बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्वाचित

शनिबार, ०७ जेठ २०७९, १० : ५७
शनिबार, ०७ जेठ २०७९

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । 

वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनालले छ हजार ७४९ मत ल्याए । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७६६ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले सात हाजर २७४ मत ल्याए ।

बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र काँग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो । उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित दशवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यसपटक पालिकातहमा गठबन्धन भए पनि वडातहमा भने दलहरुबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । पालिकाको तेह्रमध्ये वडाध्यक्ष पदमा सात वडामा काँग्रेसका उम्मेदवार, चारमा एमाले र दुईवटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् । बेलकोटगढीको अन्तिम नतिजा आएसँगै नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेस, चारमा माओवादी र एकवटामा  एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा माओवादीका उम्मेदवार र चारवटा पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवं उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा माओवादी, एघार पदमा कांग्रेस र एक पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप