सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘वडामै करोडसम्म खर्च भयो, अब स्थानीय तह निर्दलीय व्यवस्थामा जानुपर्छ’

बिहीबार, ०५ जेठ २०७९, ११ : १५
बिहीबार, ०५ जेठ २०७९

संघीयताविद् खिमलाल देवकोटाले वडामै करोडौँ खर्च हुन थालेकाले निर्दलीयतातिर जानुपर्ने तर्क अघि सारेका छन् । ‘चुनावी खर्च हरेक वर्ष बढ्दै गएको छ । स्थिर हुने भन्ने हुँदैन । त्यो अझै बढ्दै जान्छ । यहाँ कतिपय वडामा करोडौँ खर्च गरेका छन् । यस्तो अवस्थाले चुनावी खर्च थेग्नै नसक्ने भयो,’ उनले भने । 

गत वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहमा मतदान भएपछि नतिजा आउने क्रम जारी छ । स्थानीय चुनावको प्रारम्भिक चरणमा पहिलो दल नेपाली काँग्रेस, दोस्रो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्र हुने देखिएको छ । निर्वाचित भएका जनप्रतिनिधिहरु उत्साहित हुँदै उत्सव मनाउन व्यस्त छन् । चुनाव हारेका उम्मेदवार खर्चको भारीले थिचिएर उठ्न नसक्ने गरी थला परिसकेका छन् ।

त्यसैले, संघीयताविद् खिमलाल देवकोटाले वडामै करोडौँ खर्च हुन थालेकाले निर्दलीयतातिर जानु पर्ने तर्क अघि सारेका हुन् । रातोपाटीसँगको विशेष कुराकानीमा बोल्दै संघीयताविद् देवकोटाले भने,‘अब स्थानीय चुनाव निर्दलीयतामा जानुपर्छ । त्यसमा बहस र छलफल चलाउन थाल्नुपर्छ ।’ यद्यपी स्थानीय चुनाव निर्दलीयतामा जाँदा राम्रा र नराम्रा दुबै पक्ष भएपनि निर्दलीयताले  घर परिवारसम्म  राजनीतिकरण रोकिने देवकोटाको तर्क छ ।

स्थानीय चुनावको मतदानमा मेसिनको प्रयोग गरी छिटो छरितो बनाउन सकिने देवकोटाको जिकिर छ । ‘राजनीतिक दलका महाधिवेशनमा भोटिङमा मेसिन प्रयोग भइसक्यो । त्यहीँ पनि शंका उपशंका नभएका होइनन्, भए । तर यो निर्वाचनमा नमुनाको रुपमा परीक्षण गर्न सकिन्थ्यो ।’ कुनै थोरै भोटर भएको वा सचेत भोटर भएको ठाउँमा मेसिन प्रयोग गरेको भए परीक्षण हुने देवकोटाको जिकिर छ । 

साथै, देवकोटाले महानगरदेखि गाउँपालिकासम्म प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने सुझाव दिन्छन् । काठमाडौमा भएको समस्या हुम्लामा नहुने भन्दै स्थानीय समस्यालाई आ–आफ्नो पालिकाले निर्धारण गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘पालिकाको संगठनमा नै सुधार गर्नुपर्छ । प्रमुख र उपप्रमुखबीच राम्रो कोर्डिनेसन छैन । प्रमुख र वडाध्यक्षबीच कोओर्डिनेसन देखिदैन । निर्वाचित जनप्रतिनिधिहरुको कर्मचारीसँग राम्रो सम्बन्ध भएको देखिदैन । कोर्डिनेसनमा एकदमै ग्याप छ ।’ देवकोटाले भने, ‘यो आन्तरिक कुरा नागरिकले देख्दैन । काठमाडौ महानगरभित्रको समस्याको जनताले देख्दैनन् । जनताले महानगर बाहिर के भइरहेको छ भन्ने समस्या देख्ने हुन् । जे अनुभूति गरेका छन् त्यो देख्ने हुन् ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप