बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एउटै हुँदैन घुँडा खिइने समस्या

यसको पहिचान र उपचार कसरी गर्ने ?
शनिबार, ०७ जेठ २०७९, १० : ०६
शनिबार, ०७ जेठ २०७९

घुँडा खिइने समस्या आजभोलि एक प्रमुख समस्या बन्न थालेको छ । घुँडा खिइने समस्यालाई ओस्टयो आर्थराइटिस पनि भनिन्छ । घुँडा शरीरको एक महत्त्वपूर्ण जोर्नी हो । सामान्य रूपमा हिँडडुल गर्न, उकालो ओरालो हिँड्न र जस्तो सुकै शारीरिक व्यायाम गर्न घुँडा आवश्यक पर्छ ।

विशेष गरी धेरै उकालो ओरालो गरी शारीरिक परिश्रम गर्नेहरूमा घुँडा खिइने समस्या देखिने  सिभिल अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. सुमन बाबु मरहट्टा बताउँछन् । घुँडा खिइने समस्या सबैलाई एकै खालको समस्या लाग्छ तर डा. मरहट्टाका अनुसार  यो समस्या फरक फरक खालको हुनेगर्छ । घुँडा उमेरको कारणले खिइने गर्छ । यस्तै, पुरानो चोटको कारण, बाथ रोग, जोर्नीको सङ्क्रमण आदि कारणले समस्या आउने गर्छ ।

घुँडा खिइने भनेको के हो ?

उनी भन्छन्, ‘घुँडाले राम्रोसँग काम गर्न घुँडाभित्र भएको एक महत्त्वपूर्ण भाग अर्टिकुलर कार्टिलेज स्वस्थ हुन पर्छ । यदि कुनै पनि कारणले घुँडाभित्र रहेका आर्टिकुलर कार्टिलेज बिग्रिँदा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन् त्यस अवस्थालाई घुँडा खिइएको भनिन्छ ।’

डा मरहट्टाका अनुसार धेरै कारणले मानिसको घुँडा खिइने समस्या आउन सक्छ । यसका विभिन्न स्टेजहरु हुने उनले बताए । यस अनुसार उपचार पद्धति पनि फरक–फरक हुन्छन् । बिरामीको लक्षण, डाक्टरको जाँच र एक्स रे हेरेर यस रोगलाई चार वटा ग्रेडिङ गरिएता पनि घुँडा खिइने रोगलाई ३ तीन अवस्थामा राख्न सकिन्छ । 

घुँडा खिइने रोगको सुरुवाती अवस्था

यदि तपाईको उमेर करिब ४५ वर्षको छ र घुँडा भर्खरै मात्र दुख्न सुरु भएको छ भने त्यो घुँडा खिइने सुरुको अवस्था हुनसक्छ । यो अवस्थामा आराम हुँदा दुख्दैन तर गरिरहेको कामभन्दा धेरै काम गर्नुपरेको खण्डमा  वा धेरै उकालो ओरालो हिँड्नु परेमा घुँडा दुख्छ ।  टुक्रुक्क परेर बस्दा पनि दुखाई हुन्छ । यसमा साथै घुँडा थोरै मात्रामा सुनिने र हिँड्दा गाह्रो महसुस पनि हुन सक्छ । उनका अनुसार सुरुवाती अवस्थामा एक्स रे गर्दा थोरै मात्र खिइएको देखिन्छ । यस्तो अवस्थामा आएमा केही समयको औषधि सेवन, नियमित फिजियोथेरापी र जीवनशैली परिवर्तनको सहयोगले समस्याको समाधान गर्न सकिन्छ ।

घुँडा खिइने रोगका बीचको अवस्था

यदि सुरुको अवस्था पहिचान भई उपचार नभएको खण्डमा रोग बढ्दै गएर जटिल अवस्था आउन सक्छ । यस समयमा बिरामीको घुँडाको दुखाई बढ्न थाल्छ र सामान्य हिँडडुलमा पनि दुखाई हुन्छ । यसका साथै बिरामी  टुक्रुक्क परेर बस्न नसक्ने र भर्‍याङ ओर्लन गाह्रो हुन्छ । घुँडा र खुट्टा केही सुन्निने केही बाङ्गो हुने समस्या पनि आउने मरहट्टा बताउँछन् । बीचको अवस्थाको उपचार विभिन्न किसिमबाट गर्न सकिन्छ । घुँडा र यसको वरिपरि विभिन्न किसिमका सुई लगाउने, विभिन्न औषधि प्रयोग गर्ने र विभिन्न खो घुँडा वरिपरिको अपरेसनबाट पनि यसको उपचार गरिन्छ ।

घुँडा खिइने रोगको अन्तिम अवस्था

घुँडा खिइएर अवस्था बिग्रदैँ जाँदा बिरामीलाई धेरै गाह्रो हुन थाल्छ । सामान्य अवस्थामा हिँडडुल गर्दा पनि दुखाई हुने, वैशाखीको सहारा लिनुपर्ने तथा राति पनि घुँडा दुख्ने हुन सक्छ । घुँडामा पटकपटक पानी जम्मा हुने र खुट्टा बाङ्गो हुने समस्या समेत आउन सक्छ । यस अवस्थामा बिरामीलाई ह्लवील चेयरको पनि आवश्यकता पर्न सक्ने उनले बताए । बिरामीको एक्स–रे गरेको खण्डमा बाङ्गो देखिने र दुई हड्डी एक आपसमा नजिक आएर छुने हुन्छ । यस्तो अवस्थामा बिरामीलाई औषधि र थेरापीले खासै कम नगर्ने भएकाले जोर्नी प्रत्यारोपण एक मात्र विकल्प हुन सक्ने उनले बताए ।

डा. मरहट्टाका अनुसार यी तीन अवस्थामा बिरामीको लक्षण र उपचार बिलकुल नै फरक हुन्छ । त्यसैले बिरामीले आफ्नो घुँडाको समस्याको कारण र यदि घुँडा खिइएको छ भने कुन अवस्थामा खिइएको छ भन्ने प्रष्ट हुन जरुरी रहेको उनको भनाइ छ ।

घुँडा खिइन नदिन के गर्ने

पछिल्लो समय व्यस्त जीवनशैली, बढ्दो उमेर, उचित खानपान र व्यायामको अभावका कारण घुँडा खिइने समस्या बढ्दै गएको उनले बताए । घुँडा खिइन नदिनका लागि शारीरिक अध्यास तथा नियमित थेरापी गर्नु उनको सुझाव छ । औषधिको प्रयोगबाट घुँडा खिइने रोगलाई केही हदसम्म कम गर्न सकिने उनको भनाइ छ । यसमा विशेषज्ञको परामर्शमा मात्र औषधि सेवन गर्नुपर्छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप