लघुकथा : बाबाको विवाह
आमा मरेपछि बाबाको जिन्दगी देखेर एकदमै रोएँ । बाबा पैँतीस वर्ष हुँदा आमा बित्नु भएको थियो । केही समयको अन्तरालमा बाबाले दाजुको त्यसपछि मेरो विवाह गरिदिनु भयो ।
छोरी मान्छे म पराइ घर घर गएँ । दाजु जागिरे भएकाले भाउजूलाई पनि सँगै लिएर जानुभयो । त्यसपछि बाबा घरमा सधैँ एक्लै हुनुभयो । परिवार भेट हुने भनेको चाडबाडमा मात्र रहेछ । बाबा एक्लै भएकाले सधैँ रोएर बस्नुहुन्थ्यो ।
मैले बाबाको बिहे गर्ने सुर गरेँ । तर उहाँलाई केही भनिनँ । पहिले केटीको तजबिज मिलाउने पक्षमा थिएँ म । मेरो घरबाट केही टाढा पैँतीस वर्षकी बाल विधवा हुनुहुन्थ्यो । मैले उहाँको मन चोर्दै भने, “हजुरलाई उहाँले चाँडै नै छोडेर जाँदा कति मन रोएको होला है आमा ?”
जबाफमा उहाँले भन्नु भयो, “के भन्ने नानी भनिसाध्य छैन ।”
“तपाईंका उमेरका सँगै नारिएर हिँड्दा तपाईंको मन कल्पन्न आमा ?” “कल्पन्छ । कल्पेर के गर्ने ? समाज छ यसमा बाधक ।” मैले उहाँको मनसाय बुझेँ ।
बाबालाई पनि कुरा गरी सहमतिमा ल्याएँ । बाबालाई छिमेकी आमाको फोटो देखाएँ । बाबाले मन पराउनुभयो । त्यसपछि छिमेकी आमालाई बाबाको फोटो देखाएँ । उहाँले पनि मन पराउनुभयो । होटेलमा लगेर कुराकानी गराएँ । दुवैले रौसिएर कुरा गरे । दुवैलाई फोन नम्बर दिएँ । उनीहरू दुवैले फोन गरागर गर्न थाले । कहिलेकाहीँ त घण्टौँसम्म कुराकानी चल्थ्यो । फोन गर्दागर्दै मायाप्रीति बढ्दै गयो । उनीहरू नजिक हुँदै गए ।
यो मायाप्रेमले दुवै हतारिएर विवाह गर्न तयार भए । बाबाले घरमा छिमेकी आमालाई भित्र्याउनुभयो । दुवैको मेल अमूल्य बन्दै गयो । दुवै खुसी राजी ।
दुवै जनामा उमङ्ग छ । केही गरौँ भन्ने भावना छ । लाग्छ, भर्खरै विवाह गरेका जोडाजोडी जस्तै ।
मैलै बाबालाई भने, “बाबा विवाह गरेपछिको जीवन कस्तो लागेको छ ?” बाबाले हर्षका आँसु झार्दै भन्नुभयो, “आमाबिनाको एकल जीवन जिउन धेरै गाह्रो हुने रहेछ छोरी । हेर तिमीले मेरो मर्म बुझेर हामीलाई विवाह गराउन सफल भयौँ । सबैका छोराछोरीहरूको यस्तै विचार हुने हो भने कसैले रोएर एकल जीवन जिउनु पर्ने थिएन ।”