शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न काँग्रेसको माग

शुक्रबार, ०६ जेठ २०७९, १७ : २२
शुक्रबार, ०६ जेठ २०७९

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत हालेको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

‘वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन  बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा एमालेका कार्यकर्ताहरूले काँग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने  मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई एमालेले चुनौती दिएको काँग्रेसको ठहर छ । एमालेबाट बाहुबलको प्रयोग र बुथ कब्जा भएको भन्दै काँग्रेसले निन्दा पनि गरेको छ ।

निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएको काँग्रेसको आरोप छ ।  उक्त घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै कब्जा गरिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन काँग्रेसले निर्वाचन आयोगलाई अनुरोध गरेको छ । विवादका कारण बुढीगंगा नगरपालिकामा मत गणना समेत हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप