बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युरोप–अमेरिकामा विफरजस्तै मङ्कीपक्स संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी सतर्क

बिहीबार, ०५ जेठ २०७९, १७ : ०४
बिहीबार, ०५ जेठ २०७९

युरोप र अमेरिकाका स्वास्थ्य अधिकारीहरु मङ्कीपक्सको विस्तारले सतर्क रहन थालेका छन् । सन् १९७० को दशकमा पहिलो पटक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा भेटिएको मङ्कीपक्स भाइरस अहिले युरोपमा देखिन थालेको छ ।

अमेरिकामा समेत पहिलो संक्रमण पुष्टि भएको छ । बुधबार पोर्चुगलले मङ्कीपक्सका पाँच केस पहिचान भएको जानकारी दिएको छ ।

स्पेनले २३ सम्भावित केसको अनुसन्धान गरिरहेको बताएको छ । अमेरिकाको म्यासाचुसेट राज्यले क्यानडाबाट फर्किएका एक जना व्यक्तिमा संक्रमण भेटेको घोषणा गरेको छ ।

मङ्कीपक्सको पछिल्लो विस्तार संयुक्त अधिराज्यबाट सुरु भएको थियो, जहाँ यो महिनाको सुरुमा मङ्कीपक्सको पहिलो केस पुष्टि भएको थियो । नाईजेरिया भ्रमण गरेर फर्किएका व्यक्तिमा मङ्कीपक्स देखिएको थियो ।

बधुबार विश्व स्वास्थ्य संगठनले एक वक्तव्य जारी गर्दै ‘उपलब्ध सूचनाका आधारमा, संक्रमितलाई बेलायतभित्रै मङ्कीपक्स लागेकोजस्तो देखिन्छ । अहिलेको स्थितिमा संक्रमणको स्थानीय विस्तार कति भएको छ प्रष्ट भईसकेको छैन । थप केसहरु पहिचान हुने सम्भावना छ ।’

मानिसलाई लाग्ने विफर(स्मलपक्स) जस्तै हुने मङ्कीपक्स लागेपछि व्यक्तिलाई सुरुमा रुघाको जस्तो लक्षण देखिन्छ । त्यसपछि उसका नसाहरु सुन्निन थाल्छ र पछि अनुहार र शरिरमा दागहरु देखिन थाल्छ ।

मङ्कीपक्सले समय समयमा मध्य तथा पश्चिम अफ्रिका क्षेत्रभित्र महामारीको रुप लिने गर्छ । संक्रमितको नजिकको सम्पर्कमा रहने व्यक्तिमा यो सर्छ ।

अधिकाशं संक्रमितहरु केही साताभित्र ठिक हुन्छन् तथापि केहीका लागि यो प्राणघातक हुनसक्छ ।

हाल युरोपमा पहिचान भएका संक्रमितको स्थिति स्थिर रहेको स्वास्थ्य अधिकारीले बताएका छन् । तथापि युरोप र अमेरिकाभर स्वास्थ्य अधिकारीले थप संक्रमणको लागि तयारी गर्न थालेका छन् ।

संयुक्त अधिराज्यमा विगतमा पनि मङ्कीपक्सका केस पहचिान भएको थियो । र पहिचान भएका सबै केस नाईजेरियाबाट भ्रमण गरेर फर्किएकामा देखिएको थियो ।

मङ्कीपक्सविरुद्धको खोप पहिले नै बनिसकेको छ ।

अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप