शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जुम्लामा एमाले शून्य बन्दा काँग्रेसलाई फलिफाप

शुक्रबार, ०६ जेठ २०७९, १५ : ३१
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत जुम्लाका आठ वटै पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम नेकपा एमालेका लागि भने सुखद् रहेन । जुम्लाका पाँच पालिकामा नेपाली काँग्रेसले जित निकाल्यो भने दुई पालिकामा माओवादी र एक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।

माओवादी केन्द्रको बलियो गढ मानिएको गुठीचौर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भयो । यो पालिकाको अध्यक्षमा नेपाली काँग्रसका दानबहादुर बुढा निर्वाचित भए । बुढाले १ हजार ७७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका जनक थकालीले १ हजार ६०२ मत र नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले १ हजार ३३६ मत प्राप्त गरे ।

२०७४ सालको चुनावमा कर्णाली प्रदेशका पूर्व गृहमन्त्री नरेश भण्डारीका बुवा हरिबहादुर भण्डारी यहाँबाट भारी मतसहित अध्यक्ष पदमा निर्वाचित भएका थिए । यो चुनावमा भने भण्डारी तेस्रो भए ।

उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन् । उनी १ हजार ५०३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १ हजार २१४ मत प्राप्त गरिन् ।

जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भए । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २ हजार ४०३ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २ हजार ३४१ मत ल्याए । त्यस्तै नेकपा एमालेका धर्मेन्द्र रोकायाले १ हजार ५७० मत ल्याए ।

उपप्रमुखमा नेपाली काँग्रेसकी रामदेवी खड्का विजयी भइन् । उनले २ हजार ८०८ मत प्राप्त गरिन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका भिमबहादुर थापाले एक हजार ६८६ मत पाए भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार पूर्णिमा कामीले १ हजार ६३३ मत ल्याइन् ।

चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन् ।

पातारासी गाउँपालिकामा नेपाली काँग्रेसका पुर्णसिंह बोहरा २ हजार ७६८ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी जनमाया रोकाया २ हजार ७५४ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शान्ति बुढाले २ हजार ४६३ मत प्राप्त गरिन् ।

यता सिंजा गाउँपालिकामा भने माओवादीले राम्रो लय लियो । गाउँपालिका अध्यक्षमा पूर्णप्रसाद धिताल १ हजार ९४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३९ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रकी रजनकला शाहीले १ हजार ९५६ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सितली रोकायाले १ हजार ६९ मत प्राप्त गरिन् ।

त्यस्तै जुम्लाको कनाकासुन्दरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भयो । अध्यक्षमा काँग्रेसका दामोदर प्रसाद आचार्यले २ हजार ८०७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५६२ मत प्राप्त गरे ।

उपाध्यक्षमा काँग्रेसकी प्रेमकली बुढा २ हजार ३०० मत प्राप्त गरी विजयी हुँदा उनकी प्रतिद्वन्द्वी माओवादीकी रिता खत्रीले १ हजार ९४५ मत प्राप्त गरिन् ।

हिमा गाउँपालिका अध्यक्षमा युवा नेता लक्ष्मण शाही विजयी भए । उनले १ हजार ८७२ मत प्राप्त गरे । उपाध्यक्षमा सुर्पना शाहीले १ हजार ५१८ मत प्राप्त गरी विजयी भइन् ।

जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी केन्द्रको गढ भत्काउँदै काँग्रेसले जित निकाल्न सफल भयो । अध्यक्षमा नेपाली काँग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भए । चौलागाईंले २ हजार ३२० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका वीरबहादुर कुँवरले १ हजार ८०६ मत प्राप्त गरे ।

उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रका रेवती रावल (रसाइली) विजय भइन् । उनले १ हजार ७५८ मत प्राप्त गरिन् । काँग्रेसकी विन्दु अधिकारीले १ हजार ३१२ मत प्राप्त गरिन् ।

तातोपानीमा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिए ।

जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भए । रोकायाले नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ मत अन्तरले पछि पार्दै जित हासिल गरे । उनले १ हजार ९३६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज उपाध्यायले १ हजार ९१५ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भइन् । उनले २ हजार ४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुस्मा श्रेष्ठले १ हजार ८०७ मत प्राप्त गरेकी छन् ।

२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेका रतननाथ योगी अध्यक्षमा विजयी भएका थिए ।  

जुम्लामा कुल मतदाता ६७ हजार ७४४ रहेकामा यो पटक जम्मा ५१ हजार ९०३ मत खसेको थियो । कुल ७६ दशमलव १९ प्रतिशत मतदान भएको भएको थियो ।

जुम्लामा २०७४ सालको स्थानीय तह निर्वाचनमा एक नगरपालिका र तीन पालिकामा काँग्रेसले जितेको थियो । त्यस्तै माओवादीले तीन पालिकामा जित्दा एक पालिकामा एमालले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप