत रुपमा नाम सिफारिस गर्नु पर्ने बाध्यता थियो । जसका कारण एमाले मकवानपुरले सर्वसम्मत रुपमा निवर्तमान मेयर महत, पौडेल र महिला 

उम्मेदवारको रुपमा गणेशकुमारी प्रधानको नाम सिफारिसमा पर्यो । यसै कारण पार्टिको तल्लो तहसम्म टिकट लिन क्षमता भन्दा पनि नेतासँगको लविङ हुनुपर्ने रहेछ भन्ने छाप पर्यो र अन्तर्घातको सिकारमा मेयर पदका उम्मेदवार पौडेल परे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप