ad
x

निबन्ध : पराक्रम कि परिक्रमा ?

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0


परिक्रमा सजिलो छ । पराक्रम कठिन छ । परिक्रमा धानका च्यूरा दूधमा भिजाएर निल्नु जत्तिकै सजिलो छ । पराक्रम चाहिँ दन्त्यकथाको मधुकरले सय मन फलामको चिउरा चपाई चपाई निल्नु जत्तिकै कठिन छ । विना श्रम कसैलाई फेरो मार्दा परिक्रमाको प्रक्रिया पूरा हुन्छ भने मिहिनेतका निकै पसिना चुहाएपछि मात्र पराक्रमको मिनार उभिन्छ ।


इतिहासका कतिपय क्षणमा गधाले ज्ञानीलाई हराएको छ । बुद्धलाई बुद्धूले ङ्याकेको छ । उठ्नै नसक्ने गरी थिचेको छ । पराक्रमलाई परिक्रमाले सात हात पछि पारेर उछिनेको छ । संकेतमा अर्थ पर्गेल्दा गणेश परिक्रमाका प्रतीक हुन् भने कुमार पराक्रमका प्रतीक हुन् । गणेश र कुमारको प्राचीन मिथकले भन्छ, जगत्मा को ठूलो ? कुमार ठूला कि गणेश ठूला भन्ने विषयमा विवाद चल्यो । बाबुले भनिदिए, जो पहिले सुमेरु पर्वत परिक्रमा गर्न सक्छ त्यही ठूलो । पराक्रमवादी कुमार मयूरमा सवार भएर सुमेरु पर्वतको चक्कर मार्न निस्के । तर चतुर बुद्धिका गणेशले पर्वत परिक्रमाको लेठोतिर लागेनन् । 



गणेशले एक सरल सूत्र झिके । सुमेरु पर्वत भनेको आमाबा हुन्, उनीहरुलाई परिक्रमा गरेपछि सुमेरु पर्वत परिक्रमा गरे सरह हुन्छ । अनि आफ्ना मातापितालाई परिक्रमा गरी क्षणभर मै प्रशन्न तुल्याए र कुमारको पराक्रम अगाडि आफ्नो परिक्रमको जीत गराए । जितमात्र गराएनन् पराक्रमलाई परिक्रमाले सहजै जित्न सक्छ भन्ने मान्यता स्थापित गराए । परिक्रमावादी गणेश पूजिने रीत त्यो समयदेखि नै चल्दै आयो । त्यसैले त अहिले पनि बेला कुबेला पराक्रमलाई परिक्रमाले जित्दै आएको छ । ठाउँ कुठाउँ शर्मनाक ढंगले पराक्रमलाई धुलो चटाउँदै आएको छ ।



हमेशा परिक्रमाले विजयश्री पहिरिन्छ र पराक्रम लज्जित तवरले हार्दछ । परिक्रमा पूजित बन्दछ । पराक्रम निन्दित बन्दछ । अहिले पनि गणेशकै पूजा हुन्छ । गणेशकै मन्दिर ठडिन्छ । कुमारको मूर्ति स्थापना भएको, मन्दिर र देवस्थल बनेको कुरा काहीँ पनि थाहा छैन । आखिर पराक्रम त कुमारले देखाएका थिए । मर्ने गरी दौडिने काम त उनैले गरेका थिए । उनको पौरखलाई गणेशको परिक्रमाले पत्रु पत्रु बनाइदियोे । उनको मिहिनेत र पसिनालाई गणेशको परिक्रमाले खरानी बनाइदियो ।



कुमारले रोजेको बाटो कठिन थियो भने गणेशले रोजेको बाटो सजिलो थियो । सजिलो बाटो परिक्रमावादी हिँड्छ । अप्ठ्यारो बाटो पराक्रमवादी हिँड्छ । जित्न त अप्ठ्यारो बाटो हिँड्नेले सजिलो बाटो हिँड्नेलाइ जित्नुपर्ने हो । तर, पराक्रम र परिक्रमाको दौडमा सनातन कालदेखि परिक्रमाले नै जिती आएको छ । 



कसैलाई धुपधुँवार गरी प्रदक्षिणा गर्ने वित्तिकै सिद्धि प्राप्त हुन्छ भने पौरख र परिश्रमको कठिन बाटो किन रोज्छ मान्छे ? अनगिन्ति उकाली ओरालीको कष्टसाध्य दुरुह पथ किन अँगाली बस्छ ? मालिकलाई एकसरो फेरो मार्दा हुन्छ भने त्यही बाटो रोज्छ । ख्वामितलाई चिल्लो घस्ता काम फत्ते हुन्छ भने ऊ त्यसै बाटोमा अग्रसर बन्छ ।



भर्खरै एक चर्चित कविको कविता पढिरहेको थिएँ, कवितामा सिन्धुलीगढीको युद्धवर्णनको चित्र थियो । उहिल्यै नेपाल हान्न आएका अंग्रेज फौजलाई सिन्धुलीगढीमा रोकेर उनीहरुको मक्सद तहस नहस पार्ने एक गुमनाम गुर्माछाने मगरको कथा थियो त्यहाँ । अपूर्व शूरता र वीरताले अंग्रेज फौजलाई ध्वस्त पार्ने गुर्माछाने मगरको इतिहासमा नाम कतै आएन । तर दरबार र भारदारको प्रदक्षिणा गर्ने कुनै पाँडे भारदारको नाम इतिहासमा सुनौला अक्षरमा कोरियो अरे । विचरा गुर्माछानेले एकोहोरो पराक्रम मात्र देखायो । उसित परिक्रमाको कुनै पारवार कला थिएन । उसले त फिरङ्गी फिर्ता गर्ने कुरामात्र जान्यो, कुनै अमुक शक्तिकेन्द्रलाई फेरो हाल्नुपर्छ भन्ने कुरा जान्दै जानेन । त्यसैले इतिहासको कुनै पनि पानामा उसको नाम अँट्न सकेन । वास्तविक वीर पुरुष इतिहासको अक्षरमा अँटाउन सकेन । शब्दमा उसको वीरगाथा उनिन सकेन । योद्धा गुर्माछाने सधैँ सधैँको लागि गुमनाम बन्यो । इतिहासकारले पनि धुमधामसित लेखे, फेरो मार्नेहरुका नक्कली वीरगाथा । कोरे प्रभुको प्रदक्षिणामा लिप्त पामरहरुको कथा । 

यस्तो इतिहास लेखनले उही उखान प्रमाणित गर्छ, लंका जलाउने हनुमान पगरी गुथ्ने ढेडु । रामायणको कथामा पनि आउँछ, पराक्रमको अनन्त गाथा हनुमानले रचना गर्छ । तर त्यो पराक्रमबाट बेखवर ढेडुहरुको हुल अहिले पनि बहादुरीको फेटा गुट्न उत्सुक छन् ।

भर्खरै एक लडाकुको मुखबाट कहानी जस्तो लाग्ने कुरा सुन्ने सुयोग मिल्यो । हिजोको आँधीमय जनसमरमा ज्यान तर्पेर हिँडेका ती योद्धा कति निरुपाय, कति निरीह बनाइएछन् । भित्रबाट असीम करुणा र सहानुभूति जागेर आयो । हिजाको संकटकालीन समयमा पार्टी र नेतालाई बचाउन उसले आफ्नो जीवनको पर्वाह गरेन । दुश्मनका गोलीलाई आफू ढाल बनेर नेतृत्व जोगायो । नेतृत्व अनिकालका बीउ हुन्, यिनलाई जोगाइएन भने क्रान्तिको बाली हुर्काउन सकिँदैन भन्ठानेर आफ्नो ज्यान खुकुरीको धारमा राखेर नेताको सुरक्षाको निम्ति अनेकौँ सौर्यगाथाहरु सिर्जना गर्यो । समर समापन भयो । आफूले संकटकालभरि ज्यान दिएर बचाएको नेता पटक पटक मन्त्री बन्यो ।

हिजो संकटका दुर्दान्त क्षणमा नजिक हुन, कुरा सुन्न, नाता लाउन, सहयोग गर्न, चन्दा दिन जोगिने र सात हात टाढा भाग्ने सालासालीहरुको झुण्डले क्रान्तिकारी मन्त्रीलाई घेर्दै लग्यो, बेर्दै लग्यो । उनीहरुले दिदी भिनाजुको साइनोमा नित्य प्रदक्षिणा लाउन थाले । संकटको साथी, संकटको सुरक्षागार्ड उपेक्षित बन्न थाल्यो । परिक्रमावादीले पराक्रमवादीलाई टाढा टाढा पार्दै गए । उनीहरुले नै पीए पद पड्काए । उनीहरुले नै अनेकौँ राजनीतिक नियुक्तिका पद खाए । विचरा हिजो त्यत्रो त्याग र वलिदान गरेको मानिस आज एउटा अर्धानु सर्ट फेर्न नसक्ने अवस्थामा छ, जहान बच्चालाई मुखमा माड लगाउन धौ–धौ अवस्थामा छ ।

हिजोको विकराल अप्ठ्यारो क्षणमा शूरता वीरता देखाउने पराक्रमले हार खाएको छ ।  चाकरी चाप्लुसी अनि परिक्रमाको बलमा अकुत लाभ हासिल गरेका हजारौँ पात्रहरु यत्रतत्र सर्वत्र सल्बलाइ रहेको दृश्य देखिरहेको छु । नायक चरित्रलाई खलनायकहरुले उठ्नै नसक्ने गरी थिचेको देखेको छु । उनीहरुलाई घायल र रक्तमुछेल बनाएको दृश्य भोगेको छु । 

अर्का एक प्रखर कविको आत्मपीडा पनि उनकै मुखबाट सुन्न पाएँ, उनले पनि जीवनको विसंगत चित्र प्रस्तुत गरे, हेर्नुस् हिजो ज्यानको बाजी मारेर युद्धमा हिँडियो । स्वास्नी, छोरोछोरी, घरद्वार, जागिर सबै चिज माया मारेर क्रान्तिको लागि जंगल पसियो । शोषण, उत्पीडनको सत्तालाई समूल नष्ट गरी सुख वैभवको समतामूलक समाज निर्माण गर्ने सपना बोकियो । त्यही सपनालाई साकार पार्न अनेकौँ हण्डर भोगियो । अनेकौँ जोखिम र चुनौतीहरु मोलियो । तर अहिलेको सजिलो समयमा रङ फेरुवा छेपाराहरुले थोरै प्राप्त भएको उज्यालो पनि चाटिरहेका छन् ।

क्रान्ति र युद्धको आँधीबेहरीमा आलिशान महलमा सुरक्षित बसेर क्रान्तिलाई गाली गर्ने, युद्धको अपमान र भत्सर्ना गर्ने त्यसको विरुद्धमा लेख्ने र वक्तव्य दिनेहरु आज हाम्रा नेताहरुको साखुल्ले बनेर उनीहरुको घरमा फेरो हालेर नियुक्तिका ठूल्ठूला पद पड्काउन सफल बने । हिजो हामीले ज्यान र जागिर माया मारेर युद्धमा होमिँदा उनीहरु खोपीमा बसेर रमिता हेरिरहेका थिए । हामी उपर खिसी बोलिरहेका थिए । तर तिनै चाटुकारहरु आज ठाउँ ठाउँका शानदार कुर्सी हत्याउन सफल बने । हिजोको दुर्दान्त अग्नि यात्रामा न उसको एक थोपो पसिना बगेको थियो । त्यो आँधीमय आन्दोलनलाई न उसले सलेदोको सानो सूत हालेको थियो, न एक थोपो तेल थपेको थियो । आज मालदार कुर्सी उसैले पाएको छ । ‘काम गर्ने कालु मकै खाने भालु’को उखान चरितार्थ भएको छ । 

पीडित कविको कुरामा थोरै खिन्नता थियो । थोरै पश्चाताप थियो, थोरै ग्लानीभाव थियो । उनको आशयबाट यस कुराको झल्को मिल्थ्यो, यस्तो विद्रुप विपर्यास् स्थिति आउँछ भन्ने जानेको भए छँदा खाँदाको त्यति राम्रो जागिर छोडेर कदापि युद्धमा हेलिने थिइनँ । उनको खिन्नता र पश्चाताप देखेपछि कथित क्रान्ति दूतहरुलाई पनि शनैः शनैः परिक्रमावादीहरुले आफ्नो अधिनमा पारिसकेछन् भन्ने लाग्यो । नत्र किन, सक्कली क्रान्तिकारी पाखा लाग्छन् र चण्डाल चाटुकारले रजगज मच्चाउँछन् । क्रान्तिको  वेदीमा पराक्रमको इतिहास रच्नेहरु आज आफलेको ढिकी भएका छन् । हिजोको धान कुट्ने समयमा ढिकीहरु खुब काम लागे । तर आज ढिकीहरुको कुनै काम छैन । त्यस्ता ढिकीहरुलाई आफलसिंह बनाइएको छ ।

मेरा एक आत्मीय मित्र छन्, जो एक चल्तापूर्जा पार्टीको बुद्धिजीवी संगठनको केन्द्रीय नेतृत्वमा छन् । उनले पनि एकदिन दिग्दारीको भाव व्यक्त गरे, उनको पार्टी मिलिजुली सरकारको हिस्सेदार बनेपछि आफ्ना मन्त्रालय मातहातका राजनैतिक नियुक्तिहरुलाई व्यवस्थित गर्न उनको संयोजकत्वमा समिति बनेछ । समितिले हिजोदेखि पार्टीमा लगानी गरेका, त्यागी योग्य इमान्दार व्यक्तिहरुको सूची तयार ग¥यो । नियुक्ति दिनुपर्ने व्यक्तिहरुको सूची आफ्ना मन्त्रीहरुको हातमा थमाइयो । आफ्नो पार्टी च्यानेलबाट सिफारिस भएका नामहरु नै नियुक्ति पाउलान् । एउटा पद्धति बस्ला । योगदानमा अग्रणी व्यक्तिहरुको कदर होला भन्ने ठानेका थिए । तर जब मन्त्रीले गरेका नियुक्तिको सूची देखे । त्यसपछि  छाङ्गाबाट खसे जस्तो भए । नेताले खल्तीमा हालेको सूची त रद्दीको टोकरीमा मिल्काइदिएछन् । उनले मनमौजी ढंगले हिजो कुनै लगानी, त्याग र योगदान नभएका मानिसलाई सुटुक्क नियुक्ति दिएछन् । पछि बुझ्दा थाहा भयो, ती पात्रहरु चाकरी, चाप्लुसी, घुस, नजराना टक्र्याएर नियुक्ति पाउन सफल भएछन् । उनले मलाई भने, हेर्नुस्, अब त निख्लो स्वामीभक्ति र परिक्रमाहरुले मात्र पनि हुन्न, जसले पैसाको बिटोसहित नेतालाई छेकारो मार्न सक्छ, उसले लाभका पद हासिल गर्ने रहेछ । निख्लो त्याग, समर्पण, योग्यता र इमान्दारिताको कुनै काम छैन । मित्रका भावमा निराशा छ, दिग्दारी छ, व्यर्थता र मनस्तापका ज्वाला उठिरहेको छन् । जब इमानलाई बेइमानले थिचोमिचो गर्छ, मान्छे विक्षुब्ध हुनु स्वभाविक हो ।

शिक्षण सेवाभित्र पनि नजिकबाट नियालीरहेको छु । एक खालका शिक्षकहरु पराक्रमवादी छन् । अर्काथरी शिक्षकहरु परिक्रमावादी छन् । पराक्रमावादी शिक्षक हाडतोडा मिहिनेतको बलमा सेवा प्रवेश  गर्छन् । मिहिनेत, कार्यकुशलता र लेखनीको बाटोबाट बढुवा भएका हुन्छन् । उनीहरुले सेवा प्रवेशमा चर्को प्रतिस्पर्धा झेल्छन् । स्थायी हुँदा प्रतिस्पर्धा गरेको छ, बढुवामा पतिस्पर्धा गरेको छ । जहाँ पनि खरो ढंगले आफ्नो योग्यता प्रमाणित गरेर आफूलाई पराक्रमी देखाएका हुन्छन् । गुणवत्ताको हिसाबले उनीहरु आफ्नो कर्ममा अब्बल छन् । शिक्षण सिकाइका निम्ति योग्य छन् । तर यस्ता निपूर्ण शिक्षकहरुलाई पनि कतिपय गणेशपन्थी शिक्षकहरुले पछि पारिरहेको, तल धकेली रहेको विद्रुप यथार्थ यदाकदा गोचर हुने गर्छ ।

पराक्रमी शिक्षकलाई म कुमारपन्थी शिक्षक मान्छु । परिक्रमावादी शिक्षकलाई म गणेशपन्थी शिक्षक मान्छु । गणेशपन्थीले परिक्रमामाथि विश्वास गर्छ । नेतालाई परिक्रमा गर्दा हुन्छ कि, पार्टीलाई परिक्रमा गर्दा हुन्छ कि, प्रशासक र हाकिमलाई परिक्रमा गर्दा हुन्छ कि, कहाँ परिक्रमा गर्दा आफ्नो दुनो सोझ्याउन सकिन्छ, अहोरात्र त्यतै दौडधुप गरिरहेका हुन्छन् । दौराको फेर समातेर उनीहरु पदका सिँढी चढिराख्छन् । उनीहरुलाई पेशामा दक्ष बन्नु छैन । आफ्नो कर्तव्यमा कार्यकुशल बन्नु छैन । बन्नु छ जी हजुरी कलामा दक्ष, बन्नु छ चाकरी, चाप्लुसी, चुक्ली र चेपारे कलामा प्रवीण । उनीहरु पराक्रमको दुरुह बाटो छिचोल्नमा अल्छी गर्छन् । परिक्रमाको सरल संक्षिप्त बाटो अँगाल्छन् ।

शिक्षा सेवामात्र होइन, राष्ट्रसेवाका हरेक निकायमा आफ्नो योग्यता र अभ्यासमा अब्बल पराक्रमवादीहरु परिक्रमावादीको कोपभाजन बनिरहेका छन् । मिडियामा खुब छायो, भर्खरै सिपाही गणको सुप्रिमो छनौटमा चार नम्बरे धुरन्धर परिक्रमावादीले एक नम्बरे पराक्रमीलाई पाखा लाइदियो । आखिर न्यायालयको ढोका ढक्ढक्याउन जाँदा पनि पराक्रमी पछिको पछि पर्यो यो देशमा ।

राजनीतिमा चुनावको सरगर्मी दिनानुदिन बढ्दै गएको छ । सबैलाई पद चाहिएको छ । सबैले  उठ्नु छ । तर बाँड्नु पर्ने टिकट सीमित छ, पद सीमित छ । एकथरि नेता कार्यकर्ता परिक्रमाको लागि केन्द्र, क्षेत्र, प्रान्त पुगिसके । अर्काथरि  गाउँमै संगठन गरिरहेका छन् । अहोरात्र दुःख गरिरहेका छन् । आफ्नो औकात देखाउने काममा लीन छन् । सुन्छु, टिकट त ती पौरखी र कार्यकर्ताले, ती कर्मठ व्यक्तिले पाउँदैनन् अरे । जो नेताको घर दैलोमा चक्कर लाइरहेको छ, नेतालाई प्रफुल्ल राख्न विभिन्न उपक्रम गरिरहेको छ, तिनैले उछिट्याउँछन् अरे । यो स्थिति भएपछि पौरखी जनको मन अड्याउने ठाउँ कहाँ होला ? पराक्रमीहरुको कहिल्यै परख होला । उनीहरुको इमानको कदर कहिल्यै मिल्ला ? विरोधाभाषहरु जन्मिएका छन् । आत्मामा पीडाका घाउहरु उकुच पल्टेका छन् । राजनीतिक वृत्तलाई पनि परिक्रमावादीकै हुलले करप्प गाँजेको छ । आस्था र निष्ठा बोकेर हिँड्ने कार्यकर्ता ओझेल पर्दै जानु र नेताको चौकुने आँगनमा फेरो मार्नेले अवसर लुट्दै जानुले देशको थिति भत्केको छ । बेथितिको बढोत्तरी भएको छ । देशको मूल नीति राजनीति हो । यही प्रदूषित भएपछि कसरी शासन प्रशासनमा स्वच्छ समीर सन्सनाउँछ । प्रदक्षिणावादकै उत्रतत्र दुर्गन्ध गनाउँछ ।

कुनै चिज प्राप्तिको निम्ति जब नेताहरुलाई प्रदक्षिणा गर्नुपर्ने पद्धतिको विकास हुन्छ, तब मानिसभित्रको स्वाभिमान घाइते बन्छ । आस्था र निष्ठाका घाँटीहरु त्रूmरतापूर्वक निमोठिँदै जान्छन् । पराक्रमको साटो परिक्रमालाई योग्यताको मापदण्ड बनाएपछि मान्छेका मनका आस्थाहरु ओइलिन थाल्छन् । परिक्रमालाई नै मान्छेको क्षमता जाँच्ने कसी बनाएपछि पुरुषार्थ गर्ने वीरहरु ओझेल पर्छन् ।  अनि भाटोमा कपडा उनेका बुख्याँचाहरुको चल्तीफिर्ती सुरु हुन्छ । पराक्रमी हुन जति पराक्रम देखाउनुपर्छ, जति पापड पेल्नुपर्छ, जति कार्यकुशलताका गुणहरु प्रदर्शित गर्नुपर्छ, परिक्रमाको लागि त्यसको कुनै खासै आवश्यकता परोइन । 

चाकरीकलाको प्रवीणता हासिल गरेपछि मान्छे परिक्रमावादी बनिहाल्छ । चुक्ली र लोलोपोतोमा, घुस र नजरानामा, ठेकी कोशेली र नातावाद कृपावादमा, भनसुन र फरियावादका फूलजडी सामग्री लिएर जुन ठाउँमा प्रदक्षिण गर्नुपर्ने हो, सो ठाउँमा दौड लगाउन थालेपछि नसोचेको पद हासिल हुन्छ । पदोन्नति र प्रतिष्ठा उपहार बनेर बर्सिन्छ ।

 

जी हजुरी र मोलाहिजाको कलाले परिक्रमावादीलाई सुनमा सुगन्ध भर्दछ । आखिर वित्त विमोहको विकारले नगाँजिएको कुनै क्षेत्र रहेन । त्यो सत्यलाई परिक्रमावादीले गहिरोसित बुझेको हुन्छ । वित्त विमोहको नश सुँघाउनु पर्ने ठाउँमा सुँघाएर दुईचार फन्का प्रदक्षिणाको दौड हाली दिएपछि नबन्ने काम पनि बनिहाल्छ । सर्वत्र छ, पराक्रमलाई परिक्रमाले जितेको दृश्य । पराक्रमीहरु बिस्तारै बिस्तारै पाखा लाग्दै गएको र परिक्रमावादीहरु सलह जस्तो फैलिँदै गएको स्थितिले आत्मतलमा एक नमीठो ऐँठन हुने गर्दछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।