बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् काठमाडौँका चार नगरपालिका मेयरहरुको योजना

शुक्रबार, ०६ जेठ २०७९, २१ : ३६
शुक्रबार, ०६ जेठ २०७९

दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित मेयर मोहन बस्नेतले जनताको सेवक भएर इमानदारिताका साथ काम गर्ने बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय बबरमहलमा मेयर पदको शपथ ग्रहण पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘म जनताको सेवक, इमानदारिताको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमानदारिताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु ।’
कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीले कीर्तिपुरको मौलिकतालाई संरक्षण गर्दै आर्थिक समृद्धि गर्नु आफ्नो प्रतिबद्धता रहेको बताए । उनले कीर्तिपुरलाई विश्वमाझ चिनाउने पनि बताए ।

उनले भने, ‘कीर्तिपुर ऐतिहासिक, सांस्कृतिक, धार्मिक सहर भइकन पनि अपेक्षाकृत विकास भइनसकेको अवस्थामा हाम्रो प्राथमिकता कीर्तिपुरको त्यो गौरवशाली इतिहासलाई जीवन्त राख्दै त्यसको मौलिकतालाई संरक्षण, प्रवर्द्धन गर्दै आर्थिक समृद्धितिर लग्नु नै हाम्रो प्रतिबद्धता हुनेछ । त्यसनिम्ति विजयी टिम प्रतिबद्ध छौँ । कीर्तिपुरलाई विश्वमाझ चिनाउने छौँ ।’

चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीले नगरवासीलाई डिजिटल प्रणालीमार्फत घरमै बसेर सेवा लिने वातावरण बनाउने बताए । उनले उत्पादन, रोजगार र बजारीकरणमार्फत नगरको आर्थिक विकास गर्न ध्यान दिने बताए । उनले भने, ‘उत्पादन, रोजगार र बजारीकरणमार्फत नगरपालिकालाई आर्थिक विकास र मानव विकास तर्फ हामी ध्यान केन्द्रित गर्नेछौँ । नगरपालिकालाई प्रविधियुक्त सुशासनमार्फत, डिजिटल प्रणालीमार्फत सम्पूर्ण नगरवासीले घरमै बसेर सेवा लिने वातावरण पाँच वर्षभित्र गर्नेछौँ ।’

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकाको प्रशासनिक काम छिटो, छरितो बनाउने बताए । उनले आफ्नो पाँच वर्षे कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने बताए । स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘टोखाले समृद्ध नगरपालिकाको रूपमा रूपान्तरण हुने हिसाबले अगाडी बढ्ने छौँ । डिजिटल माध्यमद्वारा प्रशासनिक काम कसरी छिटो, छरितो हुन्छ भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण अगाडी सार्ने छौँ । खानेपानीको विषय पेचिलो बनेको छ । मेरो पाँच वर्षे कार्यकालमा पूर्णता दिने लक्ष्यका साथ परियोजनाहरू अगाडी सार्नेछु । स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर मैले आफ्नो परियोजना अगाडी सार्नेछु ।’ उनले नगरपालिकामा आफ्नो पार्टीको जनप्रतिनिधिको बहुमत भएकाले आफ्नो दृष्टिकोण असफल हुन नसक्ने र काम गर्न सहज हुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप