शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नानीमैया पञ्चायती व्यवस्थामाथिको सटायर थिइन्, बालेन विकल्पको खोजी’

ओलीको दम्भ साइजमा आए फेरि बाम गठबन्धन बन्न सक्छ : श्याम श्रेष्ठ
शुक्रबार, ०६ जेठ २०७९, १४ : २९
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउँदै गर्दा विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारहरूले जित दर्ता गर्दैछन् । जनताको छनौट दलका प्रतिनिधिभन्दा केही भिन्न देखिएको छ । यसलाई नागरिक अगुवा  श्याम श्रेष्ठ दलहरूले जुन ढंगबाट काम गरिरहेका छन्, त्यो कामप्रतिको व्यंग्य भएको टिप्पणी गर्छन् । ‘टालटुले काम गरेको आधारमा जनताले दलहरूलाई पत्याउनेवाला छैनन् । यही सन्देश जनताले स्वतन्त्र उम्मेदवारहरूमार्फत दिइरहेका छन्’, उनी थप्छन्, ‘खाली काठमाडौंमा मात्र नभएर देशका विभिन्न स्थानमा यो स्थिति देखिनुले पनि दलहरूको विश्वासमा आँच आएको छ ।’ 

यहाँ स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारीमात्र दिएको नभएर आम मतदाताको समेत साथ पाइरहेको श्रेष्ठ बताउँछन् । ‘जनताले यति धेरै साथ दिएको देखिन्छ कि, जहाँ–जहाँ पुराना दलको गढ थियो, त्यहाँ नै स्वतन्त्र उम्मेदवारलाई मतदाताले मतदान गरिरहेको ट्रेण्ड छ । यसले राजनीतिक दलहरूको भविष्यमाथि पनि प्रश्न उठाएको छ ।’

नागरिक अगुवा श्रेष्ठले अहिले नै काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले जित्ने नजित्ने आँकलन गरिहाल्नु भन्दा पनि ट्रेन्डलाई हेर्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘मतगणना हुन अझै धेरै बाँकी छ तर, बालेनले काठमाडौं महानगरमा जसरी अग्रता लिइरहेका छन्, त्यसलाई उल्ट्याउनु चाँहि चानचुने विषय हुँदै होइन ।’

दलहरू जुन ढंगबाट अघि बढे अथवा योजनाविहीन ढंगबाट अघि बढिरहेकाले जनताले त्यो मन नपराएको श्रेष्ठको भनाइ छ, ‘जसको पछाडि कुनै पार्टी छैन, संगठन छैन तर पनि एउटा स्वतन्त्र उम्मेदवारलाई विकल्पका रुपमा लिनु भनेको व्यक्तिको खोजी हो, काम र परिणामको खोजी हो ।’ 

यदि दलहरू सच्चिएनन् भने ५/७ ठाउँमा मात्र नभएर अझ थुप्रै ठाउँमा स्वतन्त्र उम्मेदवार छान्ने लहर आउन सक्ने श्रेष्ठको आँकलन छ । दलका मान्छे चेतुन्, उनीहरूको होश आओस्, पाँच वर्षको कार्यकालमा काम गर होइन भने, हामी देखाउन सक्छौं भनेर जनताले आफ्नो खबरदारी प्रस्तुत गरिरहेको उनको तर्क छ ।

स्थानीय तहको निर्वाचन भनेको प्रदेश वा संघीय निर्वाचनभन्दा नितान्त फरक रहेको र स्थानीय तहको निर्वाचनमा प्रतिपक्ष र सरकार पक्ष भन्ने नहुने श्रेष्ठ बताउँछन्, ‘यहाँ सबै सत्ता पक्षमात्र हुने हो । एक पटक निर्वाचित भएपछि पाँच वर्ष निरन्तर चलाउने हो । त्यसकारण यो निर्वाचन नै गैरदलीय ढंगबाट हुनुपर्ने हो । संसारका धेरै देशमा स्थानीय तहको निर्वाचन गैरदलीय ढंगबाट हुने गरेको छ ।’

जनताले स्थानीय तहको निर्वाचन निर्दलीय होस् भन्ने चाहना राखिरहेको तर दलहरूले यसलाई दलीय बनाइरहेकाले पनि यस बीचमा भिन्न परिणाम आइरहेको श्रेष्ठको बुझाइ छ ।  भन्छन्, ‘हिजो जनताले नानीमैया दाहाल छनौट गर्नु भनेको पञ्चायती व्यवस्थामाथिको सटायर थियो । तर, बालेन विकल्पको खोजी हो । त्यो र यो सिनारियो फरक फरक हो ।’ जनताको छनौटका बारेमा राम्रो समाजशास्त्रीय विश्लेषणको आवश्यकता रहेको औल्याउँदै उनी थप्छन्, ‘जनता विकल्पको खोजीमा बालेनसम्म पुगेका हुन् । उनले के–कति काम गर्लान्, त्यो हेर्न बाँकी छ । उनी टेस्टेड मान्छे पनि होइनन् । तर, जनताले उनीमथि ठूलो आशा र भरोसा राखेका छन् ।’

संघीयताको मर्म विपरीत गठबन्धन

नागरिक अगुवा श्रेष्ठले यस पालीको निर्वाचनमा दलहरूले गरेको अभ्यासका बारेमा पनि टिप्पणी गरेका छन् । चुनावी  तालमेल वा गठबन्धन यसअघिका निर्वाचनमा पनि हुने गरेको तर यर वर्ष केही पृथक तालमेल भएको भन्दै उनले उनले त्यसमाथि असन्तुष्टि जनाए । उनले भने, ‘यहाँ सम्म कि दलहरूबाट स्थानीय तहको मेयरदेखि वडाध्यक्षसम्म माथिबाट तोक लगाउने अभ्यास गरियो । यो अभ्यास चाँहि नेपालको संघीयताको मर्म, सिद्धान्त र विचारको विपरित हो । यो केन्द्रले गर्ने कामै होइन ।’ 

पाँच दलीय गठबन्धनका कारण दलहरूलाई क्षणिक लाभ भएपनि यसले नेपालको राजनीतिक भविष्यमाथि भने प्रश्न उठाएको  श्रेष्ठको ठम्याइ छ । विशेष गरी नेकपा एमाले र एमालेभित्र पनि केपी शर्मा ओलीका दम्भका कारण गठबन्धन बनेको र यसले एमालेलाई नै नोक्सान पुर्याएको उनको जिकिर छ । संविधान विरोधी गतिविधिका कारण एमाले एक्लिन पुगेको र दम्भ बोकेर अहंकार लिएर एक्लै अघि बढ्नु हुँदैन रहेछ भन्ने चेत पनि एमालेमा पस्नुपर्ने  श्रेष्ठको सुझाव छ । भन्छन्, ‘पार्टीमा कोही नचाहिने, देशमा पनि एकल व्यक्ति भए पुग्छ भन्ने, हामी नै सबै हौं, जनताले बरररर भोट खसालिहाल्छन् भन्ने अहंकारले एमाले एक तिहाइको अवस्थामा पुग्ने देखियो ।’

एउटा व्यक्तिले संविधान विपरीत देशलाई नै एकातर्फ लान खोजेपछिको दण्ड एमाले र केपी शर्मा ओलीले पाएको छ । हिजो यही प्रवृत्ति विरुद्ध बनेको गठबन्धन निर्वाचनसम्म आइपुगेको र त्यसको विस्तारित रुप निर्वाचन परिणामले पनि देखाएको छ । त्यसैले सम्बन्धित पार्टीले यो चुनावी परिणामबाट सिक्नुपर्ने पनि श्रेष्ठको मत छ ।

नागरिक अगुवा श्रेष्ठले हिजोको एउटा स्थितिमा भएको गठबन्धन उचित रहेपनि अहिले आएर पार्टीका आ–आफ्ना विचार सिद्धान्त र कार्यक्रम सबैलाई मिल्काएर गठबन्धन गर्न थालेकाले यो राजनीतिक भविष्यका लागि पनि अनुचित ठहरिने बताउँछन् ।  भन्छन्, ‘सबै दल फाइदाको सिद्धान्तमा हिँडिरहेका छन् । राप्रपासँग एमालेले गठबन्धन गर्ने, हिजो संसद विघटन गर्ने एमालेसँग माओवादीले गठबन्धन गरेको पनि देखियो । काँग्रेसले गठबन्धन गर्ने भनेको राजनीतिक विचार र धरातल छोड्दै जानु हो, सिद्धान्तबाट विमुख हुँदै जानु हो’, उनी थप्छन्, ‘र, यस किसिमको गठबन्धनले नेपालको राजनीतिक दलहरूको भविष्यमाथि नै प्रश्न उठाएको छ । जुन कुरा धरान, जनकपुर, काठमाडौं महानगरजस्ता स्थानमा स्वतन्त्र उम्मेदवारमाथि जनताको विश्वास बढ्दो छ । दल र तिनका प्रतिनिधिमाथिको विश्वास खस्कँदो छ ।’

अबको राजनीतिले नयाँ धार लिन सक्ने

चुनावी परिणाम सार्वजनिक हुँदै गर्दा थोरै प्रतिशतमा आफूलाई सुधारको अवस्थामा आएको नेकपा माओवादी केन्द्र उति सन्तुष्ट देखिँदैन भने नेकपा एसको परिणाम प्रायः निराशाजनक छ । एमाले २०७४ को परिणामभन्दा निकै खस्किएको अवस्थामा अबको राजनीतिले नयाँ धार लिन सक्ने श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘नेपालमा अब, राजनीति नयाँ ढंगबाट जान सक्छ, राजनीति नयाँ ढंगको ध्रुबिकरणमा जान सक्छ । गठबन्धन भएपनि जसरी असमान ढंगबाट मत खस्यो, यसले पुनः गठबन्धन गर्ने विषयमा प्रश्न जन्माएको छ ।  त्यसैले पार्टी एकताको संभावना नभएपनि पुनः कम्युनिष्ट गठबन्धनको संभावनाको संकेत भने गर्न सकिन्छ ।’ 

‘नेकपा एस र नेकपा माओवादी केन्द्र एकता वा गहिरो गठबन्धन तर्फ जाने वा एमाले आफूलाई सच्याउन तयार भयो भने उसको आफ्नो अहंकारमा केही हदसम्म कमी आयो भने नेकपा एस र माओवादीको गठबन्धन एमालेसम्म पनि विस्तारित हुन सक्छ,’ उदाहरण दिँदै श्रेष्ठ भन्छन्, ‘ललितपुरकै केसमा हेरौं, काँग्रेसका चिरिबाबुलाई भोट आको आई हुने, अर्का उपमयेरका प्रतिनिधिको भोट घट्दै जानुले अथवा देशैभरि देखिएको यस प्रकारको असमान भोटले पनि राजनीति नयाँ ढंगको ध्रुबिकरणमा जान सक्ने संकेत गर्छ ।’

यो निर्वाचन परिणामले सिंगो नेकपा एमाले अनि ओलीको साइज पनि घटाइ दिएको छ । यसले ओलीको दम्भको साइज पनि साँच्चै घटाइदियो भने अब बाम गठबन्धनतर्फ जान सक्ने श्रेष्ठ बताउँछन् । र, दम्भ घटेन भने पुनः काँग्रेसले स्थानीय तहको निर्वाचनमा भएका त्रुटी सच्याउने लगायतका विषयमा माओवादीलाई आश्वास्त बनाएर पुनः यही गठबन्धनलाई निरन्तरता दिन सक्ने पनि श्रेष्ठको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप