बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, १८ : ४४
बिहीबार, ०५ जेठ २०७९

नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नजिता भोलि साँझसम्म आउने आँकलन गरिएको छ ।

कुन पालिकामा क–कसले जिते ?

जिल्लाको रामग्राम नगरपालिकामा नेकपा एमालेका उम्मेदवार धनपत यादवले नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रकुमार गुप्तालाई १ हजार ५५७ मतले पछाडि पार्दै नगर प्रमुख पदमा विजयी भएका छन् । धनपति यादवले कुल ७ हजार ८२४ मत प्राप्त गरेका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नरेन्द्रकुमार गुप्ताले ६ हजार २६७ मत प्राप्त गरेका थिए । नगरपालिकाको उपप्रमुखमा राप्रपाकी उम्मेदवार सम्झना चौधरीले ६ हजार ५८२ मत प्राप्त गरि आफनो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी क्षेत्रीलाई ११७ मतले पराजित गर्दै विजयी भएको घोषित भइन् ।

त्यस्तै सुनवल नगरपालिकामा एमालेबाट विमला अर्यालले १४ हजार ३ मत प्राप्त गरि काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार अर्जुन कुमार पोखरेललाई ३ हजार २१८ मतले पराजित गर्दै नगर प्रमुख पदमा विजयी भएकी छन् भने उप प्रमुखमा एमालेबाट सुर्यदुबेले १३ हजार ४९८ मत ल्याई विजयी भएका हुन् ।

यता बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले १८ हजार ४८९ मत ल्याई आफनो प्रतिस्पर्धी एमालेका उम्मेदवार धीरज शर्मालाई ५ हजार १६२ मतले पछाडि पार्दै नगर प्रमुख पदमा विजयी भएका छन् । उप प्रमुखमा काँग्रेस–माओबादी गठबन्धनका उम्मेदवार रुद्रप्रकाश उपाध्याय विजयी भएका हुन् । उनले १४ हजार ५९५ मत प्राप्त गरेका हुन् ।

प्रतापपुर गाउँपालिकामा नेपाली काँग्रेसका उमेशचन्द्र यादवले ६ हजार ८ मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन् भने उपाध्यक्षमा काँग्रेसकै उम्मेदवार मानकुमार चौधरीले ५ हजार ८५५ मत प्राप्त गरि विजयी भएकी हुन् ।

सरावल गाउँपालिकामा एमालेका उम्मेदवार सुखाडीप्रसाद चौधरीले ७ हजार ५९ मत प्राप्त गरि अध्यक्षमा विजय भएका छन् । उनी आफनो प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार अनिलकुमार गौडलाई २ हजार २ सय मतले पछाडि पार्दै विजय भएका हुन् । उपाध्यक्षमा एमालेकै बासमति हरिजनले ५ हजार ७४३ मत प्राप्त गरि कांग्रेसकी उम्मेदवार उत्तमा रायलाई ३९४ मतले पराजित गरेकी हुन् ।

सुस्ता गाउँपालिका काँग्रेसका टेकनारायण उपाध्यायले एमालेका उम्मेदवार रामप्रसाद पाण्डेलाई २७२ मतले पछाडि पार्दै अध्यक्ष पदमा बिजयी भएका छन् । उपाध्यायले कुल ६२७० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकै गीता चौधरीले ६ हजार ६०५ मत प्राप्त गरि विजयी भएकी छन् । यी ६ वटै पालिकामा विजयी भएका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई सम्बन्धित पालिकाको निर्वाचन अधिकृतले विजयी भएको घोषणा गरेका छन् ।

यता पाल्हीनन्दन गाउँपालिकाका कुल ६ वटा वडामध्ये ४ वटा वडाको सकिएको र २ वटा वडाको मतगणना कार्य अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   जिल्लामा कुल ३ नगरपालिका र ४ गाउँपालिका गरि कुल ७ पालिका छन् । जिल्लाको ७ वटै पालिकाको ७४ वडा मध्ये ३३ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार जितेका छन् भने १७ वटामा एमाले, ६ वटामा जसपा, ६ वटामा राप्रपा, ५ वटामा माओवादी केन्द्र, १ वटामा जनता प्रगतिशील, १ वटा वडामा एकीकृत समाजवादी, १ वटामा लोसपा र २ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अझै २ वटा वडाको नतिजा आउन बाँकी नै छ । जिल्लामा कुल २ लख ३७ हजार १२५ मतदाता रहेकोमा १ लाख ८४ हजार ३८२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । विजयी भएका उम्मेदवारहरू आ–आफनो पालिकामा धुमधामका साथ बिजय ज्लुस निकाली विजयोत्सव मनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप