आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री शर्माले फेरि दोहोर्‍याए–मुख्य तीन कारणले आर्थिक समस्या आयो

शुक्रबार, ०६ जेठ २०७९, १७ : १२
शुक्रबार, ०६ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको पुनः दोहोर्‍याएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूमा जवाफ दिँदै मन्त्री शर्माले कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै परेको समस्या शक्ति राष्ट्र रुस र युक्रेनबीचको बढ्दो द्धोन्द्धको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताए ।

यद्यपि, यी यावत् समस्यामा बाबजुद पनि चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनेमा खुशी मान्नुपर्ने उनले बताए । ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएपनि विविध समस्याले गर्दा लक्ष्य भेट्ने स्थिति नरहेको तर सबै मिलेर आर्थिक सुधारमा, उत्पादनमा केन्द्रित हुने हो भने आकर्षक आर्थिक वृद्धिदर हुनेमा कुनै दुविधा नरहेको समेत उनले बताए । सो अवसरमा मन्त्री शर्माले अहिलेको मुख्य चुनौतीको विषय आयात नै रहेको बताउँदै कसरी हुन्छ उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने उद्देश्यमा सरकार लागेको बताए ।

तर, विपक्षीहरुले यस्तो आयातको समस्या अहिले नै भएको, यहीँ सरकार आएपछि भएको जसरी आरोप लगाएकोमा आफुलाई दुःख लागेको बताए । आफ्नै खेतबारीमा उत्पादन हुने कृषिजन्य उत्पादन समेत आयात भइरहेको भन्दै मन्त्री शर्माले अब यस्तो आयातलाई कम गर्दै उत्पादनमा जोड दिनेगरी सरकार अघि बढेको उनले बताए । सरकारले बजेटमा उत्पादन वृद्धि, विकास निर्माण तथा भौतिक पूर्वाधार र यातायातको क्षेत्रको विकास एवंम् विस्तारका लागि समुन्नत र समतामुलक समाजको निर्माणका लागि, छुवाछुत र सबै खाले सामाजिक, साँस्कृतिक तथा भौगोलिक असमानताहरुलाई सम्बोधन गर्ने गरी, गरिबी निवार गर्ने गरी सरकारले बजेटको सिद्धान्त तथा प्राथमिकता अघि बढाएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप