अभिवन्द्य निबन्धमा निबन्ध विचरण
२०७८ सालमा प्रकाशित विभिन्न पुस्तकहरूमध्ये गैरआख्यानको पुस्तक ‘अभिवन्द्य’ एक हो । यो राष्ट्रिय जीवनका विभिन्न पक्षमा विशिष्ट योगदान पुर्याएका एवं प्रसिद्धि कमाएका व्यक्तित्वहरूमाथि लेखिएको निबन्ध हो । यसका लेखक हुन्– श्रीओम श्रेष्ठ रोदन ।
श्रीओम श्रेष्ठ रोदन नेपाली साहित्यको गैरआख्यान क्षेत्रमा कलम चलाइरहेका प्रसिद्ध लेखक तथा पत्रकार हुन् । लेखकीय जीवनको प्रारम्भिक समयमा उनले कविता लेखेर, कविताको पुस्तक प्रकाशित गरेर साहित्यमा प्रवेश गरेको भए पनि पछि गएर उनले निबन्ध, नियात्रा, अन्तरर्वार्ता तथा व्यक्तिचित्रजस्ता गैरआख्यान विधामा आपूmलाई केन्द्रित गरे । यसबाहेक उनको कलम लघुकथाको क्षेत्रमा समेत स्थापित भएको देखिन्छ । फलस्वरूप हालसम्म उनका तेह्रवटा पुस्तक प्रकाशित छन् र उनी समकालीन नेपाली निबन्ध, लघुकथा तथा नियात्राको क्षेत्रमा बलियोसँग स्थापित भएका छन् ।
श्रीओमको पछिल्लो गैरआख्यान पुस्तक अभिवन्द्य व्यक्तिहरूमाथि लेखिएको निबन्ध हो । नेपाली साहित्यमा व्यक्तिमाथि व्यक्तिचित्र, जीवनी तथा संस्मरणहरू लेखिएका छन् । तर श्रीओमले व्यक्तिमाथि निबन्ध लेखे । त्यसैले नेपाली साहित्यमा उनले व्यक्ति–निबन्धको शैलीलाई प्रवेश गराए । यसले नेपाली निबन्धको पैmलावट एवं विकासमा एक नयाँ इँटा थपिन पुगेको छ ।
यस पुस्तकमा कुल ४१ जना व्यक्तिहरूको जीवनमाथि निबन्ध लेखिएको छ । तिनमा सिद्धिचरण श्रेष्ठ, डायमन शमशेर राणा, माधव घिमिरे, सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य, बालकृष्ण पोखरेल, उपेन्द्र श्रेष्ठ, तेजेश्वरबाबु ग्वंगः, नगेन्द्रराज शर्मा, गोविन्द भट्ट, प्रचण्ड मल्ल, कृष्णप्रसाद पराजुली, इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, परशु प्रधान, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, मञ्जुल, ध्रुवचन्द्र गौतम, शशी भण्डारी, क्याप्टेन जनकबहादुर राणामाथि लेखिएका निबन्ध छन् ।
त्यस्तै, मदनदास श्रेष्ठ, डा. विहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्मोही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, डा. चिन्तामणि योगी, डा. हरिप्रसाद पोखरेल, डा. लक्ष्मणप्रसाद गौतम र रमेश श्रेष्ठमाथि लेखिएका निबन्ध अटाएका पनि छन् ।
यी ४१ जना व्यक्तिहरूमध्ये अधिकांश साहित्यको क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्ति छन् भने केही सामाजिक, शिक्षा, चित्रकारिता, कलाकारिता, अध्यात्म एवं दर्शन र औषधोविज्ञानको क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरू छन् । यस्ता विशिष्ट व्यक्तित्वहरूलाई स्मरण गर्नु, सम्मान गर्नु तथा उहाँहरूको योगदानलाई महत्त्व दिएर अभिनन्दन गर्नु बन्दनीय कार्य हो ।
आज सबैलाई हतार छ । कसैलाई पैसा कमाउने हतार छ, कसैलाई नाम कमाउने हतार छ, कसैलाई घरबार बसाउने, रवाफ बढाउने र चर्चाको शिखरमा पुग्ने हतार छ । यो हतारको बीचमा मानिसहरूबाट हुने नहुने, सदाचार दुराचार सबै किसिमका कार्य भएका छन् । यस्तो विसङ्गति र बेथिति बढिरहेको समाज र संस्कृतिमा असल मानिसहरू, असल सोच एवं सत्कर्मको खोजी गरी तिनीहरूमाथि शब्दसम्मान प्रकट गर्नु प्रशंसनीय कार्य हो । यस किसिमको लेखनले मानिसलाई असल कार्यका लागि उत्प्रेरणा प्राप्त हुन्छ, समाजले बिर्सन लागेका व्यक्तिहरूका स्मरणलाई पुनः ताजा बनाउँछ र मानिसहरूको योगदानप्रति समाजका सदस्यहरूलाई सम्मान गर्न प्रेरित गर्दछ ।
यस किसिमका सम्मानित व्यक्तित्वहरू समाजका उज्याला हुन्– जसले निराशा, बेथिति, अनाचार एवं अपराधको अँध्यारोबीचबाट उज्यालोको झिल्का बालेर अगाडिको बाटो र कर्तव्य देखाउँछन्, सम्झाउँछन् । श्रीओम श्रेष्ठ रोदनले यो सुन्दर कार्य गरेका छन्, अभिवन्द्य निबन्ध सङ्ग्रहमार्पmत् ।
यस पुस्तकमा श्रीओमजीले सम्बन्धित व्यक्तिको सोच, आचार तथा व्यवहार, निजले गरेको कार्य, निजले बाँचेको जीवन र समाज, निजको व्यक्तिगत एवं पारिवारिक अवस्थाको चित्रण त गरेका छन् नै, त्यसभन्दा पर गएर निजसँगको व्यवहार एवं सङ्गतबाट आपूmमा परेको प्रभाव तथा आफूमा बनेको इम्प्रेसन त्यसबाट उत्पन्न अनुभूतिलाई गहन तथा मिहिन रूपमा प्रस्तुत गरेका छन् । यही अनुभूति, भावना तथा निजी इम्प्रेसनको मिहिन प्रस्तुतिले यस पुस्तकलाई निबन्ध सङ्ग्रह बनाएको छ ।
सामान्यतया निबन्ध पढ्दा व्यक्तिको अनुभूति, भावना, बुद्धि तथा अनुभवबाट उत्पन्न संवेगको तीव्रता अनुभूत हुन्छ । तर श्रीओमको यस पुस्तकको अध्ययनबाट यी कुराहरूको अतिरिक्त विषयको रूपमा प्रस्तुत गरिएको व्यक्तिको विराट जीवनचित्रसमेत प्रकट हुन्छ । यसबाट हामी पाठकहरू उक्त जीवनचित्रबाट विभिन्न किसिमले प्रेरणा लिन सक्दछौँ । यो यस पुस्तकको सुन्दरता हो ।
यस पुस्तकमार्पmत् श्रीओमले आफ्नो जीवनको विभिन्न क्षण, पक्ष तथा अवस्थामा आपूmलाई प्रभाव पारेका, आफ्नो व्यक्तित्व निर्माणमा प्रत्यक्ष वा परोक्ष योगदान गरेका अथवा समाजका लागि विशिष्ट कार्य गरेका अग्रज तथा समकालीन मित्रहरूप्रति सम्मान तथा आदर प्रकट गरेका छन् । यो श्रीओमभित्र रहेको संस्कार तथा स्वभावको विनम्रता हो ।
समाज व्यक्तिवादी तथा उपभोक्तावादी बन्दै गएको सन्दर्भमा श्रीओमजीको यो कार्य प्रशंसनीय एवं अनुकरणीय छ । यो पुस्तक अग्रज तथा समकालीन मित्रहरूप्रतिको कृतज्ञता ज्ञापन पनि हो । यस पुस्तकको अध्ययनबाट हामीले चिनेका, भेटेका, सङ्गत गरेका वा सुनेका, पढेका र सङ्गत गर्न नपाएका अनेक व्यक्तिहरूको जीवनका हामीले थाहा नपाएका कतिपय पाटाहरू खुल्छन् । तिनले एकातिर हामी पाठकलाई आनन्दित बनाउँछन् भने अर्कोतिर तिनबाट हामीले हाम्रो जीवनका लागि शिक्षासमेत लिन सक्छौँ ।
श्रीओमको भाषा कवितात्मक छ । उनले यस पुस्तकमा वाक्य गठनमा प्रयोग गर्न खोजेको देखिन्छ । कवितात्मक भाषा निबन्धको भाषा हो । कविताले सङ्गीतको सिर्जनासमेत गर्दछ । श्रीओमले प्रयोग गरेका शब्द तथा वाक्यको बनोट सरल छ र मिठासपूर्ण छन् । अर्थमा दोहोरोपनाको गुञ्जायस पुस्तकमा छैन । सामान्य रूपले व्यक्तिचित्र एवम् अनुभूतिहरूलाई अभिव्यक्ति दिँदादिँदै पनि ठाउँ ठाउँमा उनले ज्यादै सुन्दर कुरा र अभिव्यक्तिलाई व्यक्त गरेका छन् । कतैकतै मन छुने र पाठकलाई सोचमग्न बनाउने दार्शनिकता व्यक्त भएको छ । यसले उनका निबन्धहरूलाई सशक्त बनाएका छन् ।
उदाहरणको रूपमा, पृष्ठ ४९ मा उनी लेख्छन्– ‘हुँदोरहेछ दृढइच्छामा ईश्वरकै वास ।’ लेखनीबाट नयाँ कुराको परिचय स्थापित गर्दा हुन्छ विशेष । (पृ. १६०) हिँड्छन् एउटै मानिस उज्यालोमा एउटा रङमा र अँध्यारोमा अर्को रङमा । (पृ. १०६) श्रीओमको सद्य व्यक्ति–निबन्ध सङ्ग्रह ‘अभिवन्द्य’ धेरै अर्थमा पठनीय छ । खास गरी नयाँ पाठक तथा नयाँ लेखकहरूका लागि धेरै जानकारीमूलक तथा रचनात्मक छ यो पुस्तक ।
म आपैmँले भेटेको, व्यवहार गरेका, कुरा गरेका, सँगै यात्रा गरेका अधिकांश कवि तथा साहित्यकारहरूमाथि लेखिएका निबन्ध यस पुस्तकमा छन् । तर मैले पनि यस पुस्तकको अध्ययनबाट ती कवि तथा साहित्यकार तथा अन्य विधाका विद्वान्हरूको बारेमा धेरै नयाँ तथ्य, सूचना तथा निजहरूको जीवनका रोचक घटनाहरू जान्न पाएँ । यो मेरा लागि पनि उपलब्धि हो ।
निबन्धभित्रका सूचनामा कविताको मिठास र चित्रकारिताले आनन्दित भइरहँदा एउटा अर्को निबन्धकार तथा कविको हिसाबले मैले आपूm लेख्न बस्दा सतर्क गराउनुपर्ने तथा भाषाको चामत्कारिक प्रयोग गर्न अघि सर्दा त्यसले प्रक्षेपण गर्ने अर्थ तथा सौन्दर्यलाई कसरी जोगाउने भन्ने कुरामा विशेष सचेत रहनुपर्ने ज्ञानसमेत प्राप्त गरेको छु । यो सतर्कता र सचेतता सायद आमागी लेखनमा श्रीओम श्रेष्ठ रोदनकै लागि पनि आवश्यक र उपयोगी छ ।