बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् निर्वाचनमा विजयी कलाकार

शनिबार, ०७ जेठ २०७९, ०५ : ५२
शनिबार, ०७ जेठ २०७९

काठमाडौँ । यतिबेला चौतर्फी चर्चाको केन्द्र बनेका छन् र्‍यापर बालेन साह । काठमाडौंं महानगरपालिकाको मेयरको दौडमा रहेका उनी अहिलेसम्मको मतगणनामा सबैभन्दा अगाडि छन् । अन्तिम मत परिणामसम्म उनको अग्रता यही हिसाबले कायम रह्यो भने उनी मेयरमा विजयी हुनेछन् । काठमाडौंं महानगरको मेयरमा बालेनको अग्रता मात्र कहाँ हो र ? यो स्थानीय निर्वाचनमा देशको विभिन्न स्थानबाट समेत कलाकारले जित हासिल गरेका छन् ।

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को वडाध्यक्षमा विजयी भएका छन् । । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित निकटतम प्रतिद्वन्द्वी एमालेका राम आचार्यलाई जम्मा १० मतले हराए । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडामा पराजित भएका थिए ।

घिमिरेले अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुविधा नलिने घोषणा समेत गरिसकेका छन् । उनले आफूले पाउने सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा खर्च गर्ने बताए । फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रूपमा चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनी थुप्रै म्युजिक भिडियोमा पनि देखिएका छन् ।

फिल्म निर्देशक मुनाल घिमिरे (मधुसूदन शर्मा) पनि वडाध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनी दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षमा विजयी भएका हुन् । घिमिरे १५२५ मत ल्याएर विजयी घोषित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण जिएमले भने १४३३ मत प्राप्त गरे । फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माणसमेत गरेका उनले ‘खबरदार’, ‘इच्छा’ फिल्म निर्देशन गरेका छन् ।

त्यस्तै गीतकार महेन्द्रदीप राई (महेन्द्रराज राई) पनि स् सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ को वडाध्यक्षमा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५५१ प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई जम्मा एक मतले पछि परेका थिए । विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अञ्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलावा ‘पूर्वेली थिती’ लगायत करिब दर्जन बढी गीत आएका छन् ।

‘डिठ्ठा साहेब’ को नामले परिचित हास्य कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यमा विजयी भएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । उनले केही फिल्मका निर्देशन गरेका छन् ।

गायक, गीतकार तथा संगीतकार गम्बु शेर्पा जसपाबाट ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा नेपाली काँंग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । शेर्पाले २ हजार ८ सय  ८२ मत प्राप्त गरेका थिए । 

उता फिल्म निर्माता गणेश केसी ललितपुरको महाँकाल गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट ३ हजार ४ सय ५५ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामाले २ हजार ८ सय ८७ मत प्राप्त गरेकी थिइन् । केसी फिल्म ‘सूर्या’ का निर्माता हुन् । उनले थुप्रै म्यूजिक भिडियो पनि निर्माण गरेका छन् ।

उम्मेदवारी फिर्ता लिनेहरु  

स्थानीय निर्वाचनमा उम्मेदवार बनेर विजय हासिल गर्ने कलाकारको अलावा उम्मेदवारी दर्ता गरेर फिर्ता लिने कलाकार पनि छन् । ती हुन् हास्य कलाकार दिनेश काफ्ले र फिल्म निर्माता पूर्ण प्रसाद सुवेदी ‘मिलन’ ।

चर्चित हास्य कलाकार दिनेश काफ्लेले सिन्धुली कमलामाई नगरपालिका–८ को वडाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गराएकोमा पछि फिर्ता लिएका थिए ।

मोरङको केराबारी गाउँपालिका–८ बाट वडाध्यक्ष उम्मेदवार मनोनयन दर्ता गराएका निर्माता पूर्ण प्रसाद सुवेदी ‘मिलन’ले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । थुप्रै नेपाली फिल्ममा प्रोडक्सन म्यानेजरको काम गरेका मिलनले ‘इतिहास’ नामक फिल्म पनि निर्माण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप