बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको कानुनी उपचार खोज्ने समयसीमा तोकिनु हुँदैन : आरजु राणा

शुक्रबार, ०६ जेठ २०७९, १९ : ५२
शुक्रबार, ०६ जेठ २०७९

नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन् । राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्।

एक किशोरीले आफू बलात्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले बलात्कारबारे कानुन संशोधन गर्नुपर्ने आवाज उठेकै बेला राणाले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी हुन्। संविधानसभा सदस्य राणाले नेपालमा बलात्कार भएको एक वर्षभित्रै कानुनी उपचार खोज्नुपर्ने प्रावधान रहेको भएकाले त्यसलाई संशोधन गर्न माग गरिन्। बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने बताउँदै उनले न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्ने उल्लेख गरेकी छन्।

‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बालयौन दुराचारी र बलात्कारीहरूमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समयसीमा रहेका कानुनहरू परिवर्तन गरेका छन्,’ उनले भनेकी छन्, ‘अपराध सबै अपराधी नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समयसीमा किन ?’

राणाले महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाई गर्न नहुनेतर्फ संसदको ध्यानाकर्षण गराएकी छन्। उनले सरकारलाई कानुन संशोधनको प्रक्रिया छिटो अगाडि बढाउन र संसदलाई फाष्ट ट्रयाकबाट पारित आग्रह गरेकी छन्।

‘हालै एक जना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विशेष गरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फाष्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप