बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

घोराहीमा गठबन्धनले किन हार्‍यो ?

शुक्रबार, ०६ जेठ २०७९, १५ : ४७
शुक्रबार, ०६ जेठ २०७९

गिरिराज नेपाली 

दाङको घोराही उपमहानगरपालिकामा तीन दलीय गठबन्धन भएपछि नतिजा कसको पोल्टामा जाने हो भन्ने विषय प्रारम्भिक चरणमै महत्वका हेरिएको थियो। २०७४ सालको चुनावमा मेयर उपमेयर दुबै नेकपा एमालेले जितेको थियो। यस चुनावमा एमाले मेयरका उम्मेदवार नरुलाल चौधरी र उपमेयर हुमा डिसीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र  र राष्ट्रिय जनमोर्चा तीन दलीय गठबन्धनबाट मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार भएपछि चासो बढ्ता भएको हो ।

तीन दलीय गठबन्धनलाई पल्टाउँदै मेयरमा चौधरी र उपमेयरमा डिसी निर्वाचित भएपछि समीक्षाको विषय भएको हो। एमाले मेयर र उपमेयरले तीन दलका संयूक्त उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गरेपछि धेरैलाई अचम्मित पारेका छन्।

गठबन्धनका मेयरका उम्मेदवार शर्मालाई ५६६० मतले पछि पार्दै एमालेका चौधरीले ३१७८० मत प्राप्त गरी विजयी भएका छन्। गठबन्धनबाट शर्माले २६६६८ मत र गठबन्धनबाट उपमेयर काँग्रेसका डाँगीले ३०३५४ मत पाए। एमालेकी डिसीले ३०४०३ मत ल्याएर विजयी भइन। एमालेकी डिसीसँग काँग्रेसका डाँगी जम्मा ४९ मतले पराजित भए।
 
गठबन्धन भए लगत्तै शर्मा र डाँगी २०७४ सालमा दोस्रो र तेस्रो भएका दल मिलेर चुनाव लड्दा जित्नेमा ढुक्क थिए।  त्यतिबेला काँग्रेसले १७४८४ मत र माओवादी १२०८२ मत ल्याएको थियो।  कुल १९ वडामा काँग्रेस १० र माओवादीले ३ वडा अध्यक्ष जितेको थियो भने एमाले ६ वडा अध्यक्ष मात्रै जितेको थियो। 

त्यो सबै मतलाई समेत जोडेर गठबन्धन एमालेलाई सजिलै जित्ने उच्च मनोवलका साथ चुनावी मैदानमा उत्रिएकाे थियाे। तर, गठबन्धनको मत बलियो हुँदाहुँदै माओवादी  केन्द्र र काँग्रेसको अन्तरिक गुटमा फस्दा गठबन्धन पराजित भएको छ। काँग्रेस लुम्बिनी प्रदेश सभापति तथा पूर्व सा‌ंसाद राजु खनाल गुटका कतिपय नेता कार्यकर्ता मत नै हाल्न गएन । चुनावमा भोट हाल्न गएकाहरुले पनि उपमेयरमा डाँगीलाई हाले पनि मेयरमा एमालेलाई हालेकाे नेताहरु बताउँछन्। त्यसैले डाँगीको भन्दा शर्माको मत अन्तर बढी देखिएको छ।

उता माओवादी पनि काँग्रेस जस्तै गुटले ग्रसित भयो। गुटकै गन्जागोल थेग्न नसकेर माओवादीका घोराही नगर अध्यक्ष प्रमोद शर्मा केही महिना अघि मात्रै एमाले प्रवेश गरेका थिए। शर्मासँगै उनकी श्रीमती एवम् यसअघि निर्वाचनमा उपमेयरमा पराजित सीता चौधरी समेत एमाले प्रवेश गरेकी थिइन्। 

उनीहरु एमाले प्रवेश गरे लगत्तै उम्मेदवारी मनोनयन गर्ने केही दिन अघि मात्रै माओवादीका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी सदस्यबाटै राजीनामा दिएका थिए। मेयरमा आकांक्षा राखेमा गौतमले टिकट नपाउने निश्चित भएपछि पार्टी छोडेर घरमै थन्किएका थिए। गौतम नारायणकाजी श्रेष्ठ निकट भएकै कारण प्रवक्ता कृष्णबहादुर महराले आफू निकट शर्मालाई टिकट दिलाएका थिए। 

यसअघि निर्वाचनमा हार्ने निश्चित हुँदाहुँदै निर्वाचन लडेको बताउँदै गौतमले जित्ने सुनिश्चितपछि टिकट नदिएको भन्दै रुष्ट भएका थिए। यस्तो गन्जागोल अवस्थामा गठबन्धनबाट शर्मा मेयरका उम्मेदवार भई चुनावी मैदानमा उत्रिएका थिए ।

काँग्रेस र माओवादीभित्रको गुटबन्दीको गन्जागोल चाल भएको एमालेले सजिलै फाईदा उठाउँदै विजयी भएको छ। काँग्रेस र माओवादीकाे आन्तरिक किचलाेले दुई मध्ये एउटा उपमहानगर अर्थात घाेराही माओवादीले गुमाएकाे छ । 

सत्ता गठबन्धनको सहमति अनुसार भरतपुर महानगर तथा घोराही र जितपुर सिमरा उपमहानगरपालिका माओवादीको भागमा परेको थियो । जितपुर सिमरा जिते पनि माओवादीले घोराही एमालेबाट खोस्न सकेन । भरतपुर महानगरपालिकामा भने माओवादीले अग्रता लिएको छ ।

गुटबन्दीकै कारण एमालेले २०७४ सालमा ६ वडा अध्यक्ष जितेको १३ वडा अध्यक्ष जित्न सफल भएको छ। यस्तै गुटबन्दीमा फस्दा काँग्रेसले ५ वडा अध्यक्ष गुमाएर ५ वडा अध्यक्षमा खुम्चिएको छ। माओवादी तीन वडा अध्यक्षबाट खुम्चिएर एक वडा अध्यक्षमा समिति भएको छ।

तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला सह–इन्चार्ज निर्मल आचार्यले गठबन्धन दलका नेता कार्यकर्ताहरु प्रतिबद्ध हुनु नसक्दा चुनावी परिणाम उल्टो हुन पुगेको तर्क गरे। ‘काँग्रेसका कार्यकर्ताहरूको विश्वासघातका कारण गठबन्धनको चुनावी नतिजा उल्टो भयो। यो गठबन्धनमाथि गठबन्धनभित्रकै अन्तरघात हो । त्यो चुनावी परिणामले देखाइसकेको छ,’ रातोपाटीसँग कुरा गर्दै आचार्यले भने,  ‘काँग्रेस पार्टीभित्रको आन्तरिक अन्तरविरोधलाई पार्टीले समाधान गर्न नसक्दा पार्टीभित्रको अन्तरबिरोधको असर गठबन्धनमाथि पोखियो। 

आफ्नै पार्टीका उम्मेदवारलाई हराउने निकृष्ट कार्य भयो । यो राजनीतिक संस्कार होईन । पार्टीप्रति प्रतिबद्ध नेता कार्यकर्ताहरूले कदापी त्यो गर्न सक्दैनन् ।’ तर, माओवादीभित्रको गुटबन्दी चुनाव हराउने कारक बारेमा भने आचार्यले खुलाएनन्। गठबन्धन हराउन जति काँग्रेस जिम्मेवार छ त्यति नै माओवादीभित्रको गुटबन्दी उत्तिकै जिम्मेवार भएकोमा समेत आचार्यले चुपचाप रहे। 

घोराही गठबन्धन पराजित भएपछि त्यसको असरले आगामी संघ र प्रदेश चुनावमा असर पर्ने देखिएको छ। त्यस क्षेत्रमा माओवादी प्रवक्ता महराले प्रतिनिधित्व गर्ने भएकाले उनलाई समेत चुनाव लड्न जोखिम हुने देखिएको छ। यदी उनी नभई निर्मल आचार्य वा अन्य कुनै नेतालाई समेत गठबन्धन हुँदा समेत चुनाव जित्न फलामको चिउरा चपाए सरह हुने पक्क देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप