ad
x

कथा : पाँच पाथी कोदो र भोट

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

त्यसबेला चुनावमा अहिले जस्तो व्यानर पम्प्लेट छपाउने र बाँड्ने चलन थिएन । सायद पहाडतिरका जिल्लाको सदरमुकाममा पनि छापाखाना पुगेका थिएनन् होला । उम्मेदवारहरू परिवारका सदस्यहरू सँगै घर घर गएर भोट माग्थे । 
डाँडाका भण्डारी पनि सदस्यमा उठ्ने भएका रहेछन् । अरूबेला मेलाबाट थाकेर आएको बहरजस्तै स्वभावका हुन्थे भण्डारी बाबै । केही दिनदेखि भने उनको आनीबानी फेरिएको थियो । उनका परिवारका सदस्यहरू पनि छिमेकीसँग बोल्न थालेका थिए । यो देखेर बाँसबोटे, फेदापेहरू पनि छक्क परेका थिए । हाओ यी बाजे त साँच्चै असल पो भै गए त । “केपो दवाइ खाए हाउ यिनले” भनेर बिहान आरनमा हँसिया अर्जाप्न आएका विष्टहरूले कुरा गरे । बुढाकामीले सुने मात्र । कुनै प्रतिक्रिया दिएनन् । 


छोरो ठेके आमासँगै पानी लिन ढुँगेकुवा गएको थियो । ठेकेकी बहिनी डुङ्खुरी घर बढार्दै थिई । उसले आँगनमा गजेरा ओछ्याएर भाइलाई सुताई । भर्याङ् मुनिबाट ल्याएर कुखुरालाई डोकाले छोपी । 



उता आँगनको डिलमुनि पल्टिएकी भुँनी सुँगुरका पाठाहरू दूध चुस्दै थिए । ती पाठाहरू बेला बेला आरनरिर पनि आउँथे । आँगनमा आएर कुखुरा छोपेको डोकोलाई थुतुनाले उधिन्थे । कामी बुढाले डुङ्खुरीलाई भाँटी तान्न बोलाए । ठाडो ढुङ्गाको  पछाडि रहेको काँचो छालाले बनेको खलाँती ह्याप्प ह्याप्प गर्दा फ्वाँ फ्वाँ गरेर खलातीका थुतुनाबाट हावा निस्कन्थ्यो । अग्राखका काला कोइलाहरू चट्टटट गर्दै राता हुन्थे । आगो अलिअलि बल्थ्यो । तातेर रातो भएको फलामलाई कामी बुढा सनसाले च्यापेर लिहीमा राख्थे । अनि ओल्टाउँदै पल्टाउँदै घनले बेस्सरी पिट्थे । घनको मारमा परेर फलामले आत्मसमर्पण गर्थ्यो । चाहेको स्वरूपमा धारिलो भएर फलाम फेरिन्थ्यो । 



फागुन, चैत महिना लागेदेखि गाउँमा अनिकालको राज सुरू हुन्थ्यो । घरमा भएको सबै अन्नपात सकिन्थ्यो ।  गाउँमा दुई छाक खान पाउने मानिसहरू कमै मात्र हुन्थे । एक छाक भात खाए पनि एक छाक फर्सी, तरूल, स्कुस, सगरखण्डा, आलु  आदि उसिनेर खान्थे । त्यो पनि खान नपाउनेको संख्या ठूलै थियो । एक छाक मात्र कोदोको पातलो खोले पिएर रात काट्नेहरूको संख्या पनि कम थिएन । बालबच्चा बचाउन अन्न बाँकी माग्ने भनेको नै छिमेकीसँग हो । छिमेकमा बेसाहा पाइएन भने अरूतिर लाग्ने हो । 



कामी बुढाले बारी जोतिदिने सर्तमा भण्डारीसँग दुई पाथी कोदो ल्याएका थिए । त्यस दिन बिहानै भण्डारी बाजे एक्कासी आरनमा आएको देखेर कामी बुढा झसङ्ग भए । काम गर्न बोलाउन आँटे कि ? या पैसा पो माग्न आए भन्दै छटपटी भयो । 



फाटेको झुत्रो टोपी टाउकाबाट निकालेर निधारका पसिना पुछ्दै जदौ विष्ट भनेर नमस्कार गरे । भण्डारीले ‘ए बुढा कामी यता आईज त एकछिन’ भनेर बोलाए । 



दुबैजना घर पछाडिको नासपातीको बोट छेउमा टुक्रुक्क बसे । भण्डारीले साउती गर्दै भोट मागे, ‘अरू तीन पाथी कोदो थपी दिउँला बरु । तेरा घरका भोट मलाई दिनु । आरनमा आउनेलाई पनि मलाई भोट मागी दिनु । केही तिर्नु पर्दैन ।’

भण्डारीका कुरा सुनेर कामी निकै खुशी भए । ‘तँलाई थाहा भो नि । तीस गते चुनाव यही अगाडिको स्कुलमा हुन्छ । स्वास्नी र छोरालाई पनि भनेस्’ भनेर उनी घरतिर लागे । कामीले श्रीमतीलाई कोदो लिन पठाए । अरू तीन पाथी कोदो घर आयो । ‘अब फारू गरेर तीन हप्ता पुर्याउनु पर्छ’ भन्दै प्रफुल्ल मुद्रामा डुङ्खुरीकी आमाले सुनाइन् । केही दिन त खान पाइने भइयो भनेर सबै उधुम खुशी भए ।

चुनावको दिन तीनैजना घर नजिकैको स्कुलमा गए । बाँसका भाटाले बार हालेर महिला, पुरूषको छुट्टाछुट्टै लाइन बनाएको रहेछ । भोट दिनलाई बुढा र छोरा एउटा लाईनमा पसे । डुङ्खुरीकी आमा अर्को लाइनमा गइन् । 

भोट सकेर तीनै जना स्कुलको कुनामा भेट गरे । तीनै जनाको कुरा भयो । त्यसपछि  आमा, छोरा घर फर्किए । कामी बुढा भोट दिन आउने मानिसलाई हेर्दै स्कुलकै चौरमै घुमिरहे । 

पाँच बजे चुनाव सकियो ।  भोट गणना सुरू भयो । गणना सकिएर घोषणा हुन मात्र बाँकी थियो । बल्ल बल्ल भण्डारी बाजेसँग कुरा गर्न मिल्ने भयो । कामी बुढाले भण्डारी बाजेलाई एकान्तमा बोलाए । उनको टोपी फाटेर घेरो र भित्री कपडा मात्र देखिन्थ्यो । दायाँबायाँ हेरेर टोपी झिके । 

टोपी भित्रबाट पट्याएर राखेको कागज निकाले । कागजको बाहिर सबै पसिनाले भिजेको रहेछ । ‘लु है बाजे मेरो ईमान । हामी सबैको भोट यसैमा छ’ भन्दै त्यो  कागज भण्डारीको हातमा राखी दिए । त्यो त मतपत्र रहेछ । पाँच पाथी कोदो फच्चे भएकोमा कामी बुढालाई बल्ल हलुका भयो । उनी प्रफुल्ल हुँदै घर फर्किए ।

पाँचथर, हालः क्यानडा

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।