शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर प्रमुखमा जितेपछि नागेशले भने, ‘सबैको इच्छाअनुसार काम गर्छु’

शनिबार, ०७ जेठ २०७९, ०८ : २५
शनिबार, ०७ जेठ २०७९

विराटनगरमा सहज जीत निकालेका काँग्रेसका नागेश कोइरालाले सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने बताएका छन् । विराटनगर प्रमुखमा जितेका उनका लागि नगर कार्यपालिकामा बहुमत सदस्य एमालेबाट आउने भए पनि काम गर्न असहज त हुँदैन भन्ने प्रश्न पनि उठेको छ ।

‘सबै जितेका जति विराटनगरको विकास गर्ने भनेरै आउनु भएको छ । उहाँहरूको इच्छा अनुसार नै म पनि काम गर्ने हो । मलाई ठूलो पदमा पठाए, कसैलाई सानो पदमा पठाएका छन्, तर हामी सबै बराबर हौँ,’ अल्पमतमा पर्नुभयो कसरी मिलाउनु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीबीचमा कुनै खालको समस्या हुँदैन । एउटै परिवारको रूपमा हामी काम गर्छौँ ।’

उनले विराटनगरको विकास कसरी गर्न सकिन्छ, बाढी कसरी रोक्ने, डुबानको समस्या कसरी पार लगाउने, विकास निर्माणको काम कसरी अगाडि लाने भन्ने विषयमा सबै जना सँगै बसेर काम गर्ने पनि बताए । भ्रष्टाचार र सुशासनको विषयमा केन्द्र सरकार र अन्य निकायसँगको समन्वयमा सुधार गर्ने पनि उनले बताए । ‘भ्रष्टाचार र सुशासनको विषयमा शून्य सहनशीलतामा जाने हो । समय अनुकूल परिस्थिति मिलाएर भ्रष्टाचार शून्यमा झार्ने र सेवा प्रवाहमा जवाफदेही हुने गरी अगाडि बढ्छौँ,’ उनले भने । 

को हुन् नागेश कोइराला ? 

विराटनगरका जमिनदार परिवारमा जन्मिएका ४८ वर्षीय नागेश कोइरालाले काँग्रेससहितको गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका हुन् । 

२३ वर्ष अगाडिदेखि काँग्रेसको सक्रिय राजनीति सुरु गरेका कोइरालाले नेपाल तरुण दलको सदस्यता लिएर आरम्भ गरेका थिए । सोही समयमा उनी तरुण दलको जिल्ला कोषाध्यक्ष भए । त्यसको ३ वर्षपछाडि तरुण दलको मोरङ जिल्ला सभापति भएका कोइरालाले ०६२–०६३ सालमा काँग्रेसको जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका थिए । 

त्यसपछि पुनः जिल्ला कार्यसमितिको सचिव ५ वर्ष चलाएका कोइराला हाल काँग्रेस मोरङका उपसभापति रहेका छन् । काँग्रेसलाई सङ्कट परेको बेलामा आर्थिक सहयोग गर्दै आएको कोइराला परिवारको राजनीतिक विरासत भने अघिल्लो पुस्तामा खासै छैन । जमिनदार भनेर चिनिने उनको नाममा मात्रै विराटनगरमा ७० बिगाहा भन्दा बढी जग्गा रहेको छ । यस्तै परिवारको नाममा १ सय बिगाहा भन्दा बढी जग्गा रहेको बताइएको छ । उनका बुबा आमा तथा छोराछोरी विराटनगरमै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप