बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा रहेका दलहरूको मत कम आउनुमा हाम्रो दोष छैन : गगन थापा

शुक्रबार, ०६ जेठ २०७९, १७ : ३८
शुक्रबार, ०६ जेठ २०७९

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर रहेको टिप्पणी गरेका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुगेका थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताएका हुन् ।

उनले काँग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भएपनि काँग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले बताए । उनले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गरे । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा काँग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र काँग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा काँग्रेसको जित सहज भएको उनको विश्लेषण छ । 

‘नेपाली काँग्रेसको मतदाताले आफ्नो चुनाव चिन्ह बाहेकको अर्को चुनाव चिन्हमा मत हाल्ने, मत हाल्न लगाउने कुरा एकदमै गाह्रो कुरा हो । काँग्रेसको मतदाताहरू अन्य पार्टीको जस्तो संगठित मतदाता होइन । कसैले धोका दिन्छ र धोका दिन्न भन्ने कुरा होइन । मैले बुझेसम्म नेपाली काँग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ताहरु खटिएर लागेका थिए, आफूसँग तालमेलमा भएका दलहरूलाई पनिसँगै मत हालौँ भनेरै लागेका थिए’, उनले भने।  

महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताए । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरूलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरूका लागि यस्तो परिणाम नआउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप