आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

बिहीबार, ०५ जेठ २०७९, १६ : ५४
बिहीबार, ०५ जेठ २०७९

संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।

विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज सापकोटाले संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षकको खोजी भइरहेको बताए । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयमा संस्कृतको अध्ययन अध्यापन हुन थालेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले गरेको अनुसन्धानमा कम्प्युटरमा सबैभन्दा सहजरुपमा राख्न सकिने भाषाका रुपमा संस्कृतको पहिचान गरेकाले पनि यसप्रति विद्यालयको आकर्षण बढेको हो । संस्कृत सूत्रबद्ध भाषा भएकाले कम्प्युटरमा यसको प्रयोग सहज हुने नासाको अध्ययनले देखाएको छ ।

यसैकारण पनि विभिन्न देशमा संस्कृतको माग बढेको छ । संस्कृतको अन्तर्राष्ट्रिय बजार बन्न थालेपछि काठमाडौं उपत्यकाका अक्षरा, पाणिनी, गेटवे, भेलोसिटी, गुरुकुल संस्कारम्, दीपिका, वाग्मती, डिएभीलगायत विद्यालयमा संस्कृतको पठनपाठन भइरहेको छ । योगका कारण पनि संस्कृत भाषाप्रति आकर्षण बढेको शिक्षक सापकोटाले बताए । 

माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि पनि संस्कृत पढाउने पालिकाको सङ्ख्या बढेको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्था गरिदिएको छ । ‘अस्माकम् संस्कृतम्’ नामको पुस्तक कक्षा १ देखि १२ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेपछि संस्कृत भाषा पढाउन चाहने विद्यालयका लागि सहज भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप