बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : सच्चा राष्ट्रवादी

शनिबार, ०७ जेठ २०७९, ०८ : ५३
शनिबार, ०७ जेठ २०७९

चर्काउँछु नारा 
नशा फुट्ने गरी
गुन्जियोस् गल्ली गल्ली 
फेरि जिन्दावाद र मुर्दावादले 
बलोस् दनदनी मेरो असारे सडक
फुटुन् निर्दोषका टाउका रगतपिच्छे भई  
समय आएको छ 
बन्नु छ मलाई कट्टर राष्ट्रवादी ।
सायद, 
डम्म मोतीविन्दु थियो 
हिजो मेरो आँखामा 
लिपुलेक र कालापानीको खबरले 
मेरो शल्यक्रिया सफल भएछ
कुम्भकर्ण थिएँ 
र त, मस्त थिएँ 
गहिरो निन्द्रामै ।
अनि 
ब्यस्त थिएँ 
आमाको छाती चिर्न
चोक्टा चोक्टा पारी लुछ्न
नङ्ग्र्रा र दारा पनि 
बाँकी नराखी एक एक गरी 
भाग लगाउन ।

कहाँ फुर्सद छ र मलार्ई 
सत्तामै लिसोझैं लिप्सिएर 
बुदेले खेपेकै छ मेरो खर्च 
मुर्छा परेरै खाडीमा
कति बहादुर छु म  
हजारौको बली चढाएर  
बनाउँदैछु गौडा गौडामा सिंहदरवार
अब चर्काउँदैछु नारा 
खेर नफाली मौका 
हो, मेरो राष्ट्रियता 
आजै काम लाग्नेछ ।

चुन्द्रे र मुन्द्रे मेरा सख्खे दौंतरी  
बुझो लगाएकै छु तिनलाई 
भँुडी उछिटिने गरी 
मोटो बिटोको कमाल
दृष्टिविहीन छन् अरु बबुराहरु  
म सुन्छु त्यति सुन्न चाहन्छु 
म देख्छु त्यति हेर्न चाहन्छु 
म हिँड्छु छाती उचो पारी ।

मेरो विकासको डोजर चलेकै छ
त्यसैले त मेरो आवाज बुलन्द छ  
मेरो घुरेन बाँझो भएर के भो ? 
ओसार्छु बिषकै तिहुन चुलीका चुली 
चकित नपर कोही 
मेरो हविगतबाट 
सुनको कचौरो छ यहाँ 
हात फैलाउनलाई 
गिँडेर जिउँदै भट्टामा जलाएर
म लिन्छु सत्ता अझ बारबार
अरे चिन्दैनौ ?
हुँ म सच्चा राष्ट्रवादी ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप