मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विजयी भएपछि जसले पराजित उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे

विद्यार्थीसँग पराजित भएपछि गुरुले भने–मेरो चेला अब्बल भएछ
बिहीबार, ०५ जेठ २०७९, १९ : ५३
बिहीबार, ०५ जेठ २०७९

बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । सो तस्बिर हेटौंडा–५ मा विजयी भएका एमालेका उम्मेदवार सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारसँग आशीर्वाद लिँदै काँधमा राखेर विजय जुलुस निकाल्दाको हो । 

हेटौंडा–५ को वडा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसले हयगृव आचार्यलाई उम्मेदवार बनायो भने एमालेले सुशील घिमिरेलाई उम्मेदवार बनायो । जसमा घिमिरेले बाजी मारे । लामो समय वैदेशिक रोजगारमा गएर आएका घिमिरे काँग्रेसका उम्मेदवार आचार्यका शिष्य हुन् । उनै घिमिरेले आफनै विद्यालय तहको गुरू आचार्यलाई स्थानीय तह निर्वाचनमा पराजित गरेका हुन् ।

घिमिरेले २ हजार ५३० मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट  कांग्रेसका हयग्रीव आचार्यले १ हजार ३९० मत ल्याए । घिमिरेले आधारभूत तहको शिक्षा आचार्यबाट पाएका थिए ।आचार्यले २०४० सलादेखि २०४५ सम्म हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा आर्चाय शिक्षक थिए । सोही विद्यालयमा घिमिरेले कखरा सिकेका थिए । घिमिरेको शैक्षिक यात्रा प्रारम्भ आचार्यले नै गराएका थिए ।

 कक्षा १ देखि ५ सम्म घिमिरे अध्ययन गर्ने विद्यालयको गुरु रहेका आचार्यको सरुवा भयो र उनको बढुवा भयो र मकवानपुरको थाहा नगरपालिका चित्लाङको विद्यालयमा दरवन्दी कायम भयो भने पछि हेटौंडा–१० स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पुग्यो ।

शान्त, थोरै बोल्ने र नेतृत्व क्षमता भएका घिमिरेले विद्यालयमा अनुशासित छात्रको रुपमा परिचित थिए । कक्षा कोठामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने र सबैलाई आदर सम्मान गर्ने उनको बानी रहेको आचार्य बताउँछन् ।

त्यसपछि भने उनीहरुको औपचारिक शैक्षिक गुरु चेलाको सम्बन्ध माथि पूर्णविराम लाग्यो । तर, हेटौंडा–५ निवासी आचार्य र घिमिरेबीच व्यवहारिक गुरु चेलाको सम्बन्ध भने कायमै रह्यो । विद्यालयमा औपचारिक रुपमा शिक्षक रहँदा पनि आचार्य कसैलाई पिट्ने, गालीगलौज नगरि अध्यापन गराउने गरेको घिमिरे बताउँछन् । ‘सानामा हामीले बदमासी गर्दासमेत गुरुले हामीलाई गाली गर्ने काम गर्नुभएन’ घिमिरेले भने, ‘हामीलाई माया गरेर सम्झाउने काम गर्नुहुन्थ्यो । पठाउने शैली पनि सरल थियो । सबैले बुझ्ने शैलीमा उहाँले पठाउनुहुन्थ्यो ।’

उनले शिक्षण संस्थामामात्र नभइ कतै भेट्दा पनि आफूहरुलाई व्यवहारिक ज्ञान दिने गरेको स्मरण गरे । समस्याहरु पर्दा त्यसको समाधान गर्ने उपायहरु आचार्यले दिने गरेको उनले बताए । अन्तर्राष्ट्रिय स्तरको बक्सिङ खेलाडी समेत रहेका घिमिरे स्थानीय रुपमा विकासका काममा सक्रिय रहेका छन् । उनकै पहलमा तत्कालीन हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँको सहयोगमा हेटौंडा–५ मा पिप्ले क्याम्प मिनी रंगशालासमेत निर्माण गरिएको छ ।

सुशील भन्छन्, ‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा मैले जिते मेरो गुरु पराजित हुनुभयो । यो अवस्थामा मलाई आफ्नो बुबालाई पराजित गरेको अनुभव भएको छ । सुरुमा पार्टीले टिकट दिँदा गुरुको उम्मेदवारीका बारेमा कुनै चर्चा नै थिएन । तर एकाएक गुरु बा उम्मेदवारको रुपमा प्रस्तुत भएपछि भने म झस्किएँ । आफ्नै घरभित्र कसरी प्रतिस्पर्धा गर्ने दोधार भयो ।’

उनले त्यसलाई एउटा संकटको घडीको रुपमा लिएको बताए । उनले भने ‘जिते पनि हारे पनि चोट आफूलाई लाग्ने भयो । तर, आफ्नो जिम्मेवारीबाट पछि हट्न हुँदैन भनेर गुरुले नै सिकाउनु भएको हो । त्यसैले पार्टीको जिम्मेवारीलाई स्वीकार गरेर अभियानमा लागेँ ।’

निर्वाचनको परिणाम आएसँगै उनले आफ्नो जितको खुशी गुरु आचार्यसँग बाँडे का हुन्। उनले आचार्यलाई काँधमा बोकेर विजय र्यालीसमेत गरे । आगामी दिनमा आफ्नो क्षेत्राधिकारमा रहेर पक्षपात नगरी वडाको नागरिकको सेवामा लाग्ने उनले बताए । पार्टीको जिम्मेवारीमा रहे पनि वडाका नागरिकको सेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।

आफ्नो जनप्रतिनिधिको यात्राभर प्रतिस्पर्धीको रुपमा रहेका आचार्यलाई मुख्य सल्लाहकारको भूमिकामा राखेर हरेक कामहरु सम्पादन गर्ने उनी बताउँछन् । यता गुरु आचार्यले आफ्नै चेलासँग पराजित हुँदा खुशी व्यक्त गरे । ‘सुशील मेरो चेला हो । आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुशी छु । उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ । म ढुक्क छु,’ उनले भने ‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा हार जित हुनु स्वभाविक प्रक्रिया हो । मैले हारेँ । मेरो चेलो अब्बल भएछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप