बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित जनप्रतिनिधि धमाधम पदभार ग्रहण गर्दै

शुक्रबार, ०६ जेठ २०७९, १७ : ३९
शुक्रबार, ०६ जेठ २०७९

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत केही पालिकामा मतगणना जारी छ भने केही पालिकाका नवनिर्वाचित जनप्रतिनिधि धमाधम पदभार ग्रहण गर्दैछन् । यसै क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् ।

बिहीबार पद तथा गोपनीयताको शपथ लिएका नगर प्रमुख भट्ट र उपप्रमुख रोकायाले शुक्रबार नगरपालिका कार्यालयमा पदभार ग्रहण गरेका हुन् । नगरप्रमुख भट्ट नेपाली काँग्रेसबाट विजयी भएका हुन् भने उपप्रमुख रोकाय नेकपा एमालेबाट जितेकी हुन् ।

नगर प्रमुखको जिम्मेवारी सम्हालेसँगै भट्टले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । उनले नगरको समग्र विकासका लागि विज्ञ टोलीको सल्लाह सुझाव लिएर अघि बढ्ने जनाएका छन् । ‘नगरको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको विकास गर्न सबै क्षेत्रका विज्ञहरुलाई राखी छलफल गरेर अघि बढ्छौं,’ उनले पदभार ग्रहणका क्रममा भने ।

उनले नगरका सबै वडाका सडक कालोपत्रे गर्ने, मालाखेती अस्पताललाई सुविधा सम्पन्न बनाउने, गोदावरी धाम, हार्टखोली लगायत क्षेत्रमा पर्यटक बढाउने गरी योजना अघि बढाउने, नगरभित्रको भूमिहीन, सुकुमवासी, वादी समुदायको समस्या समाधान गर्ने गरी काम गर्ने बताए ।

यस्तै, वर्दगोरिया गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष कर्ण कुँवरले पनि पदभार ग्रहण गरेका छन् । बिहीबार कैलाली जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गरेका उनले शुक्रबार नवनिर्वाचित पालिकाका उपाध्यक्षसहित सबैलाई शपथ ग्रहण गराए । गाउँपालिका अध्यक्ष कुँवर नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

अध्यक्ष कुँवरले भने, ‘बर्दगोरियालाई देशकै नमुना पालिकाको रूपमा विकास गर्ने र त्यसका लागि निवर्तमान जनप्रतिनिधि, आफ्ना प्रतिद्वन्द्वीसहित आम सरोकारवालाहरूसँग छलफल र समन्वय गरी अघि बढ्ने छौं ।’

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पनि शुक्रबार पदभार ग्रहण गरेका छन् । गाउँपालिकाको कार्यपालिकाले पूर्णता नपाएका कारण आफूहरुले अहिले कुनै निर्णय नगरेको उनले प्रतिक्रिया दिए । उनले आफ्नो प्राथमिकतामा गाउँपालिका जाने सडक कालोपत्रे गर्ने, हरेक वडामा सडक सञ्जाल, झोलुङ्गे पुल लगायतको व्यवस्था गर्ने रहेको बताए ।

पहिरो र कटानको जोखिम क्षेत्रमा रहेका बस्तीको पनि व्यवस्थापन गर्ने गरी योजनावद्ध ढंगले अघि बढ्ने उनले बताए । कैलारी गाउँपालिकाको अध्यक्ष राजसमझ चौधरीले पनि अध्यक्षको कार्यभार सम्हालेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित चौधरीले वडा नम्बर ७ विपतपुरका आगलागी पीडितको व्यवस्थापन आफ्नो प्राथमिकता रहने बताए ।

उनले गाउँपालिकाको डुबान तथा कटान समस्या समाधानका लागि पहल गर्ने, वर्षाका कारण हिलाम्मे हुने सडक मर्मत गर्ने, गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था गर्ने, स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नति गर्ने लगायतका समग्र गाउँपालिकाको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप