आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका दुई पूर्वमन्त्रीका श्रीमान् पराजित, मुख्यमन्त्री र कानुन मन्त्रीका छोरा विजयी

शुक्रबार, ०६ जेठ २०७९, १२ : ३०
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय तहको निर्वाचनमा कर्णालीका मुख्यमन्त्रीका छोरादेखि पूर्व मन्त्रीका श्रीमानसमेत उम्मेदवार बनेका थिए । तीमध्ये केही विजयी भएका छन् भने केही पराजित भए । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा वडाअध्यक्षमा विजयी भएका छन् भने कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोरा पालिकाको मेयरमा निर्वाचित भएका छन् । यद्यपि कर्णालीका दुई पूर्वमन्त्रीका श्रीमानहरु भने मेयरका पराजित भएका छन् । कर्णालीका पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका श्रीमान् बसन्त शर्मा मुसिकोट नगरपालिका (रुकुम पश्चिम)को मेयर पदका उम्मेदवार थिए । माओवादीको आधार इलाका मानिने मुसिकोटमा काँग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष समेत रहेकी केसीका श्रीमान् शर्मालाई काँग्रेसका महेन्द्र केसीले जम्मा १३ मतान्तरले पराजित गरेका हुन् ।  केसी ६ हजार ९१४ मतसहित विजयी हुँदा शर्माले ६ हजार ९०१ मत पाए ।

माओवादीको वर्चश्व रहेको मुसिकोटमा काँग्रेस–एमालेको गठबन्धन थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए । उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत ल्याएका छन् ।

यता, सुर्खेतको लेकबेशी नगरपालिकामा कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीका श्रीमान् रामबहादुर चपाइँ पनि मेयरमा पराजित भएका छन् ।​ लेकबेशीमा नेपाली काँग्रेसका उमेश कुमार पौडेल ६ हजार ६३९ मतसहित विजयी भएका छन् भने दोस्रोमा एमालेका देव बहादुर रानाले ६ हजार ३७४ मत प्राप्त गरे । तेस्रोमा माओवादीका रामबहादुर चपाइँले ८०४ मतमात्र प्राप्त गरे ।

लेकबेशीमा उपप्रमुखमा पनि माओवादीले स्थान लिन सकेन । यहाँ एमालेकी विमला खड्लुकले ६ हजार १०९ मतसहित जित हात पार्दा उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी देउकली थापा मगरले ५ हजार ४४० मत ल्याइन् ।

हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोराले वडाअध्यक्षमा विजयी प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहीका छोरा भरतजङ्ग शाही काँग्रेसबाट वडाअध्यक्ष पदमा उम्मेदवार थिए । शाहीले नेकपा एमालेका केन्द्रराज शाहीलाई १९० मतान्तरले पराजित गरेका हुन् । काँग्रेसका शाहीले ४९२ मत प्राप्त गरे भने पराजित शाहीले ३०१ मत प्राप्त गरे ।

यस्तै वर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोराले पनि मेयरमा जितेका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका काँग्रेस नेता शाहीका छोरा गणेशकुमार शाहीले एमालेका सुर्यबहादुर शाहीलाई ७८ मतान्तरले पराजित गरे । काँग्रेसका शाहीले ४ हजार ७० मत ल्याउँदा पराजित भएका शाहीले तीन हजार ९९२ मत पाए ।

०७४ मा एमालेको वर्चश्व रहेको यो पालिकामा यो पटक काँग्रेसले सत्ता हातमा लिएको हो । उपप्रमुखमा काँग्रेसकै मनसरा कुमारी शर्मा ४ हजार ३८ मत ल्याएर निर्वाचित बनिन् । उनको प्रतिस्पर्धी मानिएकी एमालेकी नन्दकुमारी विष्टले तीन हजार ९९६ मत ल्याएकी छन् ।

पञ्चा सिंहका श्रीमान् पनि पराजित

यता सुर्खेतमै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका श्रीमान पनि मेयरमा  पराजित भएका छन् । पञ्चपुरी नगरपालिकामा माओवादीका केश बहादुर शाही (केशव)ले तेस्रो स्थानमा मत पाए । त्यहाँ मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ ।

नगरप्रमुखमा काँग्रेसका लालविर भण्डारी ५ हजार ९०९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादर थापाले ५ हजार ११८ मत ल्याए । यस्तै पञ्चा सिंहका श्रीमान केश बहादुर शाहीले २ हजार ११८ मतमात्रै प्राप्त गरे । यो पालिकाको उपमेयरमा काँग्रेसकी मुक्तिदेवी रेग्मी ६ हजार ९४ मतसहित निर्वाचित भएकी छन् । एमालेकी दुर्गा कुमारी जैसीले ५ हजार १६८ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप